'पाठेघर' अर्थात् 'धर्ती '
'पाठेघर' अर्थात् 'धर्ती'
-बिकेश कविन
विधा : कवितासङ्ग्रह
कवि : बादल चाम्लिङ
प्रकाशक : स्रष्टा समाज, बेलबारी, मोरङ, नेपाल
पृष्ठ : ९४
मूल्य : रु. २१० /-
पूर्वेली कवि, ‘पाठेघर’ कवितासङ्ग्रहकी सर्जक कवि बादल चाम्लिङका कविताहरूमा विशिष्ट स्वाद र विशेष शब्दशील्प पाइन्छ जुन विशेषता अरू कविहरूका कवितासँग किमार्थ मेल खाँदैन । यसर्थ कवि चाम्लिङले कविताको भूगोलमा आफ्नो छुट्टै पहिचान कायम गर्न सक्षम भएकी छन् । भावी दिनमा कविको कलम अझ सशक्त हुनेछ भन्ने कुरामा दुईमत छैन ।
कवि चाम्लिङका कविताहरूमा प्रकृतिप्रतिको अथाह प्रेम, प्रकृतिलाई बचाउँन र यसको संरक्षण र दिगो विकास अर्थात् सस्टेनेबिलिटीको निम्ति कविले आफ्नो तर्फबाट कविताको बिगुल घन्काएकी छन् । सरोकारवाला निकाय, वातावतरण संरक्षक निकायहरूलाई कविताको माध्यमले निकै सचेत गराएकी छन् । कविले जनतालाई समेत सचेत गराएकी छन् र बताएकी छन्, ‘यो प्रकृति हाम्रो साझा बासस्थान हो । घर हो । गृह हो ।’
समाजमा भएका साथसाथै दिन प्रतिदिन बढिरहेका सामाजिक, धार्मिक, लैङ्गिक र राजनीतिक विकृति र कुकर्मविरुद्ध कविले जोडदार व्यङ्ग्यात्मक कदम उचालेकी छन् आफ्नो काव्यरुपी शस्त्रको सहयोगले । कवि निकै सकरात्मक छिन् आफ्ना विविध कविताहरूमा र समाजमा धर्म, न्याय, नागरिक सुरक्षा र मानवताको परम संरक्षणको निम्ति आशावादी छिन् । कविले नेपाली रीतिरिवाज, भेषभुषा, र पर्व एवम् विविध भाषाको संरक्षणको निम्ति पनि आफ्नो आशाको दीप बालेकी छन् । सरकार पक्षलाई जसले फगत आश्वासन दिइरहेका छन् परन्तु कुनैपनि सकरात्मक कदम र नागरिक उन्नतिको निम्ति कुनै पाइला अगाडि बढाएका छैनज्, ती तमाम भ्रष्टहरूलाई प्रश्नमाथि प्रश्नको सगरमाथा थपिदिएकी छन् कविले ।
कविको मुख्य अभिप्राय यही हो कि सम्पूर्ण घरपरिवार, गाउँ, नगर, जिल्ला, देश, प्रकृति र सिङ्गो भूलोकको भलो होस् आशाका अलौकिक पुष्पहरुले र यो संसारमा शान्ति र समृद्धिको वास होस् । सबैको कल्याण होस् । कवि बादल चाम्लिङको कवितासङ्ग्रह ‘पाठेघर’ मा अठतीस वटा कविताहरू सङ्गृहीत छन् जसमध्ये आकृति शीर्षक कविता पहिलो कविता रहेको छ भने अन्तिम कविता सङ्क्रमणकालमा मेरो देश शीर्षकको रहेको छ । कविले आफ्नो यो कविताकृति समन, सुलक्षण एवम् विलक्षणप्रति समर्पित गरेकी छन् । यो कवितासङ्ग्रहको प्रथम संस्करण २०७४ फागुन २४ गतेको दिन आएको हो ।
कविले आकृति शीर्षकको कविता आफ्ना पूज्य बुबालाई र आमा शीर्षकको कविता आफ्नी पूज्य मातालाई समर्पित गरेकी छन् ।
चित्रशिल्पी शीर्षक कविता कविले मुहारपुस्तिकामा ‘बसि बियाँलो’ स्तम्भ अन्तर्गत विभिन्न व्यक्तित्वहरूको सचित्र परिचय दिँदै आइरहनुभएका पोखराका चित्रशील्पी कृष्ण मर्सानीप्रति समर्पित गरेकी छन् । समयको चुनौतिपात्र शीर्षक कविता राजनीति, साहित्य र सामाजिक कामबीच सन्तुलनमा रहनुभएका सबैका लागि प्रेरणादायी व्यक्तित्व आदरणीय ईरान राईप्रति समर्पित गरिएको छ । राष्ट्रिय गानका सङ्गीतकार आदरणीय अम्बर गुरुङप्रति तिमी रत्नको मूल्य हौं शीर्षक कविता समर्पित गरिएको छ । कविले पाठेघरभित्रका दुई कविताहरू ‘उनी’ र ‘हजुरको जित मलाई मनपर्छ’ आफ्ना जीवनसाथीलाई समर्पित गरेकी छन् ।
कवि बादल चाम्लिङले सहरीकरण, सहरको अस्तव्यस्त जीवन, सहरको अभाव र रिक्तता साथसाथै प्रदुषित सहरी माहौलमाथि जोडदार व्यङ्ग्यवाण यसरी हानेकी छन् अनि बताएकी छन् कि सहरी जीवनभन्दा गाउँले जीवन नै अब्बल र प्यारो हुन्छ :
सहरमा मान्छेहरू त बोल्दैन रहेछन्
मेरो गाउँ जानुस्
यी सबै यसरी तपाईँको नजिक आउँछन् ।
पँधेरोको पानी धीत मर्ने गरि
विना पैसा पिउनुस्
करेसाबारीको फलफूल डालीभरि निर्धक्क टिप्नुस्
चित्त बुझेन अझै
बारी पसेर चौथी मार्नुस्
बाटाका पर्खाल, पोथ्रो–पोथ्रो छाम्नुस् त
अपनत्वको महसुस गर्नुस् ।
नगदको कालो भकारी पो छैन त मेरो गाउँमा
मान्छेको भीडमा मान्छे छेकिने पर्दा पो छैन
आपत् विपतमा अदेखा हुने छिमेक छैनन् ।
(मेरो गाउँ)
नेपालको विशेषगरी तराई भूभागमा चलिआएको दाइजो प्रथाजस्तो महामारीविरुद्ध कविले आवाज उठाएकी छन्–
शरीरमा कपडा थोरै बाँकी छ
त्यो पनि नाजुक छ
मट्टितेल छर्किएर अब
आगो सल्काइन्छ ।
(दृश्यमा उनी)
दाइजो प्रथाजस्तो कुसंस्कृतिले गर्दा नारीहरूलाई आफ्नै घरपरिवारबाट शोषण भोग्नुपर्छ र मृत्यु समेत भोग्नुपर्छ । यस्ता कुरीतिलाई जरासमेत उखेलेर फ्याकिदिनुपर्छ भनेर कविले आफ्नो कविताबाट आह्रवान गरेकी छन्–
फुत्त एउटा छोरो मान्छे निस्कन्छ
एक भाँडो पेट्रोल उनैमाथि हुत्याउँछ
हुरुरुरु लप्का एक छानो उठ्यो
उनको शरीर झस्केझैँ देखियो
हातका औँलाहरू अलिअलि चल्दै थिए
त्यही पनि बन्द भयो ।
(दृश्यमा उनी)
कविले देशको अराजकताविरुद्ध व्यङ्ग्य गरेकी छन् र त्यसले गर्दा समस्त युवा लगायत जनतामा आइपरेका विविध समस्याहरूको चित्राङ्कन गरेकी छन्–
आफ्नो मेलोमेसो हराएको मेरो देशमा
रातमा दिन, दिनमा रात जे पनि हुन्छ
उपाधिको प्रमाणपत्र टिनको बाकसमा बन्द गरेर
युवा खाडी मुलुक धाउँछ
विना उपाधिका भद्रजन डाडुपन्यू लिएर चुलो पस्छ
कार्यालयको ढिलासुस्ती र भ्रष्टाचार त
सञ्जीवनी बुटी नै हो
नत्र देशको दशाको कुरा त हैन
ढुकढुकीको पो प्रश्न उठ्छ ।
यसरी मेरो देशमा म पिँजडाको सुगा बनेँ
मलाई जे सिकाए पनि हुन्छ
देशबाहिर म काठको पुतली बनेँ
जो निर्जीव हो अरूले नचाए हुन्छ
सरकार सरोकारवाला बाघचालको गोटी बने
जो अरूले नै चाल्नुपर्छ
यी सबै कुराहरू पन्छाएर यदि एक छिन मात्रै
बेअस्तित्वबाट अस्तित्वमा आएर बाँच्न पाएँ
भित्रदेखि रहर त छ नि
मेरो देशको सुन्दर चित्र कोर्न
सबैको अनुहारभरि चमक देखिने गरी
लालीगुराँसले रङ्ग भर्न
तर देश नै कोमामा जानै लागेको बेला
धुमिल स्वाभिमान ओढेर
य यी सब कसरी गर्न सक्छु ?
(मेरो देश नेपाल ः म नेपाली)
के लाग्छ तपाईँलाई
बालक कमजोर हुन्छ
सानो छ
उसलाई जे पनि गर्न सकिन्छ ?
उसको मुहारमा तैरिएको जूनेली शीतल उघाएर
आफ्नो मुहार धुन्छ
तारा राति
उसको निदरीलाई फकाउन नाभो गीत गाउँछ
पहाड
ऊ छेउ आउँदा निहुरिन्छ
यो हेक्का रहोस्
कि
बालकसँग
शक्तिशाली युद्धले त आत्मसमर्पण गर्छ ।
(बालक)
यसरी कविले साना कोपिलाहरूप्रति असीम पे्रम देखाएकी छन् । सानो भन्दैमा बालबालिकाहरूलाई हेप्न सकिदैन । तिनीहरूमा यत्ति धेरै शक्ति हुन्छ कि तिनीहरूसँग युद्धले पनि आत्मसमर्पण गर्छ ।
कवि चाम्लिङले आफ्ना कविताहरूमा थुप्रै प्रश्नहरू सोधेकी छन्् । उनले समयचक्रलाई कसैगरी पनि रोक्न सकिदैन भनेर यसरी भनेकी छन्–
नुन, तेल, दाल, चामल बोकेर
गाउँ हिँडेको भरियालाई
जिस्काएर पनि हुन्छ ?
दिन बन्न हिँडेको बिहानीलाई
हत्केलाले छेकेर हुन्छ ?
क्षितिज पोत्न हिँडेको हृदयलाई
औँला ठड्याएर हुन्छ ?
(बाटो)
पाठेघर कवितासङ्ग्रहमा पाठेघर शीर्षकको कविता पनि समावेश गरिएको छ जसमा धर्तीलाई पाठेघरको विस्तृत रूप भनिएको छ–
यो धर्ती
मेरो पाठेघरको विस्तृत रुप हो ।
(पाठेघर)
पाठेघर कवितासङ्ग्रह भित्रका धेरैजस्ता कविताहरू लामा–लामा रहेका छन् । परन्तु कविताहरूमा कुनै पनि किसिमका जटिलता भने छैन । सबै उमेरका कविताका पाठकहरूले सजिलैसँग कविता पढ्न सक्छन् । कविता पढिसकेपछि चिन्तन र मनन गर्न सक्छन् । कविले केही हरफहरूमा पनि जीवनका विविध आयामहरू दर्शाएकी छन् ।
मान्छेको उद्धार गर्न
मान्छेले जन्माएको विचार धन्न मन्द विष बनेन ।
(विचारको ताकत)
सुन त छोरा !
तिमीलाई पाउने विश्वास घट्ने कहाँ हो र
खोली जीवनभर बग्दा
शालीग्राम नभेटेको कतै यहाँ छ र !
(छोरा)
नफुल्नू तिमी
फुलेपछि
कि इन्द्रेणी जितेर फुल्नु
कि त परागसेचनपछि
थुप्रै ताराहरू बारीभरि उमारेर
घामको चुरभन्दा माथि उठेर फुल्नु ।
(फूल)
पेटभरि खाऊँ, खानेकुरा छैन
पानीले पेट भरूँ, शुद्ध छैन
आकाशबाट झरेको पानो पिऊँ
एसिड हुन्छ
वायुमण्डलमा रहने श्वास फेर्ने हावामा
घातक किटाणु हुन्छ
आफ्नो आयु कति छ बाँकी
आफैँ तोक्न सकिन्छ ।
टोटलाको फूल
दिनमा फुल्न मुस्किल छ भन्छन्
रात परेपछि सुटुक्कै फुल्छ
र उज्यालो नआउँदै भुइँमा झर्छ
कम्तिमा जुठो हातहरूले छोइनु त पर्दैन भन्छ ।
चाडपर्वमा
आशीर्वाद, प्रेम–सद्भाव
इमेलबाट नै आउँछ, जान्छ
समय यति लचकदार पनि किन बन्नु ?
(कुरूप नागरिक)
श्वास फेर्नुमा मात्रै जीवन हुन्छ भन्नु होइन रहेछ
कलाकारले कुँदेर बनाएको मूर्तिले युग बोल्दो रहेछ ।
(जीवन)
आजकल त
दसैँ
सम्झनु पो रहेछ ।
(दसैँ)
पाठेघर कवितासङ्ग्रहको निम्ति प्राज्ञ उपेन्द्र पागलले पाठेघरकी बादललाई शुभकामना शीर्षकमा शुभकामना दिएका छन् र बादलजस्तै बादलका कविता शीर्षकमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले शुभकामना प्रकट गरेका छन् । मेरो भन्नु शीर्षकमा पाठेघरकी सर्जक कवि बादल चाम्लिङले आफ्ना भनाइ राखेकी छन् ।
Comments
Post a Comment