सुप्रख्यात कवि एवं साहित्यकार वासु शशीबारे १९ किस्सा


वासु शशी

१) २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहका बेला वासु शशी प्रजातान्त्रिक आन्दोलनमा सकृयतापूर्वक बहुदलको पक्षमा लागेका थिए । त्यसैताका उनले एउटा चर्चित कविता लेखे, ‘यो देश अहिले गौरवगाथा गाउने मूडमा छैन ।’


त्यसो त उनको ‘बीसौँ शताब्दिको गीत’ सर्वाधिक रुचाइएको कालजयी कविता हो ।


२) वासु शशी ‘रोदी’ समूहमा थिए । त्यो समूह बूढा पुराना कविहरूलाई चुनौती दिन जन्मेको संस्था थियो । उनीहरुले स्थापित र पुराना साहित्यकारलाई प्रमुख अतिथि बनाउने परम्परा भत्काएर त्यतिबेला पद्मकन्यामा अध्ययनरत पारिजातलाई प्रमुख अतिथि बनाएर ‘रोदी’ को उद्घाटन गरेका थिए ।


रोदीमा कृष्णभक्त श्रेष्ठ, भूपी शेरचन, कुमार नेपाल, मोहन हिमांशु थापा र बाशु शशी थिए ।


३) रोदी विसर्जन भएपछि वासु शशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा जागिरे भए । तर, प्रतिष्ठानमा उनी प्राज्ञ हुन योग्य व्यक्ति नयाँ पुनर्गठनमा नपरेपछि स्वाभिमानका कारण राजिनामा दिए ।


४) विश्वविख्यात अमेरिकी नाटककार आर्थर मिलरको ‘अल माई सन्स’ को वासु शशीले नेपालीमा रूपान्तर गरेका थिए । त्यो अनुवादका लागि पूर्वस्वीकृति वापतको रोयल्टी अमेरिकन पुस्तकालयका एकजनाले तिरिदिएर सम्भव भएको बताउँथे उनी ।


५) २०३६ सालको सडक कविता क्रान्ति सकियो । भारतको पटनाबाट एकजना कवि आएका थिए डा. रविन्द्र राजहंश । उनले नेपालका सडक कविता क्रान्तिमा भाग लिने विद्रोही कविहरूलाई भेट्न चाहेका रहेछन् जसमध्ये एक वासु शशी पनि थिए ।


उनी पनि इन्दिरा गान्धीले संकटकाल लगाउँदा कविता मार्फत संकटकालको विपक्षमा कविता आन्दोलनका सहभागी कवि रहेछन् । उनीहरूले नुक्कड कविता आन्दोलन गरेका रहेछन् र त्यसको ‘नुक्कड कविता’ नामक सङ्कलन पनि प्रकाशित गरेका रहेछन् ।


६) 

‘जात्राको दिन बेलूनहरु किन्छु भनेर गएकी थिई


चार वर्षकी भूना


मोटरले कुल्चिएर मरी ।…’


वासु शशीकाे कविता 'अलिकति मृत्यु'का सुरुवातका हरफहरू यिनै हुन् । खासमा उनको यो कविता फागु पूर्णिमामा बेलुन किन्न जाँदा सडक दुर्घटनामा दिवङ्गत छोरी भूनाको सम्झनामा उनले लेखेका थिए ।


७) वासु शशी परिवार नियोजन संघमा पनि जागिरे भएका थिए । त्यतिबेला दरबारका मानिसहरू नै त्यस संस्थाका हर्ताकर्ता थिए । उनी त्यहाँ सिर्जनात्मक व्यक्तित्वका साथ काम गरिरहेका थिए । उनी सबैका प्यारा थिए । उनी परिवार नियोजन संघमै छँदा अमेरिकाको भ्रमणमा पनि गएका थिए ।


तर, परिवार नियोजनबाट पनि उनले अचानक एक दिन राजीनामा गरे । अप्रत्यासित रुपमा । त्यहाँ पनि स्वाभिमानकै कारणले उनले राजीनामा गरेका थिए । त्यसपछि शशीले कहिल्यै जागिर खाएनन् ।


८) वासु शशीले बोलेका कुराहरू उद्धरणयोग्य हुन्थे । लेखनको मामलामा मनमौजी कवि स्वाभाव थियो । उनी मूडमा लेख्थे, पूरा गर्दैनथे । उनले धेरैवटा उपन्यास थालेका थिए, तर पूरा गरेका थिएनन् । त्यसैले उनको उपन्यासकार व्यक्तित्व लुकेको थियो ।


तर, जब उनको पहिलो उपन्यास प्रकाशित भयो, ‘फूल ओइलाएपछि’, पाठकहरूले अत्यन्तै रुचाए । अध्येताले रुचाए । छोटो समयमै उनको त्यो उपन्यासको पहिलो संस्करण सकियो ।


९) वासु शशीले चलचित्र तथा टेलिचलचित्रका लागि पनि कथाहरू लेखे । संवाद लेखे । उनको लेखनमा बनेको तथा मदनकृष्ण श्रेष्ठ तथा हरिव०श आचार्यले अभिनय गरेको ‘लोभी पापी’ चलचित्र उनको जीवन्त रचना बनेको थियो ।


१०) वासु शशी कतै एक्लै हिँड्दैनथे, उनलाई कोही न कोही साथ चाहिन्थ्यो । उनलाई स्थायी साथ दिने सुगन्धका सम्पादक कैलाश भण्डारी थिए । तर, सधैँ उनी उपलब्ध हुँदैनथे र अरू अनुज साहित्यकारको साथ लिन्थे ।


११) वासु शशी अलिक रीस उठेको मान्छेलाई गाली गर्नै परे ‘पापी’ भन्थे । त्यत्ति मात्र ।


१२) वासु शशीका रचनामध्ये छायाँमा परेको विधा हो गीत । उनले प्रशस्त कर्णप्रिय गीतहरुको रचना गरेका थिए ।


“मसँग यौटा तारा छ मायाको….’’ गीत एक समयमा ओठओठमा झुण्डिएको थियो । यसका स्रष्टा वासु शशी थिए । उनको निधनपछि गणेश रसिकको संगीत र अरूसहितको गायनमा यो प्रकाशित भयो ।


१३) कवि वासु शशीलाई अर्बुद रोगले समातेको पत्ता लागेपछि उनको उपचार नेपालमा सुरु भयो । तर, बम्बईको टाटा मेमोरियलमा उपचार हुन सक्ने भनी त्यहाँ लगियो । स्थिति बिग्रँदै गयो र उनले आफू अब बाँच्दिनँ भन्ने ठहर गरेपछि आफ्नै मुलुकमा प्राण त्याग्छु भनेर नेपाल फर्काउन आग्रह गरे । तर, नेपाल फर्काउन पनि समय पुगेन । उनले त्यहीँबाट जीवन बिसाए ।


१४) 'खोसे, मेरो आनन्द खोसे... ।’


वासु शशी बेला-बेला भनिरहन्थे ।


जब-जब केही चिन्तन गर्दागर्दै उनीभित्रको मान्छे उकुसमुकुस हुन्थ्यो-छटपटिन्थ्यो, त्यतिखेर उनको तृष्णा आकासिन्थ्यो । र, त्यो तृष्णा मेट्ने हतियार; भन्नेले-देख्नेले बहानाबाजी भने पनि— रक्सी नै हुन्थ्यो ।


त्यस्तो स्थितिमा कदाचित् उनले पिउन पाएनन् भने, अर्थात् उनीबाट उनको गिलास थुतियो भने उनी चिच्याउँथे, ‘खोसे, मेरो आनन्द खोसे... ।’


१५) 

‘पुग्छु भनेर गएको ठाउँ


पाइलैपिच्छे प...र सर्छ ।’


एक प्रकारको निराशा व्यक्तिन्थ्यो वासु शशीका यी हरफहरूमा । तर, कस्तो कटु सत्य ! मानवीय इच्छा-आकांक्षाको तीतो तस्बिरमा आफ्ना शब्दहरूलाई उतारेका थिए !


१६) देख्नेले सन्काहा प्रवृत्तिको पनि देख्थे वासु शशीको व्यक्तित्वलाई । यथार्थमै, जगबागेश्वरीस्थित आफ्नो टोलको नामकरण नै गरी एक दिन उनले सडकमा ‘वासु शशी मार्ग’को साइनबोर्ड झुन्ड्याएका थिए । त्यस समय उनको त्यो कार्यकलाप देखेर टोलवासीले ‘वासु बौलाए’सम्म भन्न बाँकी राखेनन् ।


तर, कसले आफूलाई के भनोस् ? मनमौजी थिए वासु । जे सोच्थे, गरिहाल्थे । जे सोच्थे, लेखिहाल्थे । कसैको स्वीकृति लिन केको खाँचो उनलाई ?


१७) कतै कसैको कविता पढ्दा मन पर्‍यो भने वासु शशी त्यो कविलाई घरमै बोलाउँथे र कविकै मुखबाट त्यो कविता सुन्ने गर्थे ।


१८) वासु शशी आपसी सम्बन्धमा पुस्ताको सीमारेखा कोर्दैनथे । न राजनीति न त सामाजिक भेदभाव थियो । अघिल्ला पुस्ताका भवानी भिक्षु, बालचन्द्र शर्मा, सूर्यविक्रम ज्ञवाली, युगकवि सिद्धिचरणदेखि समकालीन रमेश विकल, भूपि शेरचन, दौलतविक्रम विष्ट, बच्चुकैलाश, हेम हमाल हुँदै आफ्ना छोराछोरीसरहका कैलाश भण्डारी, प्रद्युम्न जोशीसम्म सँग पनि उनको त्यत्तिकै सद्भाव र आत्मीयता थियो । उनी सबै वर्ग, समुदाय र पुस्तासँग रमाउने प्रतीक-पात्र थिए ।                 


१९) वासु शशीको मित्रता त टोले केटाकेटीहरूसँग पनि उत्तिकै थियो । ती केटाकेटीहरूलाई चकलेट बाँड्नु उनको दिनचर्याजस्तै थियो । रमाइलो त के भने चकलेट बाँडिनुको सट्टामा बाहिरबाट रक्सी ल्याइमगाउन तिनैको सहयोग लिन्थे उनी । तर, पछिल्लो चरणमा रक्सीभन्दा चुरोटका अम्मली बनेका थिए वासु शशी । रक्सीभन्दा अझ बढी बिँडीको । सम्भवतः पातमा सुर्ती बेरिएको बिँडीमा उनी बढी नशा भेट्थे । विडम्बना ! जति बढी नशामा हुन्थे त्यति जै ऊर्जाशील बन्थे ।

स्राेत: गाेविन्द गिरी प्रेरणा, विमल भाैकाजी, कालीप्रसाद रिजाल, परशु प्रधान, गणेश रसिक र अन्य......!                       प्रस्ताेता : बिकेश कविन            

१) सम्झनामा वासु शशी (अनलाइनखबर): गाेविन्द गिरी प्रेरणा

Link:

https://www.onlinekhabar.com/2020/03/842340

२) वासु शशी सम्झेर (अन्नपूर्ण 'फुर्सद'): विमल भाैकाजी

Link: 

http://annapurnapost.com/news/94040

३) शशीकाे पहिलाे श्राेता (नेपाल म्यागेजिन): कालीप्रसाद रिजाल

Link: 

https://nepalmag.com.np/literature/2016/05/17/20160517122949



Comments