बिछोडपछिको मिलन

बिछोडपछिको मिलन
-बिकेश कविन

                           जीवन घडीको काँटाझैँ सदैव अग्रसर भइरहन्छ। खोलाखोल्सीझैँ निरन्तर बगिरहन्छ जीवन। हामीले रोकेर स्थिर नबन्ने रहेछ जीवन। जीवन त अस्थिर छ। सदा कुनै न कुनै अलौकिक खोजमा लागिरहन्छ जीवन। मुन्छे मर्छ। मुन्छे मर्नु भनेको के जीवनकै रामलीला समाप्त हुनु हो? अहँ, मलाई त्यसो बिलकुल लाग्दैन । मृत्युले जीवनको आत्महत्या गराउन विवश पार्न सक्दैन। मृत्युले त केवल मुन्छेको शरीरको अन्त्य गर्ने हो ना कि जीवनको। यदि जीवनकै अन्त्य हुँदो हो त जीवनलाई किन निरन्तर बगिरहने खोलाखोल्सी, निरन्तर चलिरहने हावाबतास आदि इत्यादिसँग समानता गर्नु! मुन्छे मर्छ तर जीवन मर्दैन। जीवन अमर छ।

                      म पचिस वर्षको भएँ। म अर्थात् एक अपरिचित कवि। दुई वर्षआगु मेरो विवाह भएको थियो। अर्थात् मेरो विवाह भएको दुई वर्ष भयो। कुरो एउटै हो। विवाहचाहिँ विवाह नै भएको थियो । प्यारीसँग मेरो विवाह भएको थियो। अर्थात् म अपरिचित कविकी पत्नी प्यारी भइन्। प्यारी मेरो जीवनमा आइन्। मेरो दिलको क्यानभासमा प्यारीको तस्विर सझियो। उनी मेरी जीवनसंगीनी बनिन्। सदैव  साथ दिने/दिइरहने साथी भइन्  प्यारी त मेरो हरेक सास भइन्। उनी नै मेरो अजर आस भइन्। मेरो मुटुको ढुकढुकी प्यारी भइन्।

                                      म कवि थिएँ। कवि हुँ। कवि नै रहने छु या रहने छैन, त्यो कुरो भविष्यले निर्धारण गर्नेछ। अहिलेचाहिँ म एक कुशल कवि नै हुँ। अरु कविका निम्ति कवि हुँ या हैन, त्यो कुरोसँग मलाई मतलब छैन। म आफ्नोलागि चाहिँ कवि नै हुँ। मेरो विवाहपश्चात् मेरी प्यारीको आँखाको अगाडि पनि म कवि नै भएँ।
       
                             विवाहपश्चात् मैले थुप्रै कविताहरु लेखेँ। ती कुनै पनि कविताहरु राजनीतिक थिएनन्। ती कुनै पनि कविताहरु देशभक्ति किसिमका थिएनन्। ती कुनै पनि कविताहरु प्रकृतिमाथि कुदाइएका थिएनन्। ती कुनै पनि कविताहरुमा दु:खपीडा, शोषण, अत्याचार थिएनन्। मैले ती सम्पूर्ण कविता मेरी प्यारीको निम्ति लेखेँ। मैले ती सम्पूर्ण कविता भविष्यमा जन्मिने अर्थात् हाम्री छोरीमाथि लेखेको थिएँ।

                         आज मेरो विवाह भएको दुइ वर्ष बित्यो।आज नै हाम्री छोरीले घरमा बास गरिन्। अर्थात् आज मेरी छोरीको जन्म भएको छ। आड एक पिता आफ्नी छोरीको अनुहार देख्न आतुर छ। मेरो छोरी त हो जसको निम्ति मैले कविताहरु बुनेँ। जसलाई सदैव म कल्पनापुरको फूलबारीमा भेट्ने गर्दथेँ। जोसँग म मौन संवाद गरेर घोर प्रफुल्लित हुने गर्दथेँ। आज एउटा पिता नितान्त गदगद भएको छ। छोरीको आगमनले सम्पूर्णको अनुहार दीपको उज्यालोझैँ प्रज्वलित छ।

                               मैले मेरी छोरीलाई काखमा लिएँ। मेरी छोरीको पहिलो स्पर्शसँगै मेरो शरीरमा कुनै शक्तिको प्रवेश भएको अनुभूति भइरहेको छ। म मेरी छोरीलाई एकतमासले देखिरहेछु। बस्, उसलाई देखिरहेछु। मेरी छोरीका कलिला आँखा, कान, नाक, चेहरा, निधार, ओठ, घाँटी, हात, खुट्टा, औँला सबसबै म नियाँलिरहेछु। म मेरी छोरीलाई देख्दै कविताका शब्दहरु भण्डारण गरिरहेछु र ती शब्दहरुले सप्तकोशीभन्दा पनि लामालामा कविताहरु बुनिरहेछु। बस्, म मेरी छोरीलाई देख्दै कवितामाथि कविता बुनिरहेछु।

              मेरी छोरी जन्मेको केही घण्टापश्चात् प्यारी बेहोश भइन्। सायद कमजोरीले होला। मैले मेरी छोरीलाई उसको हजूरबाको काखमा थमाइदिएँ। अनि म आत्तिदै प्यारीनिर पुगेँ। आफ्नु हातले प्यारीको गाला थप्थप्याएँ तर प्यारीबाट कुनैपनि उत्तर आएन। उनी बेहोश भएर बेहोशीको दुनियामा मग्न थिइन्। मैले उनलाई अर्थात् प्यारीको शिरलाई आफ्नु काखमा राखेँ र बारम्बार "प्यारी! प्यारी! प्यारी!" भनिरहेँ तर केही भएन।

                            बेहोश भएको केहीक्षणपश्चात् मेरी प्यारीको मृत्यु भयो। उनी मेरो जीवनबाट सदाको खातिर अस्ताएर गइन्। मेरी जीवनसंगीनीले मलाई एक्लै पारेर कुनै रहस्यमय संसारमा गइन्। दैवले मेरी प्यारी खोसे। प्यारीबाट मलाई अलग पारिदिए र पुर्याइदिए मेरी प्यारीलाई कुनै अज्ञात र निर्जन लोकमा।

                          प्यारीलाई क्यान्सर भएको रहेछ। पछि डाक्टरले बताउँदा अवगत भयो। प्यारीले कदापि उनलाई क्यान्सर छ भनेर हामीलाई बताइनन्। आफैँ तर्पिरहिन् तर हामीलाई कुनैपनि बात बताइनन्। यदि प्यारीले हामीलाई भनेकी भए उनको खातिर म आफ्नु ज्यान नै त्यागेर उपचार गराउने थिएँ। देशविदेशका नामी अस्पतालहरुमा लाने थिए अनि प्यारीको उपचार गराउने थिएँ। तर प्यारीले हामीलाई केही पनि बताइनन्। किन त्यसो गर्यौं प्यारी तिमीले?

                    प्यारीको मृत्यौसँगै म आधा त मरिसकेको थिएँ तर मेरी छोरीको लागि मैले बाँच्नुपर्ने थियो। यो सपनापनि मेरो नियतिले पूरा हुन दिएन। प्यारीको मृत्यु भएको दुई घण्टापश्चात् मेरी छोरीको पनि सास गयो। अर्थात् मेरी छोरीले पनि मलाई एक्लै छाँडेर कुनै रहस्यपूर्ण संसारमा गई। त्यसपछि त मेरो सम्पूर्ण आस गयो। सास गयो। नभन्दै म पनि मरेछु। मेरो दिलले यति विपुल वियोग खेप्न नसकेर होला म पनि बाँच्न सकिनँ। म पनि कुनै रहस्यपूर्ण संसारमा पुगेँ। नभन्दै प्यारी, मेरी छोरी र मेरो भेट पुन: भएछ त्यो रहस्यपूर्ण संसारमा।

   सायद बिछोडपनि मिलन हुनलाई नै भएको रहेछ।

Comments