पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् : बिकेश कविन (पुस्तक-वार्ता)
पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् : बिकेश कविन
काव्यिक अभ्यासमा साधनारत सुनसरीको इटहरीमा बस्ने बिकेश कविन किताब पढिरहने व्यक्ति हुन्। उनको ‘साहित्यिक पाइलाहरू’ नामक फेसबुक ग्रुप पनि छ, जहाँ उनी बरोबर पठनसामग्रीहरू राखिरहेका हुन्छन् ।प्रस्तुत छ, भिजन न्यूज नेपालका राजु झल्लु प्रसादले तयार पारेका सामाग्री : बिकेश कविनसँग ‘किताबका कुरा’
‘रुटिन प्रश्न’ नभनियोस्, तर मलाई सोध्न मन लागेको छ । लेख्न/पढ्न के-कुराले प्रेरित गर्यो ? गर्दोरहेछ ? गरिरहेछ ?
सर्वप्रथम प्रश्नका निम्ति तपाईंलाई धन्यवाद ।
मैले अक्सर भन्ने गरेकाे कुरालाई फेरि दाेहाेर्याएर भन्नु पर्दा, पठन र लेखन दुवै कुरा मेरा निम्ति मेराे जीवनमा ‘संयाेग’ बनेर आइदियाे । यदि त्याे ‘संयाेग’ नजुरेकाे भए आज म साहित्यानुरागी त के साहित्य, पुस्तक र पठनबारे पूरै अनभिज्ञ मान्छे हुन्थे ।
म सानाे छँदा हाम्राे घर/परिवारमा अर्थात् मेराे जीवनमा एउटा ठूलाे घटना घट्याे, जुन घट्नाले मेराे जीवनलाई ३६० डिग्रीमै पूरै उलटपुलट पारिदियाे । जसपश्चात्, म पूरै एक्लिएँ । त्याे बेला मसँग असीमित संवेदनाहरू, आवेगहरू, उकुसमुसुकहरू, आँसुहरू र पीडाहरू थिएँ जुन म ‘कसैलाई’ सुनाउन चाहन्थे ताकि आफूलाई हलुका बनाउन सकूँ । आफ्ना ती कुराहरू भित्तालाई सुनाएँ, तर उसले मलाई कुनै प्रतिक्रिया दिएन । तिनै कुराहरू रातलाई सुनाएँ, ताराहरूलाई सुनाएँ, जूनलाई सुनाएँ, माैनतालाई सुनाएँ, तर कसैले पनि मेरा कुराहरू सुनेर प्रतिक्रिया दिएन ।
एकदिन मेराे भेट एउटा कापी र कलमसँग भयाे । त्याे भेट अरू बेलाकाे भन्दा बिलकुल फरक थियाे । त्याे बखत मैले आफैँलाई पूर्णत: पाेखिदिएँ/खसाइदिएँ- शब्दका रूपमा (भलै त्याे बेला मसँग लेखनसम्बन्धी कुनै ज्ञान थिएन) । अचम्म, मलाई त्याे बेला के लाग्याे भने, मैले लेखेकाे कविताजस्ताे ‘केही’ले मसँग कुरा गरिरहेकाे छ । ऊ मसँग बाेलिरहेकाे छ । मलाई अँगालाेमा बेरेर मातृस्नेह दिइरहेकाे छ । त्याे बेला लेखन मेरा निम्ति साथी बन्याे । हितैषी बन्याे । आमा बन्याे ।
यसरी पहिलाेपटक मेराे प्रस्थान भयाे- ‘लेखनकाे भूमिमा’ । अर्थात्, यसरी आऊफूलाई अभिव्यक्त गर्दा म स्वान्तसुखायकाे अवस्थामा हुन्थेँ । त्यसैले लेख्न नजाने पनि लेखिरहेँ । अर्थात्, मेरा शब्दरूपी साथीसँग डुलिरहेँ, कहिले कविताकाे देशमा त कहिले संस्मरणकाे देशमा । सुरुवाती चरणमा कलममा आँसु भरेर लेखेँ । पछि मात्र मसी भरेर लेख्न थालेकाे हुँ । बिस्तारै लेखनसँगै पठनकाे क्रम पनि सुरु भयाे । र, लेखन र पठन सँगसँगै हिँड्न थाल्याे मेराे मुटुकाे बाटाेमा । सुरुमा रमाउँनलाई मात्रै लेखेँ/पढेँ तर पछि त कथा नै बेग्लै भइगयाे !
यी माथिका कुराहरू आज नै मैले सर्वप्रथमत: सार्वजनिक गरिदिएँ । नत्र त यी कुराहरू अहिलेसम्म पनि मेरा कविता, कथा, संस्मरण आदिभित्र लुप्त/सुरक्षित छन् । जुन साहित्यिक सामग्रीहरूलाई आजसम्म मैले मेराे मुटुकाे काेठाबाट सार्वजनिक गरेकाे छैन । र, त्यसैमा म खुसी पनि छु ।
याे त भयाे, म कसरी पठन/लेखनकाे संसारमा आइपुगेँ भन्ने कुरा । अब संक्षिप्तमा बताउने प्रयास गर्नेछु, के कुराले लेख्न र पढ्न उत्प्रेरित गर्दाेरहेछ र गरिरहेकाे छ ।
अहिले वर्तमान अवस्था/भाेगाइ/अनुभवलाई केन्द्रमा राखेर भन्नुपर्दा, मलाई लेख्नलाई प्रेरणा पठनले दिन्छ । र, पढ्नलाई प्रेरणा लेखनले दिन्छ (लेख्न र पढ्नलाई प्रेरणा दिने अन्य अनेक कुराहरू पनि छन्) ।
आजभाेलि त बाँच्नका निम्ति लेखिरहेकाे छु । भलै मैले लेखेका शब्दहरू संसारकै कुरूप हाैऊन् । साथै, केही जान्न, शब्द भण्डार बढाउन, लेखन शैलीहरूसँग साक्षत्कार हुन, केही बुझ्न, केही साेच्न र आफूले लेख्नलाई पढ्ने गर्छु ।
‘पठनका बेला हामी हामीभित्रको हामीसँग हुन्छौं’, भन्नुभएको छ । त्यो भनेको ? साथै, तपाइँको लागि पठन के हो ? पुस्तक के हो ?
‘पठनका बेलामा हामी हामीभित्रकाे ‘हामी’सँग हुन्छाैँ’, कतै यसरी बाेलेकाे रहेछु । पुस्तक पठनका क्रममा हामीसँग पुस्तकका अतिरिक्ति वास्तवमा हाम्राे ‘हामी’नै उपस्थित हुँदाेरहेछ । पुस्तक पठनकाे अवस्था भन्नु ध्यानकाे अवस्था पनि हाे । र, ध्यानकाे अवस्था भन्नु नै हामी ‘हामी’सँग हुनु हाे । पठनका क्रममा हामी हामीभित्रकाे ‘हामी’सँग निरन्तर संवाद र बहसमा हुन्छाैँ । त्यहाँ भावना साटासाट गर्ने पुलकाे निर्माण गर्छाैँ । त्याे बेला भित्री ‘हामी’काे काेमल पाटाेलाई छुँदा हामी बाेल्छाैँ, आँसुको भाषामा । अनि, त्याे भित्री ‘हामी’काे विचारलाई हल्लाउँदा हामी बाेल्छाैँ, चिन्तन र मननकाे भाषामा । बाैद्धिक भाषामा ।
पढिरहँदा हाम्राे मन र मस्तिष्क विशेषत: सक्रिय हुन्छ । यसाे हेर्दा पठन त हामीभित्रकाे ‘हामी’ले नै गर्दाेरहेछ ।
मेरा निम्ति पठन आफ्नाे मन-मस्तिष्कभित्रका असीमित उकुसुमुकुस र भारीहरूलाई हलुका गर्ने माध्यम हाे । केही क्षण भए पनि रमाउने अर्थात् मनलाई शान्त पार्ने माध्यम हाे । र, मुख्यत : ज्ञान आर्जनकाे माध्यम हाे । धेरै कुराहरू सिक्ने माध्यम हाे ।
अनि, पुस्तक मेरा निम्ति मेरा सबैभन्दा नजिकका र मिल्ने अर्थात् घनिष्ठ साथीहरू हुन् । जीवनमा असंख्य साथीहरू भेटिए र केही समयमै छुटिगए पनि । तर, पुस्तकहरू उहिल्यै भेटिए पनि, आज पनि मसँगै छन् । मेराे मनकाे बागमा मसँगै डुलिबस्छन् । मसरि पुस्तकहरूले पनि मलाई माया गर्छन् । साँच्चि, पुस्तकहरू इमानदार मित्र हुँदारहेछन् । सदैव साथ दिने । तपाईंलाई अन्तर्हृदयबाट बुझ्ने । तपाईंका दु:ख-कष्टमा आफैँ पनि राेइदिने र तपाईंलाई सान्त्वना र प्रेम दिने ।
अनलाइन बिक्री र इ-बुकको आर्कषण बढीरहेको छ, तपाइँ चाहिँ पुस्तक नै किन्नु हुन्छ अरे! किन हो ?
हाे । म प्रिन्टेड पुस्तक नै किन्छु सकेसम्म । जुन ई-बुकहरूभन्दा महंगा हुन्छन् । यसका थुप्रै कारणहरू छन् । प्रमुख कारण त, हातमा पुस्तक नै बाेकेर पढ्नुकाे आनन्द सायद शब्दमा बयान गर्न कठीन हुन्छ । त्यसमाथि आफू काेरकार गरेर, हरेकजसाे पानालाई शब्दका रङहरूले रङ्ग्याउँदै पढ्ने गर्छु । जुन ई-बुकमा सम्भव छैन । अनि, म सधैँ याे सिसा/प्राविधिक/डिजिटल संसारबाट सकेसम्म आफूलाई दूर राख्न चाहन्छु । ताकि मानसिक रूपमै आफूलाई अलि स्वस्थ र सक्रिय बनाउँनसकूँ । मलाई लाग्छ, पुस्तककाे पनि जीवन हुन्छ । शरीर हुन्छ । सास हुन्छ । आत्मा हुन्छ । जुन कुरा म सिसामा पढ्दा अर्थात् ई-बुक पढ्दा पाउदिनँ ।
अनलाइन माध्यमबाट भने कहिलेकाहीँ पुस्तकहरू मगाउने गर्छु ।
तर, जसलाई जुन माध्यममा पढ्दा मज्जा आउँछ, उसले त्यही पढ्नु बेस ।
पुस्तक छनौटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मन परेका पुस्तक? तपाईंको ‘प्रिय पुस्तकहरू’को सूची शाश्वत एवं सनातन छन्? छन् भने ती कुन–कुन हुन्?
मेरा केही मन पर्ने अथवा भनाैँ रुचिका विधा र विषयहरू छन् । साहित्यिक विधाहरूमध्ये मेराे पहिलाे छनाेट सधैँ कविताकाे रहन्छ । त्यसपछि आख्यान । नाटक पनि प्रिय नै लाग्छ । पछिल्लाे समय निबन्ध र संस्मरणतिर पनि लाेभिएकाे छु । समग्रमा, म सबैजसाे विधा उत्तिकै रुचाउछु र पढ्छु । ऐतिहासिकलगायत अन्य विषयमा लेखिएका पुस्तकहरू पनि रुचाउन त रुचाउछु तर अरूभन्दा कम । वास्तवमा, शब्दलाई प्रेमी/प्रेमिका बनाएकाे मान्छेले बाटा-बाटामा टाँसिएका पाेस्टरहरू पनि मन पराउँदाेरहेछ । (हाहा.. )
विषयगत रूपमा भन्नुपर्दा मलाई मनाेविज्ञान, बाल मनाेविज्ञान, बालबालिकासँग सम्बन्धित विविध विषय, शिक्षा, समाज, संस्कृति, इतिहास, भाषा, संस्कृति, प्रकृति, प्रविधि, वातावरण, गाउँ-सहर, राेचक कुराहरू, ज्ञानवर्द्धक कुराहरूलगायतका अन्य थुप्रै विषयमा लेखिएका पुस्तकहरूप्रति रुचि लाग्छ । र, विशेषत: मेराे छनाेटमा त्यस्तै पुस्तकहरू पर्नेगर्छन् ।
मन परेका पुस्तकहरू त थुप्रै छन् । तर, मैले सधैँ मेराे मुटुमै राख्ने दुई पुस्तक हन्, विजय मल्लका नाट्यकृति ‘काेही किन बदबाद हाेस्’ र ‘जिउँदाे लास’ । लीलबहादुर क्षेत्रीकाे उपन्यास ‘बसाइँ’ पनि मेराे प्रिय हाे । कवितासङ्ग्रहहरूमध्ये एक नम्बरमा भूपी शेरचनकाे ‘घुम्ने मेचमाथि अन्धाे मान्छे’लाई राखे पनि मलाई वासु शशीका कविताहरू पनि उत्तिकै प्रिय लाग्छ । केही समयअघि ‘करिया’ पढेकाे थिएँ, कृष्ण अविरलकाे ऐतिहासिक उपन्यास । त्याे पनि निकै मन परेकाे थियाे । राेचक घिमिरेकाे संस्मरणहरूकाे सँगालाे ‘सम्झनामा फक्रिएका थुँगाहरू’ पनि पठनीय छ ।
म विशेषत: मलाई रुचि लाग्ने विषय र मन पर्ने विधाका पुस्तकहरू पढ्ने हुनाले मलाई मन परेका पुस्तकहरू अरूलाई पनि मन पर्छ भन्ने छैन । म कुनै पनि कृति त्यत्तिकै मन पराउँदिनँ । जब कुनै किताबले मलाई अलि केही ‘विशेष’ खुराक दिन्छ, तब मात्र म त्याे पुस्तक मन पराउँछु ।
तपाईं प्राय पुगिरहने पुस्तक पसल र पुस्तकालय? तपाईंसँग कति पुस्तकहरू होलान्?
म आजसम्म जतिपटक मन्दिर पुगेकाे छैन, त्याेभन्दा कैयाैँगुणा धेरैपटक पुस्तक पसलहरूमा पुगेकाे छु । अर्थात्, पुस्तक पसलहरू मेरा निम्ति मन्दिरसरह हुन् जहाँ पुस्तकरूपी भगवान् बस्छन् । म जहाँ जुनसुकै ठाउँमा पुगे पनि, मेरा आँखाहरूकाे पहिलाे खाेजी भनेकै पुस्तक पसलहरू हुन्छन् ।
इटहरीमा म पुगिरहने पुस्तक पसलहरू सुनवर्षी बुक हाउ, सप्तकाेशी पुस्तक पसल, साेनी बुक्स आदि हुन् । विराटनगर र धरानका साझा प्रकाशनका बुक स्टल, धरानकाे मैनाली पुस्तक पसल, विराटनगरकाे सम्पूर्ण बुक्सलगायतका पुस्तक पसलहरूमा गइरहेकै हुन्छु । चितवनकाे सम्पूर्ण बुक्स, नारायणगढसँगकाे सम्बन्ध अप्रत्यक्ष भए तापनि पुरानाे, विशेष र प्रियकर छ मेरा निम्ति ।
पुस्तक पढ्दा केरमेट पनि गर्नुहुन्छ कि? पाना दोबार्ने, हाइलाइट गर्ने केही ?
पढ्दा काेरकार गर्नु नै मेरा निम्ति पढ्नु हाे । त्यस्ता काेरकार, केरमेटहरू नै पुस्तककाे साैन्दर्यमाथिकाे अझ अर्काे साैन्दर्यकाे इन्द्रेणी हाे जस्ताे लाग्छ मलाई । पढ्ने बेलामा मेराे हातमा सिसाकलम अनिर्वाय हुनैपर्छ । तर, कलमले काेरेकाे मलाई मनपर्दैन । पाना दाेबार्ने, हाइलाइट आदिजस्ता क्रिया पनि गर्नेगर्छु । पुस्तकलाई हानि नहुने जे पनि कुरा गर्छु म ।
नेपालमा पठन संस्कृतिका लागि भएका प्रयासहरूसँग सन्तुष्ट हुनुहुन्छ? पठन संस्कृति विकसित गर्न के गर्नुपर्ला? पुस्तकबारे भइरहेका बहस एवं महोत्सवहरूबारे तपाईंलाई बोल्ने मुड छ?
पठन संस्कृतिकाे कुरा गर्दा, प्रविधि र सामाजिक सञ्जालकाे आगमनसँगै दिन प्रतिदिन पठन संस्कृति बढिरहेकाे नै छ । अझ शिक्षाकाे पहुँच बढिरहेका कारणले पनि केही हदसम्म पठन संस्कृतिकाे निर्माण, विकास र विस्तार भइरहेकाे छ । अहिलेकाे वर्तमान परिदृश्य हेर्ने हाे भने, मलाई के लाग्छ भने- साहित्य, पुस्तक, र पठनसँग सम्बन्धित फेसबुक ग्रुप जस्ताे कि ‘बुकाहाेलिक्स’, ‘साहित्यिक पाइलाहरू’, ‘कथा’, ‘कविताहरू’ आदिलगायत अन्य थुप्रै साहित्यिक ग्रुपहरूले ठूलै संख्यामा पाठकहरूलाई आकर्षित गरिरहेकाे छ, जसका कारणले पढ्ने र पढाउने क्रम अर्थात् पठन संस्कृतिकाे निर्माण र प्रवर्द्धन राेमाञ्चक तरिकाबाट भइरहेकाे छ । युवा र प्राैढहरू मात्र हाेइन, बच्चाहरू पनि पठनकाे बाटाेमा हिँडिरहेका देखिन्छन् । जुन सुन्दर र प्रशंसनीय पाटाे नै हाे ।
‘पठन संस्कृति’लाई हामीले एउटा ‘ठूलाे हात्ती’ नै सम्झन्छाैँ । याे त्यति ठूलाे र जटिल कुरा हाेइन । सामान्य कुरा हाे । हरेक घरका हरेक सदस्यले दैनिकरूपमा अलिकति पढिदिए पनि पठन संस्कृति ह्वात्तै बढ्छ । घरका ठूलालाई पढेकाे देखे भने बच्चाहरूलाई तपाईंले जबरजस्ती ‘पुस्तक पढ् !’ पनि भन्नुपर्दैन । यसरी एउटा परिवारबाट समाज र समाजबाट सिङ्गाे देशमै पठन संस्कृतिकाे निर्माण र विस्तार गर्न सकिन्छ । समय-समयमा साहित्यिक कार्यक्रमहरू गरेर, पुस्तक छलफललगायतका कार्यक्रमहरू गरेर पनि पठन संस्कृतिलाई विकसित गरेर बढाउन सकिन्छ । तर, सर्वप्रथमत: एउटा घरकाे एउटा मान्छेले चाहिँ पढ्नुपर्याे । तर विडम्बना, यहाँ त कैयाैँ सिङ्गाे समाज नै छ जहाँका एकजना पनि पढ्दैनन् । सायद यसमा दाेष नपढ्नेकाे भन्दा पनि पढ्नेहरूकै छ कि ! किनकि पढेकाहरू त्यहाँसम्म पुगेर पढ्ने वातावरणकाे निर्माण गदिदिनुपर्छ । तर, सबैभन्दा ठूलाे दाेषीचाहिँ याे सरकार नै हाे जसले पठन र पठन संस्कृतिका लागि केही पनि कदापि गर्दैन । वास्तवमा, याे सरकारले (छुद्र/दरिद्र) राजनीतिबाहेक अरू के नै जानेकाे छ र आजसम्म !
तर, सकिन्छ । शनै: शनै: ।
साहित्य, पुस्तक र पठन संस्कृतिलाई केन्द्रमा राखेर गरिने मेचीदेखि महाकालीसम्मका जस्ताेसुकै साहित्यिक महाेत्सव/मेला/जात्राहरूकाे पनि खुला हृदयले प्रशंसा गर्छु । कमसेकम त्यस्ता कार्यक्रम र महाेत्सवहरूले गर्दा हरेक गाउँ, हरेक कुनामा दुई-चारजना हुँदै पाठकहरू त बढिरहेका छन् । आशा गराैँ, एक दिन पूरै देशले नै पढ्नेछ । एक जुगमा एक दिन जरुर आउनेछ ।
संसारभिर नै पुस्तकको गुणस्तर मापनको एउटा प्रमुख आधार समीक्षालाई मानिन्छ। तर हामीकहाँ एउटै कृतिका थरीथरीका समीक्षा आइराखेका हुन्छन्, तपाईं समिक्षामा कत्तिको विश्वास राख्नुहुन्छ?
हुन त आफैँ पनि कुनै समय निरन्तर पुस्तक समीक्षा लेखियाे । केही वर्षसम्म । पक्कै पनि, पुस्तक समीक्षाले कुनै पुस्तकबारे यथेष्ट ज्ञान दिन्छ नै । तर, हाम्रा समीक्षाहरू हेर्ने हाे भने, धेरैजसाे समीक्षा पाठक र पठनलाई नै निरुत्साहित पार्ने देखिन्छ । एउटा समीक्षाकै कारणले कसैले एउटा पुस्तक पढ्दैन । र, एउटा पुस्तक नपढेकै कारणले कसैले पढ्न नै छाडिदिन्छ सधैँका निम्ति । याे दृष्टान्तमा मनाेविज्ञानमा पार्ने पठनप्रतिकाे प्रतिकूल प्रभावबारे बुझ्न सकिन्छ । यदि समीक्षाले यस्ताे अवस्था निम्त्याउँछ भने यस्ता समीक्षाकाे कुनै अर्थ छैन ।
केही समयअघि एउटा पुस्तकमाथि एकजना समालाेचकले संक्षिप्त टिप्पणी गरे, निकै आलाेचनात्मक रूपमा । त्यै टिप्पणीका कारणले धेरै पाठकले ‘अब म पनि याे पुस्तक पढ्दिनँ’ भनिरहेका थिए । तर, त्याे आलाेचनात्मक टिप्पणीमाथि पनि कैयाैँ आलाेचनात्मक र समालाेचनात्मक प्रतिटिप्पणीहरू थिए, जुन प्रतिटिप्पणीले समालाेचकलाई भनिरहेका थिए, ‘हे समालाेचक ! तिम्राे अालाेचनात्मक टिप्पणी नै साँघुराे भयाे । सम्पूर्णतालाई नै हेरेर तिमीले आलाेचना गर्नुपर्ने तर तिमी त अाफ्नाे एउटा भावनालाई आधार मान्दै आलाेचना गरिरहेका छाैँ ।’ यसरी आजकाे पुस्तक समीक्षा र समालाेचनाकाे सिनारियाे मज्जैले हेर्न र बुझ्न सकिन्छ । तर, सही तरिकाले वस्तुनिष्ठ भएर सन्तुलित रूपमा समीक्षा गर्नेहरू पनि छन् । जसले लेखक र पाठकहरूलाई सिकाउँछन् । र, सबैभन्दा बढी त आफैँ सिक्छन् ।
पुस्तक उपहार दिने प्रचलन फस्टाउँदै छ आजभोलि, तपाईंले उपहारमा पाउनुभएको पुस्तकहरू? सँगै अर्को प्रश्न पनि, किताब, फिल्म, संगीत र घुमफिरमध्ये कुन कुराको संगत प्रिय लाग्छ तपाईंलाई?
पाएकाे छु केही पुस्तकहरू, उपहारमा । र, दिने पनि गर्छु । मैले अरूलाई उपहार दिँदा ‘पुस्तक’बाहेक अरू केही कुरा मेराे मनमै आउँदैन ।
धेरैकाे बुझाइ के छ भने, पढ्नु भनेकाे केवल पुस्तक पढ्नु मात्र हाे । तर, यस्ताे हाेइन । जुनसुकै कुरा गरिरहँदा पनि मेराे केन्द्रमा पठन र लेखन नै हुन्छ चाहे घुम्दा, गीत सुन्दा वा काम गर्दा । म जति पुस्तक रुचाउँछु, उतिकै घुम्न पनि रुचाउँछु, उतिकै गीत सुन्न, पुराना कुराहरू खाेतल्न, विशेषत: पुराना र दुर्लभ तस्बिरहरू खाेज्न र सङ्कलन गर्न, फिल्म हेर्न आदि ।
वास्तवमा घुम्नु पनि एक किसिमकाे पठन नै हाे । र, फिल्म हर्नु, गीत/संगीत सुन्नु पनि । र, पुस्तक पढ्ने मान्छेले अन्य थुप्रै किसिमका पठन पनि गर्नुपर्छ । घुम्दा प्रकृति बुझिन्छ । समाज बुझिन्छ । संस्कृति, भूगाेल, इतिहास आदि बुझिन्छ । संगीतले निजलाई नै बुझ्न सिकाउँछ । फिल्मले विविध विषयबारे ज्ञान दिन्छ । फरक काेणबाट साेच्न/बुझ्न सिकाउँछ । र, सबैभन्दा प्रमुख कुरा, यी सबै कुराहरूले लेख्नलाई असीमित सामग्रीहरू उपलब्ध गराइदिन्छ । जसका कारणले हामीले लेख्दा, हाम्राे लेखनमा केही नुतनता आउँछ । माैलिकता अाउँछ । लेखकीय साैन्दर्य आउँछ । विशिष्टता आउँछ ।
त्यसैले पुस्तक पढाैँ । घुमाैँ । गीत सुनाैँ । पर्यटन/यात्रा गराैँ । साेचाैँ ।
सानो छँदा कस्ता किताबहरू भेटिन्थे ? कस्ता किताबहरू पढिए?
हाम्राे घरमा कुनै किसिमका पुस्तकहरू थिएनन् हामीले सानाेछँदा पढ्न मिल्नलाई । बुबाले पढ्ने रामायणबाहेक । बुबाले रामायण पढेर सुनाउनुहुन्थ्याे र त्यसकाे कथालाई सुन्दर तरिकाले हामीलाई सुनाउनुहुन्थ्याे । सायद, पढ्नुपर्छ भन्ने सानाेतिनाे साेचकाे बीज मेराे बाल मस्तिष्ककाे काेमल माटाेमा यसैले राेपिदियाे । एक दिन खाेज्दै जाँदा, संयाेगवश एउटा पुस्तक पसल भेटियाे इटहरी चाेकमा ‘नुतन पुस्तक पसल’ (जुन अहिले छैन) । जहाँका बालसाहित्यका पुस्तकहरू पढेर नै मैले पठनकाे सुरुवात गरे । वास्तवमा, पढन थालेपछि बिस्तारै अरू-अरू कुराहरू पनि पढ्न थालिहाल्दा रहेछाैँ हामी । यस्तै भयाे मसँग पनि । ‘साहित्य, पठन, पठन संस्कृति’ आदिजस्ता शब्दहरू त निकै-निकैपछि मात्र सुनियाे र जानियाे । किनकि, म बसेकाे समाज मेराे परिवारजस्तै थियाे, कहिल्यै नपढ्ने । र, अहिले पनि उही हालत छ । हाम्राे मात्र हाेइन, सबैजसाे समाजकाे । पैसा र पुँजिवादकाे भुमरीमा फसेर काेही पनि पढ्न चाहँदैनन् । कसैसँग पनि पुस्तकका निम्ति समय छैन । बस् कमाउन चाहन्छन् । बस्…….!
‘साहित्यिक पाइलाहरू’ का लागि तपाईंलाई धन्यवाद । तर, यसै ग्रुपका कारण कविनलाई पोखरा पुर्याइयो भन्नेहरू पनि भेटिए । के भन्नुहुन्छ ?
वास्तवमा पुस्तक, पठन र लेखनप्रति रुचि हुने मान्छेलाई साहित्यकाे महाेत्सवप्रति रुचि नहुने कुरै हुँदैन । दशैँ-तिहारतिर हाम्राेतिर ठूला मेला-महाेत्सवहरू हुन्छन् जहाँ राेटे पिङ, ब्रेक डान्स, ड्रागनलगायत हुन्छन् । जहाँ रमाइलाे गर्न थुप्रै मानिसहरू जानेगर्छन् । तर, त्यस्ता मेलाहरूले मलाई कदापि तानेनन् । मलाई केवल पुस्तक र पुस्तकका कुराले ताने । पठन र साहित्यसँग सम्बन्धित वैचारिक कुराहरूले ताने । पाेखरा अर्थात् पाेखरामा भएकाे नेपाल साहित्य महाेत्सव पुग्नुपूर्व म आफ्नै मनले कैयाैँ साहित्यिक महाेत्सवहरूमा पुगिसकेकाे थिएँ । जस्ताे कि काँकडभिट्टामा हुने ‘कला साहित्य महाेत्सव’, इटहरीमै भएकाे ‘समता साहित्य महाेत्सव’, धरानमा भएकाे ‘अन्तर्राष्ट्रिय साहित्य, सांस्कृतिक एवं पर्यटन महाेत्सव’ आदि इत्यादिमा । यी सबै कार्यक्रममा मलाई मेराे असीम रहरले पुर्याएकाे हाे । कसैले बाेलाएर गएकाे हाेइन ।
भनिन्छ, सपना देखिरहनुपर्छ; एकदिन त्याे अवश्य पूरा हुन्छ । नेपालकै सबैभन्दा ठूलाे र भव्यरूपमा हुने नेपाल साहित्य महाेत्सवलाई एउटा साहित्यानुरागी भएकाे कारणले निकै वर्षदेखि पछ्याइरहेकै थिए । माेबाइलमै सबैजसाे कार्यक्रम/सेसनहरू हेर्थेँ । प्रतिक्रिया दिइरहन्थे । वास्तवमा, म यता घरमा हुन्थेँ तर मेराे मन भने उतै पाेखराकाे नेपाल साहित्य महाेत्सवमा हुन्थ्याे ।
र, एकदिन मेराे सपना पूरा भएछ । संयागवश, मेराे मनसँगै मेराे तन पनि नेपाल साहित्य महाेत्सवमा पुगेछ, त्याे कार्यक्रमकाे एउटा सानाे हिस्सा भएर । वास्तवमा, हाम्राे सेसन ‘पढ्ने र पढाउने हुटहुटी’का निम्ति जसले मलाई छनाेट गर्नुभयाे, उहाँलाई ‘साहित्यिक पाइलाहरू’बारे केही पनि थाहा रहेनछ । पछि मात्र उहाँलाई ‘साहित्यिक पाइलाहरू’बारे थाहा भयाे । जीवन आफैँमा संयाेग जै संयाेग भरिएकाे डाेकाे हाे । र, उक्त घटना पनि मेरा निम्ति ‘संयाेग’ नै बनेर आइदियाे किनकि केही सर्तहरूभित्र म अचम्म तरिकाले अटाएँछु ।
तर, यदि ‘साहित्यिक पाइलाहरू’कै कारणले मलाई कसैले कहीँ निम्त्याउँछ भने, म झनै खुसी हुनेछ । यसमा दु:ख मान्ने कुनै कुरै देख्दिनँ म । किनकि ‘साहित्यिक पाइलाहरू’लाई मैले मेराे आत्माकाे रङले पाेतेकाे छु । अब त याे मेराे जीवनकै एउटा हिस्सा भइसक्याे । आफ्नै अङ्ग/हिस्सालाई मैले किन प्रेम नगर्ने ! दुई-चारजना पाठकहरूबाट सुरु भएकाे ग्रपमा अहिले आठ-दस हजार सक्रिय पाठकहरू हुनु र हजाराैँ साहित्यिक, पुस्तक, समाज, विचार आदि विशेष सामग्रीहरू, लेखहरू सम्प्रेषण र सङ्गृहीत हुनु हाम्रा निम्ति गाैरवकाे कुरा हाे ।
‘लेखकले सामाजिक मुद्दा उठाउनै पर्छन्’ भन्छन् क्यार! तपाईंको त्यो प्रयास रहन्छ? या यसरी सोधौं, एउटा लेखकको कर्तव्य, जिम्मेवारी एवं दायित्व के-के हुन्?
समाजमा बस्ने लेखकले लेख्ने भनेकै समाजका कुराहरू हुन् । सामाजिक मुद्दाहरू हुन् । यहीँका यावत् कुराहरू हुन् । मेराे लेखनमै पनि यी कुराहरूकाे विशेष रूपमा प्रवेश हुन्छ नै । तर, समस्या यहाँ नि छ कि- ‘सामाजिक मुद्दा’ हामी कुन-कुन कुराहरूलाई मानिरहेका छाैँ ? केवल मसाल, टायर, आगाे सामाजिक मुद्दा हाे ? केवल राजनीति सामाजिक मुद्दा हाे ? केवल अर्थविनाकाे र विचारविहीन हाेहल्ला सामाजिक मुद्दा हाे ? पर्यावरणचाहिँ सामाजिक मुद्दा हाेइन ? मनाेविज्ञानचाहिँ सामाजिक मुद्दाभित्र पर्दैन ? प्रविधिले अवसरसँगै निम्याएकाे सङ्कटचाहिँ सामाजिक मुद्दा हाेइन ? बालबालिका र किशाेरकिशाेरी साथै युवाहरूसँग सम्बन्धित कुराहरू सामाजिक मुद्दाभित्र पर्दैन ? वास्तवमा, सामाजिक मुद्दालाई राम्ररी बुझेर, अध्ययन गरेर हामीले यी यावत् कुराहरूलाई व्यवस्थित र सन्तुलित रूपमा निरन्तर लेख्नुपर्छ । र, मलाई लाग्छ, एउटा लेखककाे दायित्व पनि यही हाे । कमसेकम लेखक नेताजस्ताे नहाेस्, सङ्कुचीत र बेइमान । साभार : भिजन न्युज नेपाल



Comments
Post a Comment