मासुकाे तरकारी (लघुकथा) ~ बिकेश कविन
'मामु, याे के हाे हामीले खाएकाे ?', हातकाे मासु देखाउँदै सानाे बालक कृष्ण बाेल्याे, 'याे त खाँदा कस्ताे-कस्ताे छ त ! मलाई मनपर्ने अालुकाे तरकारीजस्ताे छैन त ?'
कृष्णकाे काँचाे कुरालाई बेवास्ता गर्दै उसकी मामुले भनिन्, 'याे मासुकाे तरकारी हाे । हाम्रै बारीमा फलेकाे ।'
कृष्ण केही समय साेचमग्न भयाे । अलि बढी हृदयले साेच्ने ऊ, याे बेलाचाहिँ अाफ्नाे दिमागकाे कुँवाभित्र केही खाेजेझैँ गर्याे । अाफ्नाे बाल मस्तिष्कमा केही गलत त पक्कै घुसिरहेकाे छ भन्ने उसले साेच्याे । अनि, केही बेर साेचिरहेर ऊ लाग्याे अाफ्नाे स्कुलतिर ।
कृष्ण बाहिरभन्दा बढी भित्रकाे बालक हाे । फूल, पुतली, रुख, पात, माटाे, ढुङ्गा, हावा, पानी, बिरालाे, कुकुर इत्यादि उसका अति मिल्ने दाेस्तहरू हुन् । अनि, ऊसँग अति नै मिल्ने उसकाे साथी हाे, उसकाे घरकाे कुखुरा । जाेसँग ऊ बिहान र बेलुका खेल्न रुचाउछ । जसलाई ऊ माया गर्छ, अाैधी ।
हुरीलाई पनि जित्नसक्नेगरी कुदेर कृष्ण स्कुल पुग्याे । स्कुलभित्र पुग्नेबित्तिकै उसकाे भेट कुसुम मिससँग भयाे । अरू बेलाचाहिँ खासै नबाेल्ने ऊ, अाजचाहिँ बडाे उत्साहपूर्वक अाफ्नी मिसलाई प्रश्न तेर्साउछ, 'मिस, तपाईंले मासुकाे तरकारी खानुभ'काे छ ? तपाईंकाे बारीमा पनि याे तरकारी फलेकाे छ ?'
कृष्णका अबाेध प्रश्न सुनेर एकछिन कुसुम मिस गललल हाँस्छिन् । अनि, भन्छिन्, 'बाबू, मासु त तरकारी हाेइन नि ! याे बारीमा फल्दैन । घरका कुखुरा, हाँस, परेवा, खसी अादिलाई काँटेर त्यसकै मासु हामी खान्छाैँ । बुझ्याै ?'
मिसका कुरा सुनेर ऊ बुझेर पनि नबुझेझैँ हुन्छ । नबुझ्नुभन्दा बढी दुखी हुन्छ । दुखी हुनुभन्दा पनि चिन्तित हुन्छ, 'के त्याे मैले खाएकाे मेरै कुखुरा तित्री थिई ?'
दिनभरि कृष्णका मानसपटलभित्र कम्प गइरहन्छन् । बीच-बीचमा ऊ रुन लागेझैँ पनि देखिन्छ । अाफूलाई अाफ्नी मामुले ढाँटेकाे सम्झेर ऊ कस्सेर चिमाेटिन्छ । अनि, फगत दुखिइरहन्छ ।
त्याे दिन कृष्ण स्कुलमा राम्ररी पढ्दैन पनि ।
स्कुल छुट्टि हुनेबित्तिकै कृष्ण फेरि हुरीझैँ कुदेर अाफ्नाे घरमा पुग्याे । घरमा पुगेपछि उसले रिक्तताबाहेक अरू केही देखेन ।
अाफ्नाे सबैभन्दा मिल्ने साथी गुमाएकाेमा कृष्ण शाेकमा थियाे । त्याे साथीकाे मासु अाफैँले खाएकाे सम्झेर ऊ शाेककाे पराकाष्ठामा थियाे । मात्र राेइरह्याे, बाहिर अाँखाले पनि, भित्र हृदयले पनि ।
Comments
Post a Comment