कवि निरज दाहालका २० (छाेटा) कविता



१ मानसिकता

सन्नाटा छायो
अदालतमा
जब वकिल बोल्यो
जज साहब !
छोटा लुगा लगाएर
कामुक शरीर प्रदशन गरेर
उहाँकी छोरी बलात्कृत भएकी हो ।।
अर्डर ! अर्डर !
भिरेको चस्मा खोलेर
आँसु पुछ्दै न्यायाधीश बोल्यो
मेरी "छ वर्षकी" छोरीको पनि
कामुक शरीर थियो होला र ?
................................................


२ बाटो

आफूसँग
सबैथोक छ भन्दैमा
घमण्डको सीमा ननाघ साथी
कयौँ पानीजहाज
समुन्द्रमाथि नै जलेर
खरानी भएका उदाहरणहरू
यही धरतीले बोकेको छ ।
......................................................


३ वेग

आकाश भ्रम हो 
धरती सत्य हो साथी
पखेटा छ भन्दैमा दूर नजानू
त्यहाँसम्म जानू
जहाँबाट धरातल देखिन्छ ।
.......................................................


४ परदेश

दशैँ पठाउन
अरब गएको छोरालाई
घरबाट बाले
खोलाको बाटो हुँदै समुन्द्रतिर
टपरीमा अक्षता पठाउनु भएको छ ।
ए छाल !
तँ पूर्णिमाको दिन मौन रहनू ।
...........................................................


५ परिधि

धरती छाडेर
आकाशतर्फ उडिरहेका
जोडी ढुकुरलाई , गुलेली नताक माल्दाइ !
उनीहरू सीमाविहीन देश खोज्दै उडेका हुन्  ।
स्वतन्त्र छाडिदेऊ ।
............................................................


६ अन्त्य

जिन्दगीभर
कति पो हिँडिएला भनेर
मैँले आफ्नैँ पाइलाको गिन्ती सुरु गरेँ
एकदिन मेरो मृत्यु भयो
पाइला त रोकियो
तर यात्रा भनेँ रोकिएनँ ।
......................................................


७ शीत

प्रिय घाम
तिमी उदाउनु भनेको
म अस्तित्वविहीन हुनु हो
तर पनि पर्खिएको छु
आफ्नै  सुन्दर मृत्युको
दृश्य हेर्न ।
.....................................................


८ कानुन

एउटा चित्रकारले
छोरीको कल्पनामा
कोर्यो एक सुन्दर चित्र
जब चित्र तयार भयो
तब छोपिदियो रातो मसिले
स्तन र गुप्ताङ्ग
चित्रको मुन्तिर लेखेर टाँग्यो भित्तामा
" छोरी तिमी यत्तिकै जन्मनू "
.......................................................


९ समय

म भीरको टुप्पोमा थिएँ
तिमी आयौ र झटारो हान्ने खेल खेल्यौ
तिमीले हानेको झटारोले मलाई छोएन
तिमीले मलाई रिसमा थुकेर हिँड्यौ
एकदिन पहिरो आयो र म मैदानमा आएँ
भाग्यले एक मूर्तिकारको आँखा ममाथि पर्यो
थाहा छ तिमीलाई ?
आजकाल मलाई ढोग्न तिमी दिनहुँ अाउँछ्यौ ।
....................................................


१० भाग्य

हावाको एक झोँकाले
एउटा रूखबाट खसालेर गयो
भर्खर उड्न खोजिरहेकाे बचेरा
तर , खै किन देखेनँ हावाले
रूखको हाँगामा
मृत्यु पर्खिरहेको सुकेको एउटा पातलाई ।
...........................................................


११ लाज

कस्तो हुँदो हो
सम्बन्धविच्छेदपछि
तिनै दुलहा-दुलहीको
पुनर्विवाहमा गएका
जन्तीहरूको अनुहार ।
................................................


१२ ऐना

एकदिन  बगिरहेको पानीमा
मैले आफ्नो अनुहार हेरेँ  ।
बगेको पानीले अनुहार नबगाउने रहेछ
तर , मैले आफ्नै अनुहार देखुञ्जेलको समय
त्यही पानीले बगाएर लग्यो ।
म घर फर्किएँ  ।
.............................................................


१३ गरिबीको मलामी
             
उसले एउटा अग्लो रूखमा
जिन्दगी झुन्डाइदिएको छ
चिम्लिएका आँखाले भीड हेर्दैछ
ऊ अब बोल्न सक्दैन
तर पनि भीडतिर हेर्दै चिच्याउन चाहन्छ
यी कुरा भन्दै  
" प्रिय गरिबी देखिस्
तँलाई आज मैले जिते " ।
..............................................


१४ हृदय

बालकले हेरिरहेको थियो
आकाश र घरभित्रको अँध्यारो
घरभित्रको अँध्यारो र आकाश
त्यसैबखत ,
हराए ताराहरू एकएक गरेर ।
 
अनि , उदायो जून
र , आएर बस्यो थपक्क घरको छानोमाथिको आकाशमा
त्यसैले , अहिले भरपूर उज्यालो छ
बालकको आँखामा ।
...................................................

१५ सपना

मैले कति जिन्दगीहरू
वारिदेखि पारिसम्म पुर्याएको छु
र , कतिका सपनाहरू बोकेर हिँडेको छु
दुख त मलाई त्यतिबेला लागेको हो
जब म आफैँ बिरामी परेँ र थलिएँ
त्यो बेला मेरो डुङ्गा चुहिने भयो
मैले आफैँलाई पारि अस्पतालसम्म पुर्याउन सकिन
र , यो जिन्दगी वारि नै छाडेँ ।
..........................................................


१६ त्याग

छोराले
कविता लेख्छ भन्ने थाहा पाएपछि
कतै गरिबी र पीडाको मात्र
कविता लेख्छ कि भनेर
बा एकान्तमा पनि रुन छाड्नुभएको हो ।
.....................................................


१७ अकल्पित

जिन्दगीको दौड जित्नेहरू
जितेर अघि बढ्छन
हारेको निराश अनुहारलाई
कमजोर नसम्झनु
किनकि , अब उसलाई
कि रुखमा भेटिन्छ कि इतिहासमा ।
.........................................................


१८ रूप

फूल ,
सुगन्ध र सुन्दरताले नै परिचित छ
साँच्चै , समाधीमा
फूलको सुगन्ध र सुन्दरताको
मूल्यांकन हुन्छ कि नाइँ ?
.....................................................

१९ राहत

यहाँ ,
समाजमा मानवता हराएपछि
आजकाल फूलहरू
पानीको आशमा
नदीको किनारमा फुल्न थालेका छन् ।
.........................................................


२० हार

विद्यालयमा
नयाँ सिसाकलम हराएर
आँखाभरि पिडा , मनभरि डर बोकेर
रुँदै रुँदै घर फर्किएको
बालक झैं भए म
न बा-आमालाई सुनाउन सक्छु
न सिसाकलम देखाउन नै ।
.....................................................


          

Comments

  1. साह्रै मन पर्यो !! कबिताकी यात्रा 20 माइल दुरि पार गरेको पत्तै पाइन

    ReplyDelete
  2. सुन्दर कविताहरु निरज!🤗

    ReplyDelete
  3. Master of smart poems! Each and every poems are eqally strong.

    ReplyDelete
  4. सशक्त र सुन्दर कविताहरु 💓

    ReplyDelete
  5. सुन्दर सशक्त

    ReplyDelete
  6. एकसेएक कविताहरु!
    कवि निरजलाई पढेर धित मर्दैन

    ReplyDelete

Post a Comment