मेराे नाम ताजमिन खातुन (कविता) ~ बिकेश कविन



म एक मुस्लिम बच्ची
मेराे नाम ताजमिन खातुन ।

सखारैकाे नमाजसँगै
मेराे दिनकाे शुभारम्भ हुन्छ
हतारैहतारकाे झरीमा रुझ्दै
जसरी कर्मचारीहरू कार्यालय पुग्न हतारिन्छन्
म पनि अाफ्नै पाेसाक
हिजाब र कुर्ता सुरुवाल लगाएर
मदरसा पुग्छु ।

हाम्राे फूलबारीमा ढकमक्क फुलेका
रङ्गिबिरङ्गी फूलहरूझैँ
मैले पढ्ने नमाज पनि
रङ्गिबिरङ्गी छ ।

मैले पढ्ने नमाजकाे रङ
समयकाे रङ फेरिएसँगै फेरिन्छ
मैले पढ्ने नमाजकाे पृष्ठभूमि
माैसम फेरबदल भएझैँ बद्लिन्छ ।

सबेरै फजर नमाज
दिउँसाे जाेहर र असर नमाज
बेेलुकी अग्ग्रिब नमाज
राति एसा नमाज
यसरी म सानी बच्ची
दिनमा पाँचपटक नमाजकाे भूगाेलभित्र पस्छु
अल्लाहमियालाई सम्झन्छु
अनि मेराे मनकाे फूलबारीमा
ज्ञान र नि:स्वार्थका पुष्पहरू
ढकमक्क फुलाउँछु
र अाफैँलाई नमाजमा समाहित गर्छु
अनि म स्वयम् एउटा नमाज बन्छु
जुन नमाज अल्लाहमियाले पढ्छन् ।

भर्खरै गएकाे रमजानमा
म सानी बच्चीले पनि
तीसै दिन व्रत बसेँ
अाफूलाई अल्लाहमियाकाे जन्नतमा पुर्याएर
अल्लाहमियालाई हृदयकाे गहिराइबाट पुकारेँ
र अल्लाहमियासँगकाे साक्षात् भेटसँगै
म सदाकाे निम्ति चम्किरहने तारा भएँ
व्रतकाे तीसै दिन
राति दुई बजे उठेर
तहजुब नमाज
र सलाताेस्बी नमाज पढेर
बारम्बार 'अल्लाह अक्बर'काे प्रार्थना गरेँ
अाफूलाई सम्पूर्णरूपमा
अल्लाहमियाप्रति समर्पित गरेँ ।

म सानी बच्चीलाई
तारानाकाे सागरमा डुब्न खुब मनपर्छ
नमाजकाे सिटमा बसेर
अनिश्चितताकाे यात्रा गर्न अाैधी मनपर्छ
म एक मुस्लिम बच्ची
मेराे नाम ताजमिन खातुन ।

हाम्री मुस्लिम दिदीहरूलाई
अस्पतालमा गएर उपचार गराउँन
असाध्यै झिजक लाग्छ
पराई मर्दहरूकाे स्पर्शबाट
हाम्री दिदीहरूलाई खुब डर लाग्छ
अाफ्नाे छाेपिएकाे संसार देखाउँन
अाफ्नै धर्मले दिद‌ैन दिदीहरूलाई
त्यसैले ठूलाे भएर
मेराे डाक्टर बन्ने रहर छ
अाफ्नी मुस्लिम दिदीहरूलाई
अाफैँले अस्पतालमा ल्याएर
उपचार गर्ने रहर छ ।

मरुभूमिमा रङ्गीबिरङ्गी कुसुमहरू फुलाउँने रहर छ
क्षितिजपारिसम्म ज्ञानकाे अालाेक छर्ने रहर छ ।

म एक मुस्लिम बच्ची
मेराे नाम ताजमिन खातुन ।

ट्वीटर: @bikesh_kabin

केही शब्दका अर्थहरू:
हिजाब: मुस्लिम समुदायमा केटीहरूले अाफ्नाे टाउकाे छाप्ने कपडा ।
मदरसा: पाठशाला ।
ताराना: मुस्लिम गीत ।

साभार : नेपालखबर 

Comments