पशुपति प्रसाद- एउटा अपुरो कथा
पशुपति प्रसाद- एउटा अपुरो कथा
-बिकेश कविन
नेपाली सिनेमा जगतमा थुप्रै चलचित्रहरु आए। धेरै चलचित्रहरु त नामको मात्र साबित भए। केही चलचित्रले भने आमदर्शकको अपार माया पाए। हुन पनि हो, हिन्दी र अङ्ग्रजी चलचित्रहरुभन्दा नेपाली चलचित्र कम देख्छन्, स्वयम् नेपाली दर्शकहरुनै। यो विषयमा थुप्रै कारण हुनसक्छन्, त्यतातिर म जादिनँ। कमै त्यस्ता नेपाली चलचित्रहरु छन् जसले आम नेपाली दर्शकहरूलाई आफूप्रति आकर्षित गरेको छ। त्योमध्ये एक हो, पशुपति प्रसाद।
'पशुपति प्रसाद' बाहिर
पशुपति प्रसाद 2016 सालमा आएको एक नेपाली सामाजिक कथानक चलचित्र हो। टुकी आर्टसले निर्माण गरेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशित गरेका छन्। खगेन्द्र लामिछानेको पटकथा रहेको यो चलचित्रको सम्पादन दिर्घा खड्काले गरेकी हुन् र छायाँकन भने निरज कडेँलले गरेका हुन्। कलाकारकारुपमा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुशिल पाण्डे आदि रहेका छन्। खगेन्द्र लामिछानेलाई यो चलचित्रमा मुख्य पात्रकोरुपमा देखाइएको छ जसको क्रियाकलाप, बोलिचालि, सकरात्मक भावना (चलचित्रमा) आदिले गर्दा आमदर्शकहरु रमाउँछन्।
'पशुपति प्रसाद' भित्र
पशुपति प्रसाद ( खगेन्द्र लामिछाने) को घर सिन्धुपालचोकमा हुन्छ। 2072 साल, वैशाखको भूकम्पमा परेर उनका बाबुआमाको मृत्यु हुन्छ। भूकम्प आउँदा उनी घरमा हुँदैनन्। काममा गएका हुन्छन्। तीन दिनपछि उनको बाबुआमाको शव निकालिन्छ। उनका बाबुआमाको साहुँसँग पचास हजारको ऋण तिर्नुपर्ने हुन्छ जुन् पछि उनको काँढमा आइपर्छ। उनी जसरी पनि पचास हजार कमाउने अनि साहुँको मुखमा पैसाको बिटो फ्याक्ने सङ्कल्प लिन्छन्। त्यसपछि मात्र आफ्ना बाबुआमाको अस्तु सेलाउने दृढ अठोट लिन्छन्। यसकोलागि उनी काठमाडौँ आइपुग्छन्। काठमाडौँ आएपछि उनी पशुपतिमा आफ्नो मितबा (प्रकाश घिमिरे) लाई भेट्न जान्छन्। मितबालाई भेट्दा उनले पशुपति प्रसादलाई नचिनेजस्तो गर्छन्। पशुपति प्रसादको नाम 'पशुपति प्रसाद खकुरेल' मितबाले नै राखिदिएको र पशुपति प्रसादको जन्म उनका बुबाआमाले पशुपतिमा आएर पूजाआजा गरेपछि मात्र भएको तथ्याङ्क भनेपछि मितबाले पशुपति प्रसादलाई अँगाल्छन् अनि आफूसँगै आफू बस्ने कोठामा लान्छन्। पशुपति प्रसादले आफू काठमाडौँ आउनुको पृष्ठभूमि सबै बेलिविस्तार गर्छन् उनको मितबालाई।
पशुपतितिर पशुपति प्रसादको भेट हनुमान जी (रविन्द्र सिंह बानियाँ) सँग हुन्छ। उनीहरु पछि एकदमै मिलनसार मित्र बन्छन्। पशुपतिको आर्यघाटतिर पशुपति प्रसादको भेट भष्मडन (विपिन कार्की) सँग पनि हुन्छ जसको भूमिका चलचित्रमा गुन्डाको रहेको छ। पशुपति प्रसाद बागमती नदीमा सिक्का अनि फुली र औँठीहरु खोज्दा भष्मडन र उनका साथीहरुले देख्छन् र पशुपति प्रसादलाई बेस्सरी पिट्छन् र अबदेखि कहिल्यै पनि आर्यघाट र बागमती नदीतिर देखानपर्नु भनेर भष्मडनले पशुपति प्रसादलाई भन्छन्।
यसैक्रममा पशुपति प्रसादको भेट वृद्धाश्रममा बस्नुहुने आमासँग हुन्छ जसलाई उनका अमेरिका बस्ने छोराले एक्लै छोडेको हुन्छ। पशुपति प्रसादले उनकोनिम्ति समोसा, बाथको औषधि आदि ल्याइदिन्छन् र आफ्नो पैसा पनि उनै आमालाई राख्न दिन्छन्। पशुपति प्रसाद ती आमालाई आफ्नै आमासरह सम्झन थाल्छन् र आमाले पनि पशुपति प्रसादलाई आफ्नै छोरोझैँ सम्झन्छिन्।
सुरुसरुमा पशुपति प्रसाद आफ्नै मितबासँग बस्छ थाल्छन्। उनका मितबा जड्याहा हुन्छन्। पछि पशुपति पसादको सबै पैसा रक्सी अनि आफ्नो बाँकी साहुँलाई तिरेर सबै पैसा सकाउछन्। पशुपति प्रसादलाई मितबाको यो क्रियाकलापले ठूलो चोट पर्छ। पशुपति प्रसादले पैसा जम्मा गरेर एउटा ठेलागाडा किन्ने अनि स्टल राख्ने ठूलो सपना बुनेका हुन्छन्। त्यो सपना मितबाले सिसा फुटेझैँ चकनाचुर पारिदिन्छन्। त्यसपछि पशुपति प्रसाद मितबालाई छाँडेर जान्छन् अनि जोगीहरुको चिहानमाथि बस्न र सुत्न थाल्छन्।
पशुपतिमा पशुपति प्रसादले बुनु (वर्षा शिवाकोटी) लाई देख्छन्। उनी बुनुलाई देख्ने बित्तिकै प्रेम गर्न थाल्छन्। बुनु पनि उनलाई देखेर मुस्कुराउछिन्। बुनुचाहिँ बोल्न नसक्ने हुन्छिन्।
पशुपतिमा पशुपति प्रसादको भेट म:म बेच्ने बि.ए पास व्यक्तिसँग हुन्छ। पछि उनीहरू खुब मिल्न थाल्छन्। पशुपति प्रसादले त्यो म:म बेच्ने व्यक्तिलाई एउटा ठेलागाडा मिलाइदिन भन्छन्। म:म बेच्ने व्यक्तिले उनलाई 'हुन्छ' भन्छन्।
पशुपतिमा पशुपति प्रसाद र भष्मडनको अक्सर भेट भइरहन्छ। भष्मडन उनलाई पटक्कै मन पराउँदैनन्। जतिबेला पनि उनलाई पिटेर खेदाउछन्। पशुपति प्रसादले बागमतीको जलेको दाउराहरु टिप्ने काम पाउँदा पनि भष्मडनले पशुपति प्रसादलाई गाँजा तयार पार्न लगाएर फसाउँछन्। पछि उनलाई साहुँले कामबाट निकालिदिन्छन्।
दाउरा टिप्ने कामबाट निकालिएपछि पशुपति प्रसाद हजुमान जीसँग सहयोग माग्न जान्छन्। हनुमान जीको कामचाहिँ पशुपतिमा आउने भक्तजनहरुसँग फोटो खिच्ने र तिनीहरुसँग पैसा लिने हुन्छ। हनुमान जीले पशुपति प्रसादलाई एउटा काममा लगाइदिन्छन्। काम हुन्छ, बजारमा गएर साडीहरु बेच्नुपर्ने।
साडीहरु बेचेर पशुपति प्रसादले राम्रो आम्दानी गर्न थाल्छन्। यसैक्रममा उनको भेट बुनुसँग भइरहन्छ। बुनु आफ्नो कलेजबाट फर्किदा उनी पशुपति प्रसादलाई देखेर मुस्कुराउछिन्। पशुपति प्रसादपनि बुनुलाई देखेर मुस्कुराउछन्। यसरी दुवैजना एकआपसलाई प्रेम गर्न थाल्छन्।
भष्मडनचाहिँ हनुमान जीसँग अति नै डराउँछन्। हनुमान जी हुँदा, भष्मडनले पशुपति प्रसादलाई केही पनि गर्दैनन्। भष्मडन हनुमान जीसँग किन डराउँछन्? यो कुरा चलचित्रमा खुलाइएको छैन।
पशुपति प्रसादको जसरी पनि एउटा ठेला किन्ने अनि म:म लगायत अरुपनि खानेकुराहरु बेचेर पैसा कमाउने अनि पचास हजार साहुँलाई तिरेर आफ्नो बुबाआमाको अस्तु सेलाउने सपना देख्छन्। यसको निम्ति उनी खुब मिहिनेत गरेर पैसा कमाउँन थाल्छन्।
पशुपति प्रसाद बागमतीमा सुनको औँठी भेटिए उनको जीवन सधैँको निम्ति आरामदायी हुनेछ भनेर परिकल्पना गर्छन्। अनि बागमतीमा सुनको औँठी खोज्न थाल्छन्।
एकदिन पशुपति प्रसादले आमालाई," तपाई किन आर्यघाटमा बस्न आउँनुभएको?" भनेर प्रश्न सोध्छन्। उत्तरमा आमाले भन्छिन्," बाबु। घाट नजिकै छ। पोल्न सजिलो हुन्छ भनेर म यतै आएकी।" यो संवादले कुनैपनि दर्शकको हृदय पगालिदिन सक्छ। यस्ता थुप्रै संवादहरु यस चलचित्रमा रहेका छन् जसले दर्शकलाई मनोरञ्जनको संसारमा पुर्याइदिन्छ।
'आमालाई दागबत्ती दिदाँ, तिनकै छोराहरुले नाकको फुली लुकाएको देखेका छन्, यिनै पापी आँखाले। थुइक्कँ मान्छेको बुद्धि।', 'सक्छस् भने दिल चोर, पैसा होइन।', 'विद्धान मान्छेहरु सधैँ गरिब हुन्छन्।', 'पैसा कमाउन हतियार चाहिन्छ र त्यो हतियार भनेकै आफ्नो काम हो।', 'मान्छेले मान्छे बेच्छन् यहाँ। तँ मरेको मान्छेको कपडाको कुरा गर्छस्।', 'आमाले कहीँ खान्छन्! बरु थपि पो दिन्छन्।', 'उफ्रिन नसक्नेले आकाशमा फुलेको गुलाबको फूल झार्ने कोशिस गर्नुहुन्न।', 'मनपरेको फूल सुके पनि रहिलो।', 'गाला जोडेर के गर्नु! छाला जोडिदैन।' आदि इत्यादि संवादहरुले यो चलचित्रलाई खुबै मनोरञ्जनात्मक बनाएका छन्।
चलचित्रको अन्त्यतिर पशुपति प्रसादले एउटा सुनको औँठी भेट्टाउछन् बागमतीमा। त्यसपछि उनी औँधी खुसी र उत्साहित हुन्छन्। उनी त्यो औँठी बेच्न भनी सुन पसलहरु चहार्छन्। तर कतैपनि राम्रो मूल्य पाउँदैनन्। अन्तिममा, एउटा सुन पसलमा छिर्छन् उनी। त्यो सुन पसले चिनेकै मान्छे हुन्छ। सुन पसलेले दश हजार दिन्छु भन्छ तर पशुपति प्रसाद मान्दैनन् र त्यो सुन पसलबाट बाहिर निस्किन्छन्। त्यसपछि त्यो सुन पसलेले ,'चोर। चोर। मेरो औँठी चोर्यो यसले।" भनेर पशुपति प्रसादलाई फसाइदिन्छन्। मान्छेहरुले उनलाई चोर सम्झिएर खुब पिट्छन्। अत्याधिक पिटाईको कारणले गर्दा उनको मृत्यु हुन्छ।
पशुपति प्रसादको मृत्यु भएको कुरा मितबा, हनुमान जी अनि भष्मडनलाई मात्र थाहा हुन्छ। भष्मडन पनि उनको मृत्युमा दु:खी हुन्छन्। आमा भने उनको पर्खाईमा हुन्छिन् ताकि आमाको सम्पूर्ण सम्पत्ति उनको नाममा लेखिजाओस्। उता भने, पशुपति प्रसाद र बुनु भेट्ने वाचा गरेका हुनाले बुनु आफ्नी साथीसँग आर्यघाट आइपुग्छिन्। पशुपति प्रसाद भेट्न आएनन् भनेर बुनु निराश हुन्छिन्। तर यता पशुपति प्रसाद भने आफ्नो मृत्युमा जलिरहेका हुन्छन् र बस् उनको जलिरहेको शरीरबाट निस्किएका धुवाँहरुले बुनुलाई भेट्छन्। तर पशुपति प्रसादले भेट्दैनन्। त्यसपछि बुनुले पशुपति प्रसादलाई धोकेबाज सम्झिन्छिन्।
अन्तत: हनुमान जी घुसपैठमा परेका अफिसर भएको, मितबाले पशुपतिका बुबाआमाको ऋण तिरिदिएको आदि कुरा प्रस्तुत गरिएको छ।
पशुपति प्रसादका ठेलामा राखेर व्यापार गर्ने, पचास हजार कमाएर साहुँको मुखमा पैसाको बिटो फ्याक्ने, एउटा ठूलो कोठा खोज्ने र त्यो कोठामा आमा र मितबासँगै बस्ने, बागमतीमा सुनको औँठी खोजेर राम्रो पैसा पाउने, बुबाआमाको अस्तु सेलाउने, आदि इत्यादि सपना, सपना नै रहयो। बरु उनी खरानी भएर गए। धेरै पर, जहाँ उनका बुबाआमा गइसकेका थिए धेरै पहिले नै।
अन्त्यमा
पशुपति प्रसाद एक सामाजिक कथानक चलचित्र भएकोले यसलाई धेरै दर्शकहरुले मनपराए। यस चलचित्रमा कैयौँ कमिकमजोरीहरु पनि रहेका छन्। समग्रमा, यस चलचित्रमा राम्रो भन्न सकिन्छ। यस चलचित्रले राम्रो सफलता पनि हात पार्यो। उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कलाकार साथै यस चलचित्रले राष्ट्रिय चलचित्र अवार्ड पनि हात पार्यो।
Comments
Post a Comment