प्यारी, म तिमीसँग प्रेम गर्छु !

प्यारी, म तिमीसँग प्रेम गर्छु !   
- बिकेश कविन
   

कोचिङ् जानुपर्ने भएको हुनाले म सखारै उठ्छु । उठ्न त मन हुँदैन तर के गर्ने, जसरी पनि उठेर कोचिङ् जानैपर्ने हुन्छ । कोचिङ् नगएको खण्डमा विद्यालयमा जरिवाना तिर्नुपर्ने हुन्छ । कहिलेकाहीँ त जरिवानाको साथसाथै प्रिन्सिपलको कठोर हातबाट रामधुलैया पनि खानुपर्ने हुन्छ । त्यसैले जेजस्तो भए तापनि सबेरै साढे छ बजेभन्दा अगाडि विद्यालयको गेटभित्र पसिसकेको हुनुपर्छ सम्पूर्ण कोचिङ् पढ्ने विद्यार्थीहरु ।
बिहानको साढे पाँच बजिरहेको हुन्छ । मैले आफ्नो सबै गृहकार्यहरु गरिसकेको हुनाले म चिन्तामुक्त हुन्छु । मलाई कुनै पनि हतार हुँदैन । बाहिर आकाश रोइरहेको हुन्छ । म पनि घरबाहिर निस्कन्छु । ‘बाहिर निस्केर आकाशलाई, तिमी किन रोएको ? के भयो तिमीलाई ? के को शोकमा यत्ति धेरै आँसु बगाएको ?’ भनेर प्रश्न गर्छु । रोइरहेको आकाशले सायद मेरो प्रश्नको ध्वनि सुन्दैन वा सुन्न चाँहदैन, उसले मेरो प्रश्नको कुनै पनि जबाफ दिदैन । बरु अझ जोडजोडले भक्कानिन्छ । मलाई ऊप्रति खुब माया लागेर आउँछ । अरु दिन त बिहानै बिहान चरीहरुको चिरचिर खुब सुनिन्थ्यो । चरीहरुको माधुर्य गानले औधी लालायीत बनाउँथ्यो मलाई । तर आज आकाशको भक्कानोले गर्दा होला, चरीहरु अहिलेसम्म पनि आफ्नो राजमहलमा सुतिरहेका नै छन् ।               

वर्षिरहेको झरीले एक्कासि मेरो शरीरमा पनि स्पर्श गर्छ । आखिर झरीले कसैको आदेश मान्दो रहेनछ । बस् स्वतन्त्र भएर आफूलाई जहाँ खस्न मन छ, त्यहाँ नै खस्दोरहेछ । झरीको स्पर्शले म मेरी प्यारी बस्ने प्रेमिल नगरीमा पुग्छु । ऊ बगैँचामा बसेर फेसबुक चलाइरहेकी हुन्छ । मेसेन्जरमा पनि कुन्नि कोसँग हो, ऊ च्याट गरिरहेकी हुन्छ । बिरालोको चालझैँ म ऊ बसिरहेको ठ्याक्कै पछाडिबाट उसले थाहा नपाउनेगरि ऊनिर पुग्छु । ऊ आफ्नै संसारमा मस्त हुन्छे । म उसको पछाडि छु भन्ने कुरो उसलाई अत्तोपत्तो हुँदैन । म आफ्नो दुवै हातको सहायताले उसको दुवै आँखा छोपिदिन्छु । ऊ तर्सेर जोडले चिच्याउछे । म आफ्नो आवाजलाई बदलेर उसलाई प्रश्न गर्छु¬¬¬¬¬¬¬– म को हुँ ?’ आवाज बदलेको हुनाले उसले मलाई चिन्न धौधौ पर्छ ।  हुन त मेरा हस्तहरु ती आँखाहरुबाट हट्नै मानेका थिएनन् । तथापि आफ्ना दुवै हातहरुलाई आफ्नो वशमा राख्दै म उसका मृगनयनहरुलाई स्वतन्त्र पारिदिन्छु । ऊ पछाडि फर्केर हेर्छे । म मुस्कुराउँदै उसको अगाडि उभिरहेको हुन्छु । सुरुमा रिसाए तापनि केहीँ समयपश्चात् ऊ मलाई देखेर खुसी हुन्छे ।  त्यसपछि हामी त्यहाँ बसेर प्रमिल वार्तालाप गर्न थाल्छौँ । हामी एकआपसमा लीन हुन थाल्छौँ ।  एकआपसमा समाहित हुन थाल्छौँ । एकआपसमा घोलिन थाल्छौँ । अनि त्यस प्रेमिलनगरीमा प्रेमका बादलहरुले प्रेम नै प्रेमको वर्षा गराउँन थाल्छ । हामी दुवैजना त्यो पे्रमिल वर्षामा रुझ्न थाल्छौँ । प्रेममा अभिभूत हुन थाल्छौँ । मस्तमगन हुन थाल्छौँ ।

एक्कासि घरभित्रबाट आएको आवाजले म झसङ्ग हुन्छु । म त दिउँसै सपनी लोकमा पो हराइरहेछु । घरभित्रबाट बुबाले पो अघिदेखि बोलाइरहनुभएको रहेछ । प्यारीसँग पे्रमिल नगरीमा कम्ता मज्जा आइरहेको थिएन । सबै सपना फेरिपनि सपना नै रहयो । कठै म !

आखिर सपनीमा पनि प्रेमका पुष्पहरु फुल्दारहेछन् । मलाई अवगत भएछ ।

आकाश रोइरहेको नै हुन्छ । आकाशको अनुपन सौन्दर्य देखेर म फेरिपनि प्यारीलाई सम्झन्छु । यद्यपि यसपटक चाहिँ म प्रेमिल नगरीमा पुग्दिनँ । कल्पना लोकमा पुग्दिनँ  । सपनी लोकमा पुग्दिनँ । कहीँकतै नपुगी म प्यारीलाई सम्झन्छु । आकाशको क्यानभासमा उसको अलौकिक चित्र देख्छु । अनि म हिन्दी एउटा गीत गुनगुनाउन थाल्छु ¬¬¬¬¬–‘हमारी अधुरी कहानी......................... अधुरी कहानी !’  

मेरो कोचिङ् जाने समय भइसकेको हुन्छ । बिहानको सवा छ बजिरहेको हुन्छ । म आफ्ना सम्पूर्ण किताब कापीहरु ब्यागमा राख्छु । त्यसपछि आफ्नो घरलाई ‘गुड बाई.......!’ भन्दै म ब्याग झुन्ड्याउँछु । अनि घरबाट विद्यालयतर्फ हानिन्छु ।
हाम्रो घरबाट विद्यालय पुग्ने बाटो फगत एउटा छैन । म त्यै बाटो हिड्न थाल्छु जुन बाटोबाट प्यारी पनि हिड्छे । आखिर प्रेममा परेपछि जेजस्तो क्रियाकलाप पनि गर्नुपर्दो रहेछ । प्रेमले मान्छेलाई मजबुुर बनाइदिदो रहेछ ।

म बाटोमा हिँडिरहेको हुन्छु । आफ्नो मनमस्तिष्कमा फगत प्यारीलाई सम्झिरहेको हुन्छु । नभन्दै मेरा आँखाहरुले पर–पर देख्न थाल्छन् । प्यारी पो आइरहेकी हुन्छे । उसलाई देखेपछि त म त्यसै हायल कायल हुन्छु । म उसलाई छेउमा उबेर इन्तजार गर्छु । झरी रोकिइसकेको हुन्छ ।

एकैछिनमा ऊ, म उबेकै स्थानमा आइपुग्छे । म आफ्नो दाहिने हात उसको अगाडि बढाउँछु । ऊ पनि आफ्नो दाहिने हात मतर्फ बढाउँछे । हामी एकआपसमा हात मिलाउछौँ । उसको हात त फूलझैँ कोमल हुन्छ । उसको हात त छाँड्नै मन लाग्दैन । सुपर ग्लुले हाम्रो हात सधैँसधैँँको लागि टाँसिजाओस् जस्तो लाग्छ । तर, विडम्बना के हुन्छ भने, मैले उसको हात समाति राख्न पाउँदिनँ ।

हामी दुवैजना विद्यालयतर्फ लाग्छौँ । विद्यालय पुग्नै लाग्दा म प्यारीतिर देख्छु र उसलाई भन्छु, ‘भरै म तिमीलाई एउटा कुरा भन्छु ल !’¬¬¬¬¬¬ ऊ मलाई देख्दै ‘हवस्’ भन्छे । गोरेटाका सानासाना ढुङ्गाहरुसँग लडिबुडी गर्दै हामी विद्यालय पुग्छौँ । जसरी समीरसँग लडिबुडी गर्दै चराहरु पुग्छन् अन्तरिक्षमा ।

हाम्रो कोचिङ् कक्षा सुरु हुन्छ । सुरुमा गणित, त्यसपछि विज्ञान हुँदै सामाजिक अध्ययनको कोचिङ् कक्षा पनि सकिन्छ । मलाई त कक्षामा कुनैपनि ध्यान नै हुँदैन । सिर्फ प्यारीलाई कहिले आफ्नो मनको कुरा बताऊँ भन्ने कौतूहलता हुन्छ । यसरी नै हाम्रो विद्यालयको समय पनि सकिन्छ । अर्थात् विद्यालय छुट्टी हुन्छ ।

बेलुकाको चार बजिरहेको हुन्छ । अब प्यारीलाई आफ्नो कुरा भन्न सकिन्छ कि भनेर म औधी खुसी हुन्छु । झरी पनि मेरो खुसीमा हर्षविभोर साथ मुस्कुराएर वर्षिरहेको हुन्छ । म झरीप्रति कृतज्ञता ज्ञापन गर्छु ।

म लगायत मेरा केही साथीहरु अनि प्यारी, विद्यालयको विदा पश्चात् आ–आफ्ना घर फर्किरहेका हुन्छौँ । वर्षा र समीरसँगै मस्त रमाउँदै हामी गोरेटोको छातीमा उफ्रिरहेका हुन्छौँ । रमाइरहेका हुन्छौँ । मन्त्रमुग्ध हुन्छौँ । मैले प्यारीलाई बिहानैदेखि एउटा कुरा भन्छु भनेर भनिरहेको थिएँ । त्यो समय पनि आइसकेको हुन्छ । झरी वर्षिरहेको नै हुन्छ । हामी सबै साथीहरुसँग छाता हुन्छ । तर प्यारीसँग भने छाता हुँदैन । ऊ मेरो छातामा नआएर अर्कै साथीको छातामा जान्छे । ऊ मनिर नआएर अर्कै केटो साथीको छातामा गएकी हेतु मलाई झनक्क रिस उठ्छ । मेरो रिससँगै झरी पनि अझ जोडजोडले ताण्डव देखाउँन थाल्छ । त्यहाँ प्यारी बाहेक सबै केटा साथीहरु हुन्छन् ।

म पनि आफ्नै छातामा हुन्छु । झरीको अवस्था उहीँ हुन्छ । अब प्यारी मसँग छुटिनलाई बस् मिनेट जति बाँकी हुन्छ । जुन साथीसँगै प्यारी हिँडिरहेकी हुन्छे, म त्यै साथीलाई आफ्ना बलिष्ठ भुजाले अलि पर धकेलिदिन्छु । अनि प्यारीलाई उसको हस्त समाएर आफूतिरै तान्छु । आफ्नै छातामा तान्छु । झरी झनझन कस्सेर वर्षिन थाल्छ । हाम्रो आशिक देखेर झरी पनि केहीँ समयको लागि दिवाना बन्छ । अनि अलौकिक वनको कस्तूरीझैँ छमछमी नाँच्न थाल्छ । म र प्यारी दुबैजना झरीको प्रेमिल भुलभुलैयामा  भुलिन्छौँ ।

म प्यारीको कोमल हस्त च्याप्पै समाउँछु । सबैसबै कुरालाई बिर्सिन्छु । बस् प्यारीका मृगनयनहरुको गुलाम बन्छु । ऊतिर देख्दै उसलाई भन्छु, ‘प्यारी....................प्यारी, म तिमीसँग प्रेम गर्छु । आई लव यु..............लव यु सो मच...’  ऊ मौन रहन्छे । केहीँ पनि बोल्दिन । मौनताले ऊसलाई बेस्सरी समातेको हुन्छ । फेरीपनि म उसलाई प्रश्न गर्छु, ‘प्यारी, के तिमी मलाई प्रेम गछ्यौं ?’ यो पालि चाहिँ ऊ आफ्नो मौनताबाट बाहिर आउँछे अनि भन्छे, ‘मलाई थाहा छैन ।’ मैले जति प्रयत्न गर्दा पनि ऊ त्यै एउटै कुरो दोहोर्याइरहन्छे ।

केहीँ समयमा नै ऊ मेरो छाताबाट बाहिर निस्कन्छे र हामीबाट छुट्टिन्छे । हामी दुबैजनाको पथमार्ग पनि अलग भइजान्छ ।

पथमार्ग अलग भएसरी नै म र प्यारीको प्रेम पनि अलग र विखण्डन नहोस् भनेर म आफ्ना प्रिय मुरलीधरसँग प्रार्थना गरिरन्छु ।  

Comments