मेराे छेउबाटै गयाे, मेराे हालसम्म साेधेन (कविता) ~ बिकेश कविन




           

[मेराे छेउबाटै गयाे, मेराे हालसम्म साेधेन

म कसरी मानूँ, कि ऊ टाढा गएर राेयाे ?


- परवीन शाकिर


तिम्राे छेउबाट जाे गयाे, त जाेशमा थियाे फराज

जब टाढा गएर साेच्याे, तब मरी मरी राेयाे ।


- अहमद फराज ]


१)

म साेचिरहेकाे थिएँ

उसकाे बारेमै

अनि, म हेरिरहेकाे थिएँ

'टाढापानी'का मनाेरम दृश्यहरू 

........ती पहाड.....ती हिमाल

अनि, 'टाढापानी'काे हृदय पगाल्दिने कथा


त्याे कथा, जुन टाढा भएर पनि नजिक छ, म र फराजजस्तै

त्याे कथा, जुन अनाैठाे छ, म र फराजजस्तै


विगतकाे त्याे सङ्घर्षकाे कथाले

अहिले हरियाे भएकाे याे सुन्दर भूमि 'टाढा पानी'जस्तै

हामी पनि थियाैँ

पर्खाइमा 

हाम्राे जीवनकाे हरियालीकाे


मेरा साेचका अाँखा पुगिइरहेका थिए दूर-दूरसम्म

अनि, म सम्झिइरहेकाे थिएँ तिमीलाई नै


गीतले सङ्गीतलाई सम्झन्छ नै

जसरी सम्झन्छ सङ्गीतले याे माटाेलाई

जसरी सम्झन्छ याे माटाेले पैतालाहरूलाई


तिमीलाई नै बेस्सरी सम्झिइरहेकाे बेलामा

मेराे छेवैबाट तिमी गयाै, मलाई नदेखीकन


यस्तरी दुखाइदियाै तिमीले मलाई कि

याे बेला म कति दुखेँ भनेर म भन्नसमेत सक्दिनँ


फराज,

अहिले म केवल सक्दछु दुख्न, यही मेरा शब्दहरूमा ।


२)

तिम्रा साेचका अाँखा जहाँ जहाँ पुगिरहेका थिए नि, परविन

म त्यहाँ-त्यहाँ थिएँ


याे 'टाढापानी'काे कथामा थिएँ

यहाँकाे सङ्घर्षमा थिएँ

यहाँकाे अला‌किकतामा थिएँ


यहाँ तिमीले देखेका रुख, जङ्गल, पहाड, हिमाल

सबै-सबैतिर म थिएँ


प्यारी,

तिमीभित्र नै म थिएँ हराइरहेकाे


तिमीलाई यस्तरी चिन्दछु म कि

म बताउनै सक्दिनँ म तिमीलाई कसरी चिन्दछु !


नदीले पानीलाई कसरी चिन्दछ ?

कसरी चिन्दछ सासले हावालाई ?

कसरी चिन्दछ जीवनले प्रकृतिलाई ?

कसरी चिन्दछ ढुकढुकीले हृदयलाई ?


तिमी दुखिइरहेकाे याे बेलामा

म यति दुखिरहेकाे छु कि

म मरी मरी राेइरहेकाे छु 


परविन,

म अहिले केवल सक्दछु रुन, यही मेरा शब्दहरूमा ।


[- परवीन शाकिर र अहमद फराज दुवै प्रख्यात पाकिस्तानी कवि हुन् ।


- टाढापानी : नेपालकाे एक हिमाली गाउँ । कास्की जिल्लाकाे अन्नपूर्ण क्षेत्रकाे एक गाउँ ।]  


© बिकेश कविन

साभार: नेपालखबर 


#बिकेश_कविन #प्रेमकविता #परवीन_शाकिर #अहमद_फराज #टाढापानी

Comments