गोकर्णेश्वर एक्सप्रेस

गोकर्णेश्वर एक्सप्रेस
-बिकेश कविन
     

  
            उसलाई देख्नेबित्तिकै म ऊप्रति आकर्षित भएँ । प्रेमचाहिँ गर्न थालेँ भन्न खोजेको होइन । उसलाई मैले प्रेम गरिनँ । बस् आकर्षित भएँ ।  एउटी राम्री केटीलाई देखेर एउटा युवाको मन पग्लिनु स्वाभाविक नै हो । मलाई लाग्छ, यदि मेरो ठाउँमा अरु कोहीँ युवा भएको भए पनि त्यो युवाले पनि उसलाई देखेर उसलाई आफ्नो प्रेमिल मनमा सजाउँथ्यो । त्यो युवा पनि म जसरी नै आकर्षित हुन्थ्यो होला, उसलाई देखेर । सायद त्यो युवाले प्रेम पनि गर्न थाल्थ्यो होला ।

       ऊ होटेल चलाउछे। उसले चलाउने होटेल गोकर्णेश्वर-५, जोरपाटीमा छ । म आफ्नो मामासँग त्यो होटेलमा पुगेको थिएँ । मामा विवाहित हुनुहुन्छ र काठमाडौंमै व्यवसाय गर्नुहुन्छ । अझ भनौँ, जोरपाटीमा मामाको लुगाकपडाको पसल छ ।

        मामा सधैँजसो बेलुकाको समयमा त्यो होटेलमा नास्ताखाजा खान जानुहुँदोरहेछ। मचाहिँ पहिलोपटक त्यो होटेलमा पुगेको थिएँ, मामासँगै । सुरु दिन त्यो होटेलमा पुग्दा, म र मामा त्यो होटेलको अगाडिकै बेन्चमा बस्यौँ । केही समय त हामी दुवैजना मौन थियौँ तर यो मौन केही समयमा नै मामाले भत्काइदिनुभयो ।

मामाले एकजनालाई बोलाउनुभयो । मामाले  बोलाउनुभएको मान्छे ऊ नै थिई । मैले उसलाई हेरेकोहेर्यै भएँ । सुरु दिन उसलाई देख्दाँ त , मैले उसलाई केही सोधिनँ । तर मेरा आँखाहरुलाई ऊसँग बात मार्न औधी कौतुहलता लागिरहेको थियो । बात त मैले ऊसँग मारिनँ बस् उसका क्रियाकलापहरु देखिरहेँ ।

                 अर्को दिन फेरि उसलाई मैले त्यै होटेलमा देखेँ। सबैले उसलाई 'लक्ष्मी' भनेर बोलाउँदै थिए। योसँगै मैले उसको नाम थाहा पाए-'लक्ष्मी'। कसैले,"लक्ष्मी, एक गिलास रक्सी देऊ त।" भनिरहेका थिए भने कसैले,"लक्ष्मी, माछा/मासु देऊ त। यो देऊ त। त्यो देऊ त।" भनिरहेका थिए। सबैको जिब्रोमा बस् लक्ष्मी। लक्ष्मी अनि लक्ष्मी मात्र।

                   ऊ एक्लैले पूरै होटेल सम्हालेकी थिई। पकाउनेदेखि लिएर ग्राहकहरुलाई दिने अनि जुठा भाडाप्लेटहरु माझ्ने सबैसबै आफैँ गर्थी। त्यो काम त उसको रहर नभएर बाध्यता पो रहेछ भन्ने कुरो पछि मलाई थाहा भयो।

                 ऊ सानीछँदै उसको आमा बित्नुभएको रे। खुब सङ्घर्ष गरेकी रे। गाउँतिरै कक्षा-सातसम्म पढेकी उसले। पछि घरमा अप्ठ्यारो हुन थालेको कारणले र घरपरिवारले दिएको यातनाले गर्दा, उसले आफ्नो पढाइ त्यै त्यागी। त्यसपछि ऊ काठमाडौं आइपुगी। काठमाडौंमा विविध ठक्कर अनि सङ्घर्ष गरी। पछि होटेलमा काम गर्न थाली। मैलै उसलाई भेटेको होटेल त्यै होटेल हो जसले उसलाई काम दियो।

                                ऊ एकदमै कम बोल्छे। तर ग्राहकहरूले केही कुरा माग्दा, नम्रतापूर्वक बोलेर दिन्छे। ऊ एकदमै राम्री छे। सामान्य लुगा लगाउछे। बजारमा बसेर पनि बजारका केटीहरुले लगाउने लुगा ऊ लगाउदिन। सायद, उसलाई सङ्घर्षले सिकाएको हो सबैथोक। ऊ एकदमै गोरी छे।  उसको नाम मात्र थाहा छ मलाई। उसको थरचाहिँ थाहा छैन। मैले उसको नाम र थर पनि कहिल्यै सोधिनँ। बरु कुनैकुनै बेला उसको घरपरिवारको बारेमा सोध्थेँ। ऊ हाँसीहाँसी सबैकुरा बताउथी। ऊ काम गर्ने होटेलमा धेरै भीड हुनेभएकोले उसँग राम्ररी बोल्नै पाइदैन थियो।

                       म उसको होटेलमा पुग्दा उसलाई नै बस् देखिरहन्थेँ। उसको आँखा मलाई खुबै निर्दोष र मायालु लाग्थेँ। ऊ सबैजनाको प्यारी पनि थिइ। सबै ग्राहकहरुलाई उसले खुवाउने भएकोले पनि हुनसक्छ।

                         उसको उमेर धेरै छैन। कलिलै छे। भर्खर कोपिला छे। लगभग उसको उमेर 15-16 वर्षको हुनुपर्छ।तर कामचाहिँ सबै गर्छे आफैँ। सबैकुरा आफैँ पकाउछे होटेलमा। उसको साहुनी होटेलको अगाडितिर बसिराख्छे। ऊ आफ्नी साहुनीलाई 'आमा' भनेर बोलाउँछे। मैले धेरैपटक उसले 'साहुनी' भनेर बोलाएको पनि सुनेँ। तर ती साहुनीले उसलाई छोरी भनेकोचाहिँ कुनैबेला पनि सुनिनँ। ती साहुनीको कामचाहिँ केवल होटेलमा आउने र खानेहरुसँग पैसा लिएर गल्लातिर राख्ने थियो। होटेलमा आएर खानेहरुको हिसाबकिताब पनि ऊ नै मिलाउथी। साहुनी बस् पैसा गन्थी अनि गल्लातिर राख्थी।

                                 उसको र मेरो भेट सधैँ राती 8-9 बजेतिर नै हुन्थ्यो। म उसको होटेलमा पस्नेबित्तिकै म सुरुमा उसलाई नै खोज्थेँ । अनि देखिबस्थेँ। उसको मिहिनेत र लगाव नियालिराख्थेँ। ग्राहक कम हुँदा, ऊ टिभीमा सिरियल देख्थी। टिभी पनि होटेलमै छ। ग्राहकहरुले अर्कै च्यानल लगाउन भन्दा पनि ऊ लगाउदिनथिई। बस् सिरियल देख्थी। भन्नुपर्दा, ऊ पनि धेरै केटी/महिलाहरुजस्तै सिरियल एडिक्ट थिइ। खुब रमाएर देख्थी सिरियल त।

                 उसलाई देख्दाँ, ऊ मगर/तामाङ् जस्ती देखिन्थी। तर ऊ मगर/तामाङ् नै हो भनेर म ग्यारेन्टीचाहिँ दिनसक्दिनँ।

                    एकदिन मैले उसलाई तिमी कतिमा पढ्छौं भनेर सोध्दा उसले,"कक्षा-7 पढेर छाँडेकी हो।" भनी। फेरि मैले 'तिमीले पढ्नुपर्थ्यो नि अरु।' भनेर भने। मेरो कुरोको कुनै उत्तर दिइन उसले। बरु मुस्कुराएर गई भित्र।

                  केहीँ दिन अरु म उसको होटेलमा गएको थिएँ। तर ऊ व्यस्त हुन्थी। त्यसैले म केही पनि बोल्दिन थिएँ। केहीँ दिनमा म पनि घरतिर फर्किएँ र ऊ एउटा कथा बनी।

Comments