'प्रश्नपत्र जिन्दगीको' भित्रको नुतन भूगोल

'प्रश्नपत्र जिन्दगीको' भित्रको नुतन भूगोल
-बिकेश कविन

विधा- कवितासङ्ग्रह
कवि- थीरलोचन श्रेष्ठ
प्रकाशक- ऐश्वर्य प्रकाशन प्रा. लि.
पृष्ठ- 107
मूल्य- रु. 200

                  कविता लेख्न सजिलो छैन। कविता आफैँमा एक सशक्त विधा हो। धेरैजस्ता कविताहरु सामान्य मनमस्तिष्कले बुझिँदैन।त्यस्ता कविता बुझ्न कविताको गहिराइसम्म पुग्नैपर्छ। कविता भन्नु ध्यान हो। स्थिर मन हुनेहरुले कविता बुझ्छन् भनिन्छ। अझ आख्यानकार अमर न्यौपानेले कवितालाई मन्त्रको रुपमा लिने गर्छन्। अर्थात् कविता भन्नु मन्त्र पनि हो। कविता भन्नु ध्यान पनि हो। कविता लेख्नु एउटा चुनौतीको सामना गर्नु हो। नयाँ परिवेशमा आफ्नो छुट्टै स्थान बनाउँन खोज्नु हो, कविता लेखन भनेको। कविता जतिबेला जसरी पनि लेख्न सकिन्न। यो एउटा जटिल विधा हो। कविता लेख्नु भनेको सगरमाथा चढ्नु हो। कविता लेख्दा कविको मनमा विभिन्न किसिमका उकाली ओरालीहरु आइरहन्छन्। ती सबैकुराबाट आफूलाई बचाउँदै, कविले कविता लेख्न सक्छ।

                          अहिले नेपाली साहित्यमा युवा कविहरुको आगमन दिनप्रति दिन बढ्दै गइरहेको छ। विभिन्न कविता प्रतियोगिताहरु एवम् कविताका कार्यक्रमहरुमा युवा कविहरुको उपस्थिति प्रचुर मात्रामा देख्न सकिन्छ। त्यस्ता कार्यक्रमहरुमा विजेता भएर धेरै युवा कविहरुले नाम पनि कमाइरहेछन्। केही युवा कविहरु भने यस्ता कविगोष्ठी, कविता प्रतियोगिता आदिबाट टाढा रहेर कविता लेखिरहेका छन् र तिनीहरुले कवितासङ्ग्रह पनि निकालिरहेका छन्। आफ्नो कवितासङ्ग्रहबाटै ती युवा कविहरु आफ्नो पहिचान बताइरहेका छन्। यसैगरि आफ्नो पहिलो कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' लिएर आएका छन् भोजपुर मूल घर भएका कवि थीरलोचन श्रेष्ठ। हाल उनी धरानमा बसोबास गरिरहेका छन्।

                   कवि थीरलोचन श्रेष्ठको कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' को प्रथम संस्करण 2073 मा आएको हो जुन कृतिबाट कवि श्रेष्ठले नेपाली कविताकृतिको जगतमा आफ्नो पाइला अगाडि बढाएका छन्। उनका कविताहरुमा प्रेम, प्रकृति, समाज, इतिहास, राजनीति, भूगोल, विद्रोह, पीडा, सङ्घर्ष, सहकार्य आदि इत्यादिको सम्मिश्रण भएको पाइन्छ। उनका विशेषगरि कविताहरुमा प्रेम पाइन्छ। प्रेमिल कविताहरुलाई कविले अति नै नुतन शैलीमा प्रस्तुत गरेर कविले प्रेमिल नेपाली कविताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।

                   कवि श्रेष्ठको कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' पाँचवटा खण्डमा बिभाजित गरिएको छ। हरेक खण्डलाई छुट्टाछुट्टै उपशीर्षकहरु दिइएका छन्। हरेक खण्डभित्र दश-दशवटा कविताहरु रहेका छन्। कवितासङ्ग्रहको अन्त्यतिर 'र, अर्को पृष्ठ' शीर्षक दिएर एउटा कविता 'प्रश्नपत्र जिन्दगीको' लाई समावेश गरिएको छ। यसरी हेर्दा, कवि थीरलोचन श्रेष्ठको कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' मा एकाउन्नवटा कविताहरु समावेश गरिएका छन्। कवि  श्रेष्ठको कवितासङ्ग्रहभित्र सबै किसिमका कविताहरु रहेका छन्। छोटादेखि लिएर लामा कविताहरुसम्म रहेका छन् उक्त कवितासङ्ग्रहमा। एकदमै सजिला शब्दहरुको प्रयोगले गर्दा कवि श्रेष्ठको कविता बुझ्न कुनै उमेरका पाठकहरुलाई कठिनाइ हुँदैन। सबै उमेरका कविताका पाठकहरुले सजिलैसँग कविताहरु बुझ्न र कविताको मर्म र गहनता बुझेर रमाउँन सक्छन्।

                        'प्रश्नपत्र जिन्दगीको' कवितासङ्ग्रहको पहिलो खण्डलाई 'मानिस तिम्रो धर्म के?' शीर्षक दिइएको छ। यस खण्डभित्रका कविताहरु प्रेम, राष्ट्रवादी विचार, प्रकृतिवादी, बिछोड, पीडा, वियोग, मान्छेको मानसिकता आदि इत्यादिलाई समावेश गरेर लेखिएका छन्। यसै कवितासङ्ग्रहको दोस्रो खण्डलाई 'जनबोली' शीर्षक दिइएको छ जसभित्रका कविताहरुमा देशभक्ति, सामाजिक यथार्थ, प्रेम, विदेशमा बस्दाको पीडा र मातृभूमिप्रतिको अग्घोर श्रद्धा र सम्मान, प्रकृति, कवि आफू बाँचेको परिवेश, सरकारप्रतिको निराशपन आदि आदि कुराहरु समेटिएका छन्। तेस्रो खण्डलाई 'टुँडिखेलमा निम्तो' शीर्षक दिइएको छ जसभित्रका कविताहरुमा प्रेम, प्रकृति, जीवन, मान्छेको मनोभावना, राष्ट्रप्रतिको आस्था र माया, राष्ट्रप्रतिको घोर चिन्ता आदि इत्यादि कुराहरु समेटिएका छन्। चौथो खण्डलाई 'सुलोचना' शीर्षक दिइएको छ जसभित्रका कविताहरुमा विद्रोह, राष्ट्रप्रतिको असीम माया, इतिहास, आशावादी भावना, प्रकृति, सहरमा भोगिएका पीडा, प्रेम, बिछोड, त्याग, शोषण, समाजले दिएको यातना आदि आदि कुराहरुलाई उल्लेख गरिएका छन्। पाँचौ खण्डलाई 'पाँचौ रङ' शीर्षक दिइएको छ जसभित्रका कविताहरुमा प्रेममा हुने उतारचढाव/सङ्घर्ष, प्रेममा समझदारी/सहकार्य, जीवनका उकाली ओराली, प्रेममा पाइएको धोका, मातृभूमिप्रतिको आत्मीयता, प्रकृति, आधुनिकीकरण आदि आदि इत्यादि कुराहरुलाई समावेश गरिएका छन्। अन्तिमा 'र, अर्को पृष्ठ' शीर्षक दिएर 'प्रश्नपत्र जिन्दगीको' शीर्षक कविता समावेश गरिएको छ जुन कवितामा प्रेम, सङ्घर्ष, सहमति, आशावादी विचार, जीवनका रमाइला-अप्ठ्यारा प्रश्नहरु आदि कुराहरु समेटिएका छन्। यसरी कवि थीरलोचन श्रेष्ठको कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' को संरचना भएको छ। समग्रमा देख्दा उनका कविताहरुमा प्रेमलाई राष्ट्र, समाज, प्रकृति, इतिहास, उतारचढाव आदिसँग तालमेल गरिएको पाइन्छ।

                        कवि थीरलोचन श्रेष्ठले 'ओ प्रियतमा!' शीर्षक कवितामा 'अर्गानिक' शब्दलाई एकभन्दा धेरै ठाउँमा प्रयोग गरेका छन् जसले कवितालाई सुन्दर बनाएको छ। कविले आफू स्वयम् कवि पो भइन्छ कि भन्दै यसरी कविता लेखेका छन्:

यही हो कविता
सुनाइदेऊ कान हुनेहरुलाई
पढ्न देऊ अक्षर चिन्नेलाई
देखाइदेऊ आँखा हुनेलाई
र, उसले भनेजस्तै गर्छु

र, लाग्छ
खै! कतै!
कवि पो भइन्छ कि?

 (खै कवि पो भइन्छ कि)

                  'खिल  पल्टेको देश मेरो' शीर्षक कवितामा कवि आफ्नो देशप्रति अति नै चिन्तित भएको र देशमा दिगो विकास र समृद्धि देख्न चाहेको आभास हुन्छ।

कविले देशको तीतो यथार्थलाई यसरी प्रस्तुत गरेका छन्:

यहाँ रातारात जन्मिन्छन् देश हाँक्ने पात्र
जहाँ झुन्डिन्छन् सच्चा देशभक्त।

(गोधूलि साँझ)

         कविले कविताको माध्यमले समाजको असली रुप प्रस्तुत गरेका छन्:

जब भाइ-भाइ लड्छन्
आपसमा गर्जन्छन्
छिमेकी दर्शक बटुल्छन्
अनि गानो दुख्छ सरकार।

(गानो दुख्छ सरकार)

                 कवि श्रेष्ठले आफू बाँचेको ठाउँको चित्राङ्न गर्दै 'चारकोसे झारी' लाई धेरै ठाउँमा उल्लेख गरेका छन्। यसबाट कविले आफू बाँचेको परिवेश र स्थलप्रतिको अपार मायालाई प्रस्तुत गरेका छन्। 'भेडेटारमा हुस्सु' शीर्षक कवितामा कविले आफैँलाई लेखेका छन्। आफ्नै ठाउँलाई उल्लेख गरेका छन्। धरान, पाथीभरा, तमोर, राजारानी, कोशी आदिको चित्राङ्क कविले यस कवितामा खुब सुन्दर काइदाले गरेका छन्। यसबाट कवि एक प्रकृतिप्रेमी पनि हुन् भन्ने कुरो सजिलै अनुमान गर्न सकिन्छ। कविले जिन्दगीलाई यसरी परिभाषित गरेका छन्:

जिन्दगी तिलस्मी रहेछ
जिन्दगी भुलभुलैया रहेछ
जिन्दगी जालो हो माकुराको
बाटो खोज्दा-खोज्दै
हाँस्छु, गाउँछु, नाँच्छु...भन्दा-भन्दै

जिन्दगी त इतिहास पो भैहाल्दो रहेछ।

(जिन्दगीको काइदा)

               कविले यसरी सरकारलाई समय दिएका छन्:

सरकार!
तिमी मर्दा मलामी चाहिन्छ भने
तिमीले बोलेका, गरेका कुकर्म जलाउन
दागबत्ती चाहिन्छ भने
अझै समय छ सरकार।

(मलामी)

               कवि श्रेष्ठले आफ्ना केही कवितामा 'भ्यागुते चिन्तन' शब्दको प्रयोग गरेका छन् जसले गर्दा कवितामा निखारपन झल्किन्छ। कविले चाँदनी, अधर आदिजस्ता शब्दहरु पनि धेरै ठाउँमा प्रयोग गरेका छन्। उनको कविता 'पत्रमित्रता' मा आधुनिकीकरणलाइ प्रस्तुत गरिएको छ। कविले युवाहरुको पीडालाई यसरी काब्यिक रुप दिएका छन्:

पूर्खाको भूमि
भूमि सिर्जने हलगोरु
राखेर धितो प्यारीको गहना
सन्तानको स्नेह, प्रेयसीको आँसु
सबै त्यागेर
चौरासी पुगेका बाको सपना
टिनको छानाले छाएको
एउटा सानो घर
मनमा बोकेर
बिरानो सडकमा भौँतारिरहेछु।

(देशको माटो)

                   कवि थीरलोचन श्रेष्ठको कवितासङ्ग्रहमा तुलसी दिवस, अभि सुवेदी, मनु मन्जिल र महेश पौड्यालले शुभकामना दिदैँ यसरी आफ्ना भनाइहरु राखेका छन्:
- सङ्ग्रहित उनका कविताहरु प्रेमका विविध रुप लिएर विस्तारित भएका देखिन्छन्। कतै अग्लिएर हिमालय भएका छन्। कतै गहिरिएर समुद्र। ( तुलसी दिवस)

- थीरलोचन श्रेष्ठका कविताहरुमा युवा चेतना र भावनाजनिन तरङ्गहरु भेटिन्छन्। (प्रा. डा. अभि सुवेदी)

- कुनै दार्शनिक प्रेमीजस्तो, कुनै रोमान्टिक विद्रोहीजस्तो बोल्छन् यिनी। (मनु मन्जिल)

- प्रेम, जीवन र यी दुई अनुभूतिसँगै गाँसिएर आउने हजार प्रश्नहरुको पुञ्ज हो उनको "प्रश्नपत्र जिन्दगीको।" (महेश पौड्याल)

             अन्तत: कवि थीरलोचन श्रेष्ठले आफ्नो पहिलो कवितासङ्ग्रह 'प्रश्नपत्र जिन्दगीको' लेखेर आफूलाई नेपाली साहित्यको एउटा हिस्सा बनाएका छन्। यो कवितासङ्ग्रहसँगै उनीमाथि अथाह जिम्मेवारीहरु आइपरेका छन्। उनका रचनाहरुमा नौलोपना देखापर्छ। उनको साहित्य यात्रा अझ सुमधुर होस्। सशक्त रहोस्। कविलाई धेरैधेरै शुभकामना।

Comments