अल्फाज र शाब्दिका (प्रेम-कथा) [लघु-गल्प] ~ बिकेश कविन
साँझ चुपचाप थियाे । र, साँझ सँगसँगै चुपचाप थिए अल्फाज र शाब्दिका । उनीहरू दुवै डुबेका थिए अा-अाफ्ना मनकाे सागरमा, जहाँ भर्खरै मात्र सूर्यास्त भएकाे थियाे । खासमा उनीहरू कति वर्षअगाडि कसरी भेटिए अनि कसरी एकअर्कालाई अजम्मरी प्रेम गर्न थाले, उनीहरूलाई नै थाहा छैन । दुवैकाे एउटै मत छ, 'जून र तारा थियाैँ । एकदिन त जसरी पनि भेटिनु नै थियाे । कहिल्यै नछुट्नेगरी ।'
दुवैका अाँखा माथि अाकाशतिर कुदिइरहेका हुन्छन् । दुवै सुनिरहेका हुन्छन् उज्यालाे अनि अँध्याराेकाे माैन संवाद । उनीहरूलाई लाग्दछ, 'माैनता फगत माैनता हाेइन । माैनता वाचाल हुन्छ । माैनता बाेल्दछ । माैनताले हृदयसँग कुरा गर्दछ ।'
केही समयकाे माैनतालाई चिर्दै अल्फाज बाेल्याे, 'शाब्दिका ! अब हामी बिहे गर्नुपर्छ । अब त समय पनि भयाे ।'
दुबैले एकअर्काका हात कस्सेर समातिइरहेका हुन्छन्, 'अल्फाज, म तिमीलाई बेहिसाब प्रेम गर्छु । तिमी कहाँका हाै ? काे हाै ? तिम्राे भाषा, संस्कृति, सभ्यता अादि के-के हुन् ? त्याेसँग मलाई कुनै चिन्ता छैन ! बस् म तिमीलाई प्रेम गर्छु । बस् प्रेम गर्छु ।'
'अल्फाज ! जीवनमा प्रेम र विवाहकाे छुट्टा-छुट्टै उपस्थिति छ । धेरै हदसम्म । बिहेले हाम्राे प्रेमलाई पूरै सुकाइदिनेछ । पूरै लुटिइदिनेछ । हामी पूर्णत: बर्बाद हुनेछाैँ अल्फाज ।', शाब्दिका अाकाशतिर हेर्दै बाेलिरहन्छे, 'हाम्राे प्रेम सानाे दूरीकाे यात्रा हाेइन । याे यस्ताे यात्रा हाे, जुन असीमित छ । खासमा हाम्राे प्रेम गन्तव्यविहीन छ । याे सकिनुलाई हुँदै हाेइन । हाम्राे प्रेम सदैव याे अाकाश बनेर रहिरहनुपर्छ । बचाइरहनुपर्छ हामीले हाम्राे प्रेमलाई सधैँ । म तिम्राे थिएँ । तिम्राे हुँ । र, तिम्रै रहनेछु अल्फाज । जुनसुकै अवस्थामा । जुनसुकै हदमा । किन कि मलाई विश्वास छ, हाम्राे प्रेममाथि । हाम्राे प्रेमलाई सम्बन्धकाे कुनै पनि जालाे अावश्यक छैन । याे अाफैँमा पूर्ण छ । साैन्दर्यले भरिपूर्ण छ ।'
अल्फाज चुपचाप शाब्दिकाकाे हृदय सुनिरहेकाे हुन्छ । र, उसका अाँखा पनि हुन्छन् माथि अाकाशतिर । शाब्दिकाकाे हात अझ कस्सेर समाइरहेकाे ऊ मनमनै भन्छ, 'साँच्चि शाब्दिका ! हाम्राे प्रेम याे अाकाश हाे । विशाल अाकाश । भरिपूर्ण अाकाश.......!'
Comments
Post a Comment