पाठशाला, एक किशोरको कथा

 पाठशाला, एक किशोरको कथा
(बिकेश कविन)

                     नेपाली साहित्यका क्षेत्रमा रङ्गीबिरङ्का साहित्यिक कृतिहरुले बास गरेका छन्। धेरैजस्ता ती साहित्यिक पुस्तकहरु प्रौढहरुले पढ्न रुचाउने र प्रौढहरुलाई नै केन्द्रमा राखेर लेखिएका छन्। केही साहित्यिक पुस्तकहरु बालमनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएका छन्। किरोशावस्थालाई केन्द्रमा राखेर अर्थात् किशोरहरुको कथा समेटिएका साहित्यिक कृतिहरु विरलै लेखिएका छन्। नेपाली साहित्यको क्षेत्रमा किशोर-किशोरीहरुको विषयलाई अँध्यारोमै राखिएको छ। पोखरेली लेखक तीर्थ गुरुङले 'पाठशाला' लेखेर नेपाली साहित्यको क्षेत्रमा विशेष स्थान नपाएका किशोर-किशोरीहरुको कथालाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउने प्रयत्न गरेका छन्।

                     'पाठशाला', तीर्थ गुरुङद्वारा लिखित पहिलो उपन्यास हो। यो उपन्यासलाई बुक हिलले प्रकाशन गरेको हो। पाठशाला, एउटा किशोरको कथा हो। अर्थात् यो उपन्यास किशोरावस्थालाई मध्यनजर गरेर लेखिएको हो। 'पाठशाला' एउटा अध्ययनरत छात्रको डायरी हो। 'पाठशाला' डब्बु अर्थात् गोर्की अर्थात् गगन थापाको कथा हो। गगनको स्कुलको फगत नभएर, उसले आफ्नु वरिपरि देखेका-बुझेका विविध विसङ्गतीहरुको कथा हो, पाठशाला। लेखक गुरुङले पाठशाला लेखेर सम्पूर्ण किशोरावस्थाको कठघरामा घेरिएका सम्पूर्णको प्रतिनिधित्व गरेका छन्। यो उपन्यास हजारौँ गोर्कीहरुको कथा हो। पाठशाला ती सबैको कथा हो जसले किशोरावस्था भोगेका छन्। यो उपन्यासका धेरैजसो कथाहरुमा हामी स्वयमलाई पाउछौँ। हामी नै स्कुलमा साथीहरुसँग गफ मारिरहेका हुन्छौँ। सरहरुलाई नानाथरिका नाम राखिदिएर गिज्याइरहेका हुन्छौँ। होस्टेलमा मन नभईनभई पनि सोडा राखेको भात र पानीजस्तै लाग्ने दाल खाइरहेका हुन्छौँ आदि इत्यादि। पाठशाला एउटा किशोरको नोटबुक भएको हुनाले यसमा उनले प्रयोग गर्ने शब्दहरु चाहे ती अरुलाई राम्रा लागून या नाई, ती सम्पूर्ण शब्दहरु हुबहु लेखिएका छन्। जम्माजम्मी 247 पृष्ठ भएको यो उपन्यासको मूल्यचाहिँ रु. 400 रहेको छ।

"फूल फुल्नु उसको कर्तव्य हो
 फूल नफुल्नु उसको भाग्य हो।"

                               उपन्यासकार तीर्थ गुरुङ्ले आफ्नो पाठशालामा एकजना त्यस्ता किशोरको कथा लेखेका छन् जसको नोटबुक अर्थात् डायरी उनी भेट्टाउछन् र पछि मात्र त्यो नीलो नोटबुक उनी फिर्ता गरिदिन्छन्। 'पाठशाला' उपन्यास जम्माजम्मी 24 शीर्षकमा विभाजन गरिएको छ जुन् हरियो अक्षरमा लेखिएका छन्। उपन्यासका मूख्य पात्र डब्बु अर्थात् गोर्की अर्थात् गगन थापाको नीलो नोटबुकभित्र हरियो अक्षरले लेखिएका हुनाले पाठशालाको बीचका सम्पूर्ण कथाहरु पनि हरियो अक्षरमै लेखिएका छन्। उपन्यासको सुरुवात 'निलो नोटबुक' शीर्षकबाट गरिएको छ जसका अक्षरहरु काला छन् जहाँ लेखकले त्यो नीलो नोटबुक भेट्टाउछन्। उपन्यासको अन्त्य 'मानसिक वार्ड' शीर्षकबाट गरिएको छ जसका अक्षरहरु पनि काला नै छन् जहाँ लेखक गुरुङ्ले गगन थापाको भाइ प्रणयलाई भेटेर गगनको नीलो नोटबुक फिर्ता गरिदिन्छन्। यसबाहेकका सम्पूर्ण कथाहरु हरियो अक्षरले नै लेखिएका छन्।
 
                 पाठशालाको मूख्य पात्र गगन थापा रहेका छन् जसलाई स्कुलमा साथीहरुले साथसाथै शिक्षकहरुले डब्बु भनेर बोलाउँछन्। 'गोर्की' उनको बुबाले उनलाई दिएको नाम हो। उनी 'न्यू हार्फोर्ड मोर्डन इङ्लिस स्कुल' मा पढ्छन्। उपन्यास पढ्दैजाँदा गगनको आर्थिक अवस्था प्रतिकूल रहेको यथार्थ हामी सजिलै अड्कल गर्नसक्छौँ। डब्बु अरुभन्दा फरक किसिमका छात्रमध्ये पर्छन् जो विविध काम न काजका कामहरु गरेर आफ्नु बहुमूल्य समय खेर फाल्न व्यस्य रहन्छन्। उनले आफ्नु नीलो नोटबुकको सुरुवात 'हा....हा....हा....डब्बु!' शीर्षकबाट गरेका छन्। उनले आफ्नु डायरीको अनत्यचाहिँ 'मान्छेको शरीर, ब्वाँसोको टाउको' शीर्षकबाट गरेका छन्।

                      उपन्यासकार गुरुङले आफ्नु उपन्यासमा धेरै साहित्यिक कृतिहरुको नाम उल्लेख गरेका छन्। उदाहरणको लागि मुनामदन, टु किल अ मर्किङ्बर्ड, घुम्ने मेचमाथि अन्धो मान्छे, गौरी, वार एण्ड पिस आदि इत्यादि । पुस्तकको आवरण चित्रमा पनि मुदामदन र टु किल मर्किङ्बर्डको नाम उल्लेखित छ।

                       गगन थापा अर्थात् डब्बु बाल्यकालमा छँदा एकदमै जान्ने विद्यार्थी थिए। उनी सानो कक्षामा भएर पनि ठूला दाजुदिदीलाई गएर सिकाउथे। कहिलेकाहीँ आफूभन्दा ठूल्ठूला दादादिदीहरुले समाधान गर्न नसकेका प्रश्नहरु समाधान गरिदिएर तालीमाथि ताली पाउथे र दादादिदीलाई थप्पड हान्ने पनि सौभाग्य प्राप्त गर्थे। पछि उनको पढाइ बिग्रदै जान्छ। उनी प्रथमदेखि पास अनि पासदेखि झुन्डिएर पास हुन थाल्छन्। उनका बा र आमाबीच धेरैजसो झगडा पनि भइरहन्थ्यो र यसले गर्दा उनलाई ठूलो असर पर्थ्यो। गगनले आफ्नो नोटबुकमा आफूले जसरी अरुबेला शब्द प्रयोग गर्थे, त्यसरी नै हुबहु शब्द प्रयोग गरेका छन्। उनी लद्दु भएपछि एसएलसीको बखतमा उनलाई होस्टेल बस्न विवश पारिन्छ।  उनले आफ्नो नोटबुकमा स्कुल, साथी, परिवार सबैको बयान गरेका छन्। उपन्यास पढ्दैजाँदा कुनै त्यस्तो थलो आउँन सक्छ जहाँको बासी हामी निज हुन्छौँ। हामी नै डब्बुको स्थानमा रहेको पाउछौँ। हामी सम्पूर्ण किशोरावस्था पार गरेर आउने हुनाले 'पाठशाला' उपन्यासले हाम्रो कथापनि लेखेको छ। अर्थात् भनौँ पाठशाला भन्नु हाम्रो नै कथा हो। सम्पूर्ण किशोर-किशोरीहरुको कथा हो। उपन्यासको अनुसार  केही कारणवश गगन थापाको मानसिक अवस्था बिग्रदै जान्छ। पछि उनलाई मानसिक अस्पतालमा पुर्याइन्छ।
   
              'पाठशाला' उपन्यासको अन्त्यतिर 'हैन ?' भन्ने शब्दको प्रचुर मात्रामा प्रयोग गरिएको छ जसले गर्दा पाठकलाई मोनोटोनस लाग्न सक्छ। अन्तत: उपन्यासकार तीर्थ गुरुङले 'पाठशाला' लेखेर नेपाली साहित्यको एउटा बाझो रहेको पाटोलाई हराभरा पारिदिएका छन्। यो उपन्यास किशोर-किशोरीहरुका निम्ति लेखिएको एक उत्कृष्ट उपन्यास हो।

Comments