कवि विप्लव ढकालका १५ (छाेटा) कविता

कवि विप्लव ढकालका १५ (छाेटा) कविता  

१)

नामहरू ! 


याे नदीकाे नाम 

अरुण नदी कसले राख्यो ? 


हरेक नदीका नामहरू छन् 

पहाडका नामहरू छन् 

खेत र बारीका नामहरू छन् 

रूखका, झारका, फूलका, 

चराका नामहरू छन् ! 


यी नामहरू कसले राख्याे ? 

सबै सबैका आफ्न‌ै नामहरू छन् 

तर यिनीहरूकाे नाम राख्ने 

त्याे अनाम मानिस काे थियोे ? 

जसको कतै नाम छैन !! 


२) 

सुरक्षा 


कलाकारहरू हामीलाई लेख्छन् 

र पुरस्कृत हुन्छन् ! 

हामी कविताका हेडलाइन 

सधैं सधैं तिरस्कृत हुन्छौं ! 

पर्यटक ! 

बरु लैजानुहाेस् हामीलाई 

र तपाईंको म्युजियममा राख्नुहाेस् ! 

सायद यहाँभन्दा 

हामी त्यहाँ सुरक्षित हुन्छौं !!


३) 

यमपुरी एक्सप्रेस !  


नाइट बसमा चढेको छु 

अँध्यारै अँध्यारो छ जताततै 

भत्किसकेकाे छ समयकाे सडक

अगाडि हेर्न हेडलाइट छैन

पछाडि हेर्न लुकिङ ग्लास छैन  

गाडीकाे ब्रेक फेल भइसके जस्तो छ ! 

राेइरहेछन् निरीह यात्रीहरू 

ड्राइभर अझै एक्सिलेटर दबाइरहेकाे छ 

स्पिड अझै बढाइरहेकाे छ ! 


याे भीरैभीर गाडी हाँकिरहेकाे 

राजनेता जस्तो ड्राइभर काे हाे ? 


४) 

रूखबाबा ! 


रूखलाई एक्लै छाडेर 

म हिँडेको थिएँ याे जङ्गलबाट ! 

धेरै वर्षपछि म फर्किँदा 

रूख त्यसरी नै उभिएको थियोे ! 


"अब तिम्रो सट्टामा 

म उभिन्छु याे जङ्गलमा, 

तिमी कतै घुमेर आऊ !" 

मैले रूखको आँसु पुछिदिँदै भनेँ ।


रूख अचानक मुस्कुरायाे र बाेल्याे- 

"छाेरा ! तिम्रो आगमनसँगै 

म आफ्नाे लक्ष्यकाे 

अन्तिम उचाइमा आइपुगेकाेे छु !!" 


५) 

ट्राफिक पुलिस


भीडैभीड छ चारैतिर 

दौडिरहेछन् मानिसहरू ! 

जीवनको सडक साँघुरो छ  

हतारमै बाँच्नु छ 

हतारमै मर्नु छ ! 

सबै जना दौडिरहेछन्  

कहीँ न कहीँ त 

पुग्नु छ उनीहरूलाई ! 

... 

तर ट्राफिक पुलिसलाई 

कहीँ पुग्नु छैन, 

त्यसैले ऊ 

बीच सडकमा उभिइरहेको छ ! 


६) 

नग्नता !


मलाई क्रसमा झुन्ड्याएर 

काेट बाहिर गएको छ ! 


केही क्षण पर्खिनुहाेस् 

आदरणीय जाडाेहरू ! 

कविता गरीब छ 

ऊसँग वस्त्र छैन !  

म जाडोसँग हाेइन, 

मेराे कविताको 

नग्नतासँग डराएको छु ! 


तर याे समुद्रजस्तो नग्नता 

मलाई अत्यन्त प्रिय लागेकाे छ !! 


७) 

आँसु 


तिम्रो देहावसानपछि 

तिमीले नै दान गरेका आँखाहरूले 

याे संसार हेरिरहेको छु ! 


तिम्रा आँखाहरूबाट 

हेरिरहेको छु- 

यी फूलहरू, पहाडहरू 

नदीहरू र वसन्तहरू ! 


तिम्रा आँखाहरूबाट 

हेरिरहेको छु- 

तिम्रै समाधिमाथि उडिरहेकाे 

नीलो धूवाँ ! 


र बगाइरहेकाे छु आँसु ! 

तर याे आँसुचाहिँ मेराे हाे !! 


८)

गँगटाकी आमा 


छाेराे बाङ्गाे हिँडेको देखेर 

चिन्तित छिन् 

गँगटाकी आमा ! 


उनले छाेरालाई 

हकार्दै भनिन्- 

बाबु ! 

अब त तँ ठूलाे भइस् 

राम्ररी हिँड्न जान्नुपर्छ 

साेझाे हिँड् साेझाे !


'कसरी हिँड्ने आमा ?' 

छाेराले प्रश्न गर्याे 


'यी यसरी हिँड्नुपर्छ'

आमाले हिँडेरै देखाइन् ! 


तर छाेरालाई 

साेझाे हिँड्न सिकाउने 

आमा पनि बाङ्गै हिँडिन् !


सायद संसारभरि नै 

सबै गुरुहरू 

बाङ्गाे हिँड्छन् !! 


९)

रेसमकिराे ! 


रेसमकिराे नाङ्गो छ 

अब उसलाई 

रेसममार्गकाे अधिपति भन्न मिल्दैन ! 


उसको यात्रा धागाेबाट सुरु हुन्छ 

र धागाेमै पुगेर टुङ्गिन्छ ! 

रेसमकिराे तान बुनिरहेकाे छ, 

समय जति नै लामो धागाेमा 

उसका नग्नताहरू 

ओहाेर दाेहाेर गर्छन् ! 


किम्बुकाे उदास रुखजस्तै 

रेसमकिराकाे 

सम्पूर्ण परिवार नाङ्गो छ !! 


१०)

गल्ती 


मुखुण्डो लगाएर आयाै 

मैले चिनिनँ 

आफन्तजस्तै लाग्यो 

र मनकाे ढाेका खाेलिदिएँ ! 


भित्र पस्याै 

र मुटुमै प्रहार गर्याै ! 

दुश्मनलाई समयमै चिन्न नसक्नु 

मेराे गल्ती थियाे । 


११)

साथी


उसका धेरै कमजोरीहरू छन् 

मेरा पनि छन् कमजोरीहरू  !


ऊ दिनभर मेरो विपना खोस्छ

म रातभर उसको सपना खोस्छु  !


त्यसैले ऊ मेरो साथी हो

म पनि उसको साथी हुँ  !


ऊ मलाई

कमजोरीसहित स्वीकार गर्छ

म पनि उसलाई

कमजोरीसहित स्वीकार गर्छु !


यदि तपाईंको पनि

कोही साथी छ भने 

कृपया उसलाई

कमजोरीसहित स्वीकार गर्नुहोस् !!


१२)

लाटाे लामखुट्टे !


गीत गाउँदै आएँ 

ताली पिट्दै मार्याै ! 


यसपटक पनि 

लामखुट्टेकै काेखमा 

जन्म लिएर आएकाे छु ! 


तिम्रो सपना चुस्दै 

बाँच्न चाहन्छु म ! 


त्यसैले यस पटक 

म लाटाे लामखुट्टे 

गीत नगाई आएकाे छु !!


१३)

पुतली भाउजु ! 


कस्मेटिक पसलकाे 

साेकेसभित्र मुस्कुराइरहेकी 

प्लास्टिककी पुतली भाउजुलाई 

भर्खरै सहर घुम्न आएकी 

जङ्गली फूलजस्ती 

गाउँकी पुतली भाउजुले साेधिन्- 

बहिनी ! 

तिम्रो नाम के हाे ??  


१४)

अन्तिम परीक्षाको प्रश्नपत्र 


तिमी र म 

एउटै कक्षाका साथी हौँ  

जीवनभर एउटै पुस्तक पढ्यौँ 

एउटै गुरुको प्रवचन सुन्यौँ   

एउटै स्कुलमा  

एउटै बेन्चमा बसेर    

हामीले जीवनभर एउटै पाठ घोक्यौँ

पाठको शीर्षक थियो— पैसा !! 


जीवनको अन्तिम परीक्षामा 

एउटै प्रश्न सोधियो हामीलाई 

तर उत्तरहरू 

फरक फरक लेखेछौँ हामीले !     


तिमीले लेख्यौ—

जीवन पैसाका लागि हो !

मैले लेखेँ— 

पैसा जीवनका लागि हो ! 

 

सायद हामीले सिकेका 

ज्ञानहरू फरक थिए,  

कि हामीले देखेका 

सत्यहरू गलत थिए ?  


परीक्षाफल प्रकाशित हुन बाँकी छ— 

को फेल हुने हो थाहा छैन !!


१५)

दाेभानमा भेट भएपछि


यहाँ पनि 

म जस्तै अर्को नदी रहेछ ! 


दाेभानमा भेट भएपछि 

दुई फरक बाटाेबाट आएका नदीहरू 

आफू जस्तै अर्को नदी देखेर छक्क परे ! 

दुवैको यात्रा उस्तै थियोे 

सङ्घर्षले भरिएको बाटाे उस्तै थियाे ! 

हृदयकाे सङ्गीत उस्तै थियो 

प्रेमको सपना उस्तै थियाे !


कसलाई जित्नु छ र अब ? 


दाेभानमा भेट भएपछि 

बाँकी यात्रा पूरा गर्न 

उनीहरू सँगसँगै मिलेर बग्न थाले !! 




Comments

Post a Comment