पात भएर जन्मिनु थियो ; पात भएरै बाँच्नु थियो

पात भएर जन्मिनु थियो
पात भएरै बाँच्नु थियो
                          -बिकेश कविन

                 म मुन्छे भएर जन्मिएँ। मुन्छे भएर यो संसार नै हल्लाउनै मेरो नियति थियो होला तर म आफ्नु भाग्यविरुद्ध नै विडम्बना प्रकट गर्न चाहन्छु। मलाई बिलकुल मुन्छे भएर जन्मिनु मन थिएनँ। मलाई त रुखको पात हुनु मन थियो र झुन्डिनु थियो कुनै अलौकिक वृक्षमा र त्यसैको रसास्वादन गर्न मन थियो।
                 
          पात, कति स्वतन्त्र छ, कति सुन्दर छ, कति प्राकृतिक छ, कति स्नेही छ। पातले कहिल्यै पनि विभाजनको कुरो गरेन, कसैप्रति 'कु' सोच राखेन। सदावहार प्रकृतिप्रति आस्थावान रही सगरमाथाझैँ अटल रहयो। म त भन्छु, मुन्छेभन्दा कयौँ गुणा भाग्यमानी पात नै होला जो चुँडिएर पनि आफ्नु गन्तव्यमा पुग्ने  अठोट र सङ्कल्प राख्दछ।
                         
           पात चुँडिनु र मुन्छे चुँडिनु, कुनचाहिँ भयानक होला? मुन्छे चुँडिएपछि उसको त अस्तित्व नै रहँदैन। मुन्छे चुँडिनु भन्नु त ऊ यो संसार त्याग्नु पो हो। कुनैपनि त्यागिएको चिज पुन: वापस आउँदैन। मुन्छेको जीवन चुँडिनु भनेको ऊ आफैँमा त्यागिनु हो । मुन्छे आफैँमा त्यागिनु भनेको ऊ अलप हुनु हो  आखिर मुन्छे नै अलप भएपछि ऊ कहाँ न कहाँ त अवश्य पुग्छ नै तर मुन्छेको मृत्युपछि ऊ गन्तव्यविहीन हुन्छ भनिन्छ।
           
         गन्तव्यविहीन नै हुनु थियो भने किन अलप हुनु मानिस? अलप हुनु अर्थात् मृत्यु हुनु अर्थात् देहावसान हुनु भनेको हो।
                   
 
             कुरो थियो पातको। यो संसारमा अर्बौँखर्बौँ मुन्छेहरु छन् तर यो जगतमा असङ्ख्य  वृक्षहरू छन् र ती सम्पूर्ण वृक्षमा अनगिनत पातहरु छन्। ती अनगिनत पातहरुमध्ये म एउटा पनि हुँन सकिनँ। आखिर मेरो अस्तित्व किन त्यो एउटा पातले पनि अटाउन सकेन। के म अस्तित्वविहीन हुँ? के मानिस भएर जन्मिनु भनेको पात भएर जन्मिनुभन्दा पनि तल गिरेको यथार्थ हो। यदि त्यसो हुँदो हो त किन मुन्छेलाई श्रेष्ठ प्राणीको दर्जा दिइएको हो?
                           
                 मैले त म जन्मिनुभन्दा अगाडिनै ईश्वरलाई मलाई पात बनाइदिन आग्रह र घोर अनुरोध गरेको थिएँ। रुखको काखबाट मेरो जन्म होस् भन्ने कुशल चाहना थियो मेरो। पातहरु नै मेरा आफन्त बनूँन भन्ने मेरो परिकल्पना थियो तर भाग्यले मलाई मुन्छे बनाइदियो। अब मुन्छे भएर म कसरी पातजसरी रहन सकूँला? अब कसरी म रुखमा फुल्न सकूँला? रुखैरुखको एउटा अङ्ग कसरी म बन्न सकूँला?
                           
                 एउटा वृक्षको कुनै पात चुँडिन्छ। मुन्छे सदावहारको खातिर चुँडिन्छ। ऊ चुँडिनु भन्नु ऊ हराउनु हो। ऊ हराउनु भन्नु आगोमा पोलिएर खरानी बन्नु अर्थात् माटोमा गाडिएर माटो नै बन्नु हो। एउटा पात चुँडिन्छ भन्नु न त खरानी बन्नु हो न त माटो नै बन्नु हो।
                         
                    पात चुँडिन्छ। हावाको बहावले अर्थात् अरुनै कुनै कारणवश् पात चुँडिन्छ। चराचुरुङ्गीहरुले पात चुँडाउछन् र ती पातहरुलाई आफ्नु भब्य महल बनाउछन्। पुतलीहरुले पात चुँडाउछन् अनि ती पातहरुमा नुँकिडुम खेल्छन्। मुन्छेहरुले पात चुँडाउछन् र ती पातहरुलाई अर्थहीन कार्यमा प्रयोग गर्छन् अर्थात् पात चुँडाउछन् र समीरको गतिसँगै आत्महत्या गराइदिन्छन्। आकाशले पनि पात चुँडाइदिन्छ  र ती पातहरुको बिम्ब तथा प्रतिबिम्ब बादलमा सझाइदिन्छ। भेडाबाख्राहरुले पात चुँडाउछन् र ती पातहरुलाई आफ्नु पेटसम्म पुर्याएर आफ्नु भोकको सुसाइड गर्छन्।
               
                 
                  पात आफैँ पनि चुँडिन्छ। जानीजानी पात चुँडिन्छ। त्यो पातमा प्यारीको नाम लेखिएको हुन्छ। पात चुँडिन्छ अनि भुइँमा खस्छ। त्यो पातलाई आफ्नु दिशा अवगत छ, त्यसैले उसले कसैलाई पनि प्यारीको ठेगाना माग्दैन। हावाले त्यो पातलाई उडाउँदैउडाउँदै कुनै बगरमा पुर्याइदिन्छ। त्यसपछि प्यारीको नाम लेखिएको त्यो पात डुँङ्गा भएर नदीमा तैरिन थाल्छ। ऊ आफ्नु गन्तव्यतर्फ अग्रसित हुन्छ। बग्दैबग्दै जान्छ त्यो पात  कयौँ दिन कयौँ रातसम्म, बहुत दूर। आफ्नु यात्राको अनेकन सङ्घर्षका दिनपश्चात् त्यो पात कुनै हरियाली नगरमा पुग्छ। त्यो ठाउँ त्यो पातको लागि बिलकुल नुतन थलो हो। यो नुतन थलोमा आइपुग्दासम्म प्यारीको नाम त्यो पातबाट अलप भएको छैन।
                             
                 फेरि बहुत शक्तिशाली बहावसँगै समीर आक्रोशित हुँदै जान्छ। त्यो 'प्यारी' लिखित पातलाई फेरि हावाको गतिले उडाइदिन्छ र पुर्याइदिन्छ कुनै प्रेमिल वनमा जहाँ वृक्षहरुबीच पनि प्रेम हुन्छ। त्यो पनि गहन प्रेम अर्थात् गहिरो माया। त्यो पात जसमा 'प्यारी' लेखिएको छ, त्यो उड्दैउड्दै एउटा रुखको काखमा अडिन्छ र त्यहीँका पातसँगै टाँसिन्छ। त्यो 'प्यारी' लेखिएको पातनजिकै एउटा अर्को पातपनि हुन्छ जसमा लेखिएको हुन्छ 'प्यारे'।
                                 
          अहो, पात चुँडिनु भनेको त पुन: जोडिनु पो रहेछ। त्यसैले त मलाई पनि मुन्छे नभएर त्यहीँ पातझैँ हुनु मन थियो र त्यसैगरी सदावहार प्रेमिल मिलन गर्नु थियो तर विडम्बना भाग्यले मलाई मुन्छे भएर जन्माइदियो।

Comments