घुम्ने मेचमाथि 'अन्धाे' कवि !

घुम्ने मेचमाथि ‘अन्धो’ कवि !


                           कवि भूपी शेरचन
कतिपय कवि लेखकले युगको निर्माण गर्ने क्षमता राख्छन् । त्यस्तो युग उनीहरुको जीवनकालभरि रहन्छ र उनीहरुको देहावसानसँगै त्यस्तो युगको पनि अवसान हुन्छ । तर, कतिपय कवि लेखकले सिर्जना गरेको युग उनीहरुको देहावसान पछि पनि निरन्तर रहिरहन्छ । भूपी शेरचन नेपाली साहित्यमा काव्य युग निर्माण गर्ने कवि हुन् ।
कतिपय विद्वान, अध्येता र समालोचकहरु भूपी युग अझै विद्यमान रहेको विश्वास गर्छन् । पुस महिना उनको जन्म महिना, यो महिना उनको सम्झना अझ विशेषरुपले गर्ने गरिन्छ ।
थकाली परिवारमा जन्मिएका कवि भूपीले नेपाली साहित्यमा आफ्नो मौलिक युग निर्माण गरे पनि उनी विराट विसङ्गतिका प्रतीक थिए । उनी कवि मात्र भएनन्, उनी खानदानी परिवारका रईस भएर पनि कम्युनिष्ट भए । यो एउटा विसङ्गति थियो । उनले आफ्नो नाम भूपेन्द्रमान शेरचनलाई भूपेन्द्रमान शेरचन सर्वहारा भनेर नामाकरण गरे । यो अर्काे विसङ्गति थियो ।

यो कालखण्डमै उनले नेपाली कविता साहित्यका कालजयी र कीर्तिमानी कविताहरु लेखे, जुन आजसम्म पनि उत्तिकै रुचाएर पढिन्छ । जीवनको उत्तराद्र्धमा उनी कम्युनिष्टवाट राजावादी भए, यो अर्काे अन्तिम विसङ्गति थियो ।
यसपछि अरु कुनै विसङ्गति भएन, राजावादी भएरै देह त्याग गरे । तर, पछिल्लो विसङ्गतिले उनको लोकप्रियताको ग्राफ निकै तल झरेको थियो भन्ने कुरा पनि बिर्सनै नसकिने यथार्थ छ ।
भूपी शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे’’ उनीसँग साक्षात्कार नहुँदै पढेको थिएँ । मैले उनलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको घुम्ने मेचमा पुगेपछि भेट्ने अवसर पाएँ ।
दौरा सुरुवाल इष्टकोटसहित कोट अनि ढाका टोपी लगाएका खाईलाग्दा रातापिरा भूपी शेरचनलाई तिव्र गतिमा चलेको चिसो एसीवाला कोठामा त्यतिविघ्न बाक्लो लुगामा देखेको हुँ ।
उनको कोठामा पसेपछि चिया त अवश्य खान पाइन्थ्यो, यदाकदा उनको घरबाट खास उनका लागि ल्याईएको चिउराको लड्डु पनि खान पाइन्थ्यो । उनी स्वास्थ्यको राम्रो ख्यालमा थिए शायद । अनि पुनः प्रकाशन थालिएको कविताका लागि कविता रचना पनि दिन्थें उनकै हातमा, अनि ती कविता छापिन्थे र पारिश्रमिक पनि पाइन्थ्यो । भूपीको कोठामा पस्नुका फाईदा यिनै थिए ।
तर, एकेडेमीमा आएपछि उनलाई भूपी बिग्रियो, भूपी बिक्यो, भूपी सकियो, भन्नेहरुको लामै लर्काे थियो । हुन पनि होचि मिन्हलाई चिट्ठी लेख्ने भूपी राजाको तारिफमा कविता लेख्ने भएका थिए । तर, उनले आफूले ठीक निर्णय गरेर राजावादी भएको उनको ठहर थियो । उनी कुनै एउटा पश्चिमतिरका कविको नाउँ लिएर जीवनभर वामपन्थी कवि भएर पछि राजावादी भएपछि झन् लोकप्रिय भएको कथन सुनाउँथे ।
ती अनाम कवि कसरी लोकप्रिय भए, तर भूपी भने लोकप्रिय भएनन् । गरिमा पत्रिकाका लागि अशेष मल्लले लिएको अन्तरवार्तामा उनले म दुईटा “क’’ ले बिग्रिएको हुँ, यौटा क कम्युनिष्ट, अर्काे क कविता भने । यो अन्तरवार्ताले त झन् ठूलो विवादमा ल्यायो भूपीलाई ।
एकजना वामपन्थी लेखकले “मान्यता फिर्ता हुने बिर्ता होइन’’ भन्दै उनलाई दिएका सबै मान सम्मान फिर्ता हुनुपर्ने समेत लेखे ।
२०३६ सालमा ऐतिहासिक जनमत सङ्ग्रहको घोषणा भयो । बहुदलको पक्षमा भवानी घिमिरेको नेतृत्वमा “ सडक कविता क्रान्ति ’’ भयो । भूपीले यसको विपक्षमा आफ्नो धारणा यौटा पत्रिकाको अन्तरवार्ताको क्रममा त्यसलाई रुसको समिज्दातको नक्कल भन्दिए । अनि भवानी घिमिरेले आरती साप्ताहिकमा भूपीको त्यो भनाइको विपक्षमा २ अङ्कसम्म पूरा २ पेज लामो लेख भूपीको उछित्तो काढेर लेखे । भूपी पूरै राजावादी मात्र होइन, राजाको पञ्चायतवादी समेत भएपछि उनको त्यो वृहत्तर लोकप्रियता ओरालो लागेको लाग्यै भयो ।
एकपल्ट म एकेडेमीको उनको कार्यकक्षमा थिएँ र साहित्य एवम् ब्यवहारिक कुरा गर्दै थियौं हामी । मेरो ससुराली पोखरा भन्ने उनले थाहा पाएपछि हामी झन् नजिक भएका थियौं र उनी पोखराका ज्वाईं भन्दै मलाई मायाँ गर्थे । त्यति नै बेला एकेडेमीका एक कर्मचारीले उनलाई एउटा खाम दियो र फर्कियो । उनले त्यो खाम खोले र त्यसमा भएका तेह््रवटा हरिया सयसयका नोट देखाउँदै मलाई भने, “ गिरीवावु, भूपी बिक्यो भन्छन् । म यतिमा बिकें होला त ?’’
मैले उनलाई ट्वाल्ल हेरें, मसँग त्यसको जवाफ थिएन ।’
भूपीले लेखेका कविता चर्चित हुन्थे मात्र होइन जनजिब्रोमा विस्तारित हुन्थे । “ हल्लै हल्लाको देश’’ सदावहार बन्यो । घुम्ने मेचमाथि अन्धो मान्छे’’ उखानै बन्यो । “हामी कविता’’ जनजिब्रोमा छपक्कै छायो । “ मैन बत्तीको शिखा’’ले फैलावट मात्र पाएको होइन, असीम गहिराई समेत छिचलेको थियो । चोक कविताले काठमाडौंको चोकलाई देशब्यापी परिचय दिलायो । भैरहवा, पोखरा, धरान जस्ता शहरका शब्द चित्र जीवन्त बने ।
जतिबेला नेपाली कविता कठिन मार्गमा यात्रा गरिरहेथ्यो, त्यो समयमा भूपीले सहज, सरल, सृगम र जनजिब्रोमा फैलिने कविताहरु नेपाली कविता जगतलाई दिए । यसलाई भूपी धार भनियो शुरुमा, तर उनले त्यो धारलाई युगमै परिवर्तन गरिदिए । मोहन कोइराला, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मी, ईश्वरबल्लभ जस्ता कविहरुले अमूर्त र दुरुह कविता लेखन यात्रा गरिरहेको समयमा भूपीका कविताले सरलताको न्यानो धामको उज्यालो छरे । यो मार्ग राजमार्ग भयो र यसको वेकल्पिक मार्ग अर्काे नबनेको भन्छन् आज पनि अध्येताहरु ।
भूपी र पारिजातको मित्रता एकपल्ट काठमाडौंमा टक अफ द टाउन नै भएको थियो । शंकर लामिछाने र भीम दर्शन रोकासँग त्रिवेणी मित्रता थियो । उनको पर्समा उनीहरु तीनजनाको श्यामश्वेत तस्वीर सधैं हुन्थ्यो र त्यो तस्वीरमा नभएको शंकर लामिछानेप्रति उनी भावुक वन्दथे । उनी कपव गोष्ठी कार्यक्रम पनि बुलन्द ढङ्गले सञ्चालन गर्दथे । उनको हास्यचेत, तुकवन्दी र ओजिलो आवाजले दर्शक श्रोतालाई नविर्सिने छाप मजाले छोड्दथ्यो ।
त्यसो त उनलाई तुकबन्दी मिलाउने हल्का कवि भन्नेहरु पनि नदेखिएका हैनन् । तर ती आलोचना र हल्लाको आयु क्षणिक भए, भूपीको कविताको शक्ति चहकिलो र जाज्वल्यमान भयो ।
उनका नयाँ झ्याउरे एवम् निर्झर संग्रहका कविताहरु आरम्भकालीन कविता काव्य थिए । कवि भूपीको जीवन्त कविता सङ्ग्रह “घुम्ने मेचमाथि अन्धो मान्छे’’ नै भयो । यो सङ्ग्रह २०२६ सालमा पहिलोपल्ट साझा प्रकाशनबाट प्रकाशित भएको थियो । त्यसै सालदेखि साझा प्रकाशनले “साझा पुस्कार’’ को थालनी गरेको थियो र यो कृति साझा पुरस्कार पाउने पहिलो भाग्यमानी कृति बन्यो । नेपाली वाङ्मयमा धेरै विक्री हुने थोरै काव्य कृतिमा यो पनि पर्छ ।
उनले मसँगको भेटमा भनेका थिए, “दरबारबाट खबर आयो, प्राज्ञ पदको स्वीकृतिका लागि । मैले ३ दिनको समय मागें । मैले बिताएका ती तीन दिन पूरै छटपटीमा वितेका थिए । म ठूलो संकटमा थिएँ स्वीकार गर्ने कि नगर्ने भनेर । तर राजाले त्यो पदका लागि योग्य ठानेका छन् भने अहो ! त्यो पद मैले स्वीकार्नुपर्छ भन्ने लाग्यो । अनि राजा मान्ने विश्वका अरु कविहरुको वारेमा मनन गरें, अनि अन्त्यमा स्वीकार गरेको हुँ ।’’
बायाँबाट क्रमश: भीमदर्शन राेका, शंकर लामिछाने, भूपी शेरचन
तर, भूपी प्रज्ञा प्रतिष्ठानको सदस्यका रुपमा नियुक्त हुनु अघि भने तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको गतिविधिबाट सन्तुष्ट थिएनन् । उनी प्रतिष्ठानको आलोचक नै थिए । उनी भन्थे, “राजकीय प्रज्ञा प्रतिष्ठान जस्तो ठूलो संस्थाले अपेक्षित रुपमा साहित्य र संस्कृतिको विकासमा ठूलो योगदान दिएको छ जस्तो मलाई लाग्दैन । न त त्यसले सामुहिक सहयोगको आव्हान नै गरेको छ ।’’
यस्तो टिप्पणी गर्ने कवि भूपीले आफैं त्यो घुम्ने मेचमा पुगेर केही उल्लेख्य काम गर्न नसकेको भन्दै उनको आलोचना हुन्थ्यो । हुन पनि एकेडेमीले गर्दै आएका नियमित वाहेक अरु कुनै काम वा योजना उनको पालामा भए गरेको पनि देखिएन । नजानिंदो प्रकारले केही पोखरेली कवि लेखकलाई प्रश्रय भने अवश्य दिएका थिए ।
तर, उनको स्वभाव अनुसार एकपल्ट भेटेपछि जो कोहीलाई हँसाउन सक्ने, प्रभाव पार्न सक्ने उनको खुबीमा भने कहिल्यै कमी आएन । तर, त्यसले उनको लोकप्रियताको ग्राफ तल झर्नवाट जोगाउन सकेन ।
प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सकिएपछि दोश्रो कार्यकाल पनि निरन्तर भएपछि भूपी राजाप्रति झन् नतमस्तक भए । राम्रो काम गरेर म्याद थप भएको उनले अर्थ लगाए । वास्तवमा त्यस्तो थिएन । त्यो समय नै त्यस्तो थियो ।
उनको स्वास्थ्य राम्रो नै थियो । अनेक औषधी खानुपर्ने । उनी ठट्यौली गर्दै भन्थे, सुगर रोग भनेको रोगको बादशाह हो, बादशाहका छेउछाउमा अरु जर्नेल, कर्णेल हुन्छन् । बादशाह एक्लो हुँदैन ।
साहित्यिक पत्रकार संघले बेलाबेलामा नेपालका विभिन्न स्थानमा साहित्य यात्रा गर्ने गथ्र्याे । भूपी ईलामको साहित्य यात्रामा गएका थिए । त्यो यात्रामा उनले मध्यपानको ब्रत भङग मजैसँग गरे र फर्केपछि उनी अस्वस्थ भए । त्यो अस्वस्थताले उनलाई क्रमस चाप्दै लग्यो । उनी त्यसपछि अलि खानपानमा छाडा भए । व्यवहारमा पनि कटू हुँदै गए । एकेडेमी बाहिर त उनका आलोचक छँदै थिए, एकेडेमीभित्र पनि उनी आलोचनाका पात्र बने । उनी भनेपछि हुरुक्कै हुने रामशरण दर्नाल पनि ठुस्किएका थिए । उनी एकेडेमीका पदाधिकारीहरुलाई आक्षेप आरोप लगाउन पछि नपर्ने भए । यसले गर्दा उनी बिरामी भएर अस्पताल भर्ना हुँदा पनि प्रज्ञा प्रतिष्ठानले खासै चासो राखेन ।
भूपीको रचना संसार कविता मात्र थिएन, उनले नाटक पनि लेखेका थिए । तर, उनको गीति रचनाको पाटो अलग थियो । उनका गीतहरु कालजयी र लोकप्रिय दुबै छन् । हरेक दशैंतिहार ताका बज्ने “ अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुटामा ’’ गीतले आज पनि श्रोताको मनलाई पगालिदिन्छ र आँखा रसाउन पुग्छन् । “ सानै हूरीमा बैंसको सपना, सिमलको फूल झैं झरी गयो’’ , या “यो नेपाली शीर उचाली, सन्सारमा लम्किन्छ, जुनकीरि झैं ज्योति वाली अन्धकारमा चम्कन्छ’’ जस्ता गीतहरुले आज पनि र भोलि पनि नेपाली मन, नेपाली मुटु र नेपाली मष्तिष्कलाई झक्झकाइरहन्छ ।
तर, पछि उनको गीत लेखनको सिर्जनात्मकताले विश्राम लियो । “घुम्ने मेचमाथि अन्धो मान्छे’’ को उचाई छुने कविताको मूल सुक्यो । यौटा कविता पुरानो उनको धारकै आयो, रचना पत्रिकामा “ सर्पको खोजीमा’’ । त्यस कविता मार्फत पाठक अध्येताको ध्यान भूपीले तान्न सके । भूपी बौरिएको ठान्न थालेका थिए । तर, त्यसखालको उनको जीवनकालको त्यही नै अन्तिम कविता भैदियो ।
उनी एकेडेमीमै छँदा पछिल्लो चरणमा अलिअलि विक्षिप्त भएका थिए । सारालाई गाली गर्ने भएका थिए । एकेडेमीको प्रशासन प्रमुखलाई दुशासन भनिदिन्थे । नेपालको एक प्रख्यात होटल व्यवसायीको मृत्यु भएको थियो, उनी त्यो उनको मृत्यु एडस् लागेर भएको भनी ठोकुवा गर्थै । त्यो किन गर्थे, मैले कहिल्यै बुझिनँ । उनी पिउन पनि पुरानो वानी अनुसार छाडा हुन थालेका थिए ।

त्यसै ताक पोखरेली युवा साँस्कृतिक परिवारले पोखरामा बर्सेनि गर्ने टिकटमा मुक्तक कार्यक्रमका लागि भूपीलाई प्रमुख अतिथिका रुपमा निम्त्याएको थियो । उनले एकेडेमीको गाडीमा सँगै जाउँ भाइ भनेका थिए । तर, उनका साथमा एकजना गायिका, संगीतकार, वाद्यवादक पनि साथै जाने थाहा पाएपछि म अरु साथीहरुसँग बसमा गएँ । साँझ अबेरसम्म उनी पोखरा आइपुगेनन् । हामी खाना खाएर सुत्यौं । भोलिपल्ट थाहा भयो, उनी त विहानीपख ३/४ बजेतिर आइपुगे । उनी बसेको कोठानिर पुग्दा हार्माेनियम बजेको आवाज आयो । कोठाको ढोका खुल्लै थियो । उनी गायिकाको काखमा हात राखेर बेसुरा हार्माेनियम बजाइरहेका थिए । मैले गरेको अभिवादनलाई उनले पुलुक्कसम्म हेरे, क्यै भनेनन् । उनले जीन्स पाइण्ट लगाएका थिए र पाइण्टको घुँडाघुँडासम्म कुरो लागेको थियो । पछि थाहा भो, उनी र गायिका गाडीबाट ओर्लंदै झाडीझाडी दौडिँदा कुरो पाइण्टभरि लागेको रहेछ ।
उनले पोखरामा पनि त्यो होटल व्यवसायी एडस् लागेरै मरेको हो भन्ने रट लाउन छाडेका थिएनन् । अझ उनी त तत्कालीन प्रधानमन्त्रीले उनलाई मार्न जासुस खटाएका छन्, त्यसैले मैले पनि बन्दूक बोकेर आएको छु भन्दै थिए । बन्दूक त देखिएन, तर बन्दूकको गोली भने पसरभरि देखाएका थिए । दिउँसो डाँफे कला मन्दिरमा मुक्तक कार्यक्रममा पनि उनले आयोजकलाई अप्ठ्यारोमा पारिदिएका थिए । मञ्चको अगाडिको सिटमा उनीसँगै ती गायिकालाई राख्न जोड दिएका थिए । कार्यक्रम शुरु भएपछि आफू मञ्चको वीचमा सोफा अगाडिको कार्पेटमाथि पलेटी कसेर बसेका थिए र आफ्नो सिटमा ती गायिकालाई बस्न लगाएका थिए । अनि पङ्खा अगाडि बसेर खल्तीबाट बन्दूकको गोली निकालेर लहरै सजाएका थिए । आफ्नो वोल्ने पालामा पनि उनले मरिचमानले आफूलाई मार्न खटाएको छ, त्यसैले गोली बोकेर आएको बताए । अनि उनले आफ्नो भाषण सकिएपछि आफैंले ती गायिकाको तारिफ गर्दै उनैले गीत गाउन माइक हस्तान्तरण गरेका थिए ।
कार्यक्रम सकिएको भोलिपल्ट हामीले त होटल छाड्यौं । भूपी र उनको टोली होटलमै थियो । पछि थाहा भो, ती गायिकाले दुव्र्यवहार गरेर भूपीको नगद सगद सबै बोकेर हिँडिन् अनि भूपीले पोखराबाट काठमाडौं फर्कन बाटो खर्चका लागि सापट माग्नुपर्‍यो रे ।
काठमाडौं फर्केपछि भूपीको धेरैजसो बास हस्पिटलमा हुन थाल्यो । एकेडेमीको सदस्य भए पनि उनले एकेडेमीबाट खासै केही सहुलियत पाएनन् बिरामीका बेला । यद्यपि उनलाई अस्पतालमा भेट्न जाने शुभचिन्तकहरु भने प्रशस्तै थिए । ०४५ सालको चैत मसान्तमा उनको एकेडेमीको कार्यकाल सकियो ।
उनले ०४६ साल जेठ १ गते नश्वर शरीर त्याग गरे । उनको मलामीमा पनि उनको नाम, योगदान अनुसारको उपस्थिति थिएन । उनको लोकप्रियताको ग्राफ निकै तल झरेको थियो जीवनको अन्तिमबेलातिर ।
तर, यौटा कवि सिर्जनामा बाँच्छ । उसका जीवनका कतिपय कमीकमजोरीहरु मृत्युसँगै पखालिएर जान्छन् । संसारका ख्यातिप्राप्त लेखक लेखिकाको हकमा यही भएको छ । भूपीको हकमा पनि त्यही भयो ।
भूपीले निर्माण गरेको युग उनको मृत्युले ढाल्न सकेन । उनले निर्माण गरेको युगले निरन्तरता पायो नेपाली साहित्यमा । उनका कतिपय कविताहरु आज पनि उत्तिकै प्रखर र जीवन्त छन् । उनका गीतहरु उत्तिकै कर्णप्रिय छन् ।
बेलायती विद्वान डा. माइकल हटले भूपीको जीवनी “द लाईफ अफ भूपी शेरचनः पोयट्री एण्ड पोलिटिक्स इन पोष्ट राणा नेपाल’’ लेखे जसलाई अक्सफोर्डले प्रकाशन गर्‍यो ।

लेखक: गाेविन्द गिरी प्रेरणा
प्रकाशित: पुस १९, २०७६; अनलाइनखबर

Comments