त्याे १६ सय रुपैयाँकाे पुस्तक (पुस्तक संस्मरण) ~ बिकेश कविन
यस्तै तीन-चार कक्षामा इटहरीको ग्रिन पिस एकेडेमीमा पढ्थेँ। एकजना साथीको घरमा उसको नोटकापी माग्न गएको थिएँ। उसको घरमा एउटा बडेमानको पुस्तक रहेछ। त्यो पुस्तक उसले मलाई देखायो। पुस्तकभित्र डाइनोसरका तस्बिरदेखि अत्याधुनिक प्रविधिका तस्बिर थिए। ती तस्बिरसँगै लामालामा कुरा पनि लेखिएका थिए जुन हाम्रो बुझाइको भूगोलभन्दा निकै बाहिरको कुरा थियो। हामी दुवैले केवल त्यस पुस्तकभित्रका आकर्षक तस्बिर हेर्यौं र रमायौं। उक्त पुस्तक मेरो साथीकी दिदीको रहेछ। मलाई भने त्यो पुस्तक देखेर भित्रभित्रै त्यस्तो पुस्तक मेरो पनि भए गज्जब हुन्थ्यो भनेर सोचेँ।
यो घटनाको केही वर्षपश्चात् त्यही बडेमानको पुस्तक मैले इटहरी चोकको एउटा पुस्तक पसलमा भेट्टाएँ। त्यो पुस्तक पसलको नाम ‘नुतन बुक्स स्टोर’ थियो (अहिले भने त्यो पुस्तक पसल छैन)। इटहरी उप-महानगरपालिका (वर्तमानको) कार्यालयको ठीकअगाडि थियो त्यो पुस्तक पसल। त्यस पुस्तक पसलको सबैभन्दा माथितिर उक्त बडेमानको पुस्तक मुस्कुराइरहेको मैले देखेँ। त्यो पुस्तकको मुस्कानलाई सधैं आफूसँगै राख्ने भनेर मेरो मनले सोच्यो। (मेरो मस्तिष्कले सोचेको हुन्थ्यो भने म त्यो पुस्तक किन्नेबारे कदापि सपना देख्दिनँ थिएँ होला)।
मैले त्यो पुस्तकको मूल्य त्यस पुस्तक पसलको एकजना दाइलाई सोधेँ। उनले धेरै सोचविचार गरेर म फुच्चे केटोलार्ई हेरेर बडेमानको पुस्तकको बडेमानको मूल्य भने- १६ सय रुपियाँ। सायद ती दाइले म एउटा गन्जी र कट्टु लगाएर गएको देखेर म त्यो पुस्तक किन्दिनँ कि भनेर सोचेका थिए होलान्।
गोजीमा पाँच रुपियाँ नहुने फुच्चे केटोले त्यो पुस्तक किन्न सोह्र सय रुपियाँ कहाँबाट ल्याओस् ! एक त घरमा पुस्तक पढ्ने अनुकूल वातावरण थिएन। त्यसमाथि घरका सबैजसो अभिभावक कम पढेका थिए। घरमा सबैजसो सदस्यले साहित्यिक पुस्तक अथवा अन्य ज्ञानवद्र्घक पुस्तकहरूलाई भूत अथवा राक्षससरह सम्झिन्थे। अर्थात् स्कुलका पाठ्यपुस्तकका अतिरिक्त अन्य पुस्तकहरू पनि हुन्छन् भन्ने कुरा न घरमा कसैलाई थाहा थियो न त मलाई नै थाहा थियो। यसर्थ एउटै पुस्तक किन्न विशेषत : बुवासँग १६ सय रुपैयाँ माग्नु औचित्यहीन थियो। कल्पनाभन्दा बाहिरको बात थियो।
म त भर्खरै ती बाहिरी पुस्तकको लोकमा पुग्ने प्रवेशद्वारको खोजी गरिरहेको थिएँ। भर्खरै तीन-चार कक्षा पढिरहेको सानो बालकको मनमस्तिष्कले कतिचाहिँ सोच्न सकोस् !
अब त्यो बडेमानको पुस्तक कसरी किन्ने ? त्यसलाई कसरी आफ्नो मनको ‘पुस्तक र्याक’मा सजाएर राख्ने ? मैले केही सोच्नै सकिनँ। मैले केही पनि सोच्नै नसकिरहेको अवस्थामा जुक्ति निकालेँ।
मैले एक, दुई, पाँच, दस, बीस, पच्चीस, पचासका नेपाली नोट दुई-तीन वर्षदेखि बचाएर जम्मा गरेको थिएँ। अर्थात् मैले एक झोला रुपैयाँ सङ्कलन गरेको थिएँ। यसबारे घरमा मबाहेक कसैलाई पनि थाहा थिएन। मैले झोलाबाट ती सबै पैसा भुइँमा झारेर मिलाउँदै गन्न थालेँ। सोह्र सय रुपियाँ त पुग्यो।
अब त्यो पुस्तक किन्छु भनेर म बहुत खुसी भएँ। कति खुसी भएँ भने मैले एक झोला पैसा बोकेर त्यो पुस्तक पसल गएर मेरो सपनाको पुस्तक विपनामै किनेर घरमा लुकाउँदै ल्याएँ। पुस्तक लुकाएर राखे पनि मेरो स्वान्त सुखाय कसैले पनि लुकाउन सकेन।
एउटा मानिसले पुस्तक पढे, एउटा परिवारले पुस्तक पढ्छ। एउटा परिवारले पुस्तक पढे, एउटा समाजले पुस्तक पढ्छ।
घरका कसैले त्यो पुस्तक देखेका भए, ‘पुस्तक कहाँबाट ल्याइस् ? घरमा पैसा चोरेर किनिस् कि ? ’ भनेर सोध्ने प्रबल सम्भावना थियो। र, म कसैगरी पनि त्यो पुस्तक गुमाउन सक्दिनथेँ जुन पुस्तकको निम्ति मैले कयौं दिनसम्म स्कुलमा टिफिन किनेर खाइनँ, राम्रा लुगा किनेर कहिल्यै लगाइनँ अथवा आफूलाई मन परेका भिडियो गेम, रिमोट कन्ट्रोल कार आदि कदापि किनेर आफ्नो शैशवकाललाई रंगीचंगी बनाइनँ। मेरा लागि त्यो पुस्तक नै एउटा विशाल बगैंचा थियो जुन पुस्तकको रंगीचंगी बगैंचामा आफ्नो समय बिताउँदा मलाई सधैं रमाइलोभन्दा पनि माथिको रमाइलो लाग्यो।
त्यो बडेमानको पुस्तक किनेको केही महिनापश्चात् मात्र थाहा भयो, त्यो पुस्तकको नाम ‘फेमिली इन्साइक्लोपिडिया’ रहेछ। जुन बेला मैले साथीको घरमा उक्त पुस्तक पहिलोपल्ट देखेको थिएँ र दोस्रोपटक त्यही पुस्तक पसलमा देखेर किनेको थिएँ, तबसम्म मलाई ‘इन्साइक्लोपिडिया’ शब्दको न उच्चारण आउँथ्यो न त वर्णविन्यास। पछि मात्र मैले यो शब्द उच्चारण गर्न र हिज्जे जानेको हुँ।
हामी डर, तृष्णा, सपना, आकांक्षा आदि इत्यादिसँगै बाँचिरहेका हुन्छौं जुन मानवका निम्ति स्वाभाविक कुरा हो। यी कुराको अभावमा मानव जीवन पनि निरर्थक हन्छ। जबसम्म हामी यी भावना, विचार, चाहना, सपना, संवेग आदिभन्दा माथि उठेर सोच्न र बाँच्न सक्दैनौैं तबसम्म हाम्रो जीवनमा तमसोमा ज्योतिर्गमय असम्भवप्राय : छ।
केही महिनाअघि चितवनको सुनगाभा पुस्तक पसल र सम्पूर्ण बुक्स नारायणगढका सञ्चालक लेखराम सापकोटाले आफ्नो फेसबुकको भित्तामा एउटा तस्बिर पोस्ट गर्नुभएको थियो। उक्त तस्बिरमा हामी हेर्न सक्छौं, त्यहाँ गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रह र ‘स्पर्श’ नामको पुस्तक सँगसँगै टेबलमा राखिएको छ। पुस्तक सँगसँगै १०० रुपैयाँका दुईवटा नोट, ५० को एउटा नोट, २० का चारवटा नोट, १० का दुईवटा नोट र ५ रुपैयाँका पाँचवटा नोटले अर्थात् जम्माजम्मी तीन सय पचहत्तर रुपियाँको पुष्पगुच्छाले ती दुई पुस्तकलाई ससम्मान सजाइएको छ। उक्त सुन्दर पुस्तकमय तस्बिर देख्दा आफूले एक झोला लालाबाला नोट बोकेर पुस्तक पसल गएर ‘इन्साइक्लोपिडिया’ किनेको आफ्नो सुन्दर विगत सम्झिएँ।
बालबालिकाले आफ्नो टिफिन खाने पैसा, पकेटखर्च, ठूलाबडाले मायाले दिएका पैसा, आफूले विद्यालय र अन्य ठाउँमा भएका विविध प्रतियोगितामा जितेका थोरबहुत पैसा बचाएर सङ्कलन गरेर पुस्तक किनिरहेका हुन्छन्। आहा ! यो पावन बालकार्यभन्दा पुण्य काम अन्य केही होला भनेर कसैले मलाई भन्यो भने म उसको कुरा किमार्थ पत्याउने छैन।
एउटा मानिसले पुस्तक पढे, एउटा परिवारले पुस्तक पढ्छ। एउटा परिवारले पुस्तक पढे, एउटा समाजले पुस्तक पढ्छ। एउटा समाजले पुस्तक पढे, सिंगो देशले पुस्तक पढ्छ। जब एउटा देशले पुस्तक पढ्छ तब सारा संसारले पुस्तक पढ्छ।
आजैदेखि हामी पनि पुस्तक पढ्न सुरु गरौं न है ?
ट्विटर : @bikesh_kabin
साभार : फुर्सद, अन्नपूर्ण पाेस्ट, २०७६ माघ ११, शनिबार प्रकाशित
#बिकेश_कविन
Comments
Post a Comment