कथाकार सरितको "ड्राइभर दिदी" सँगको कथायात्रा

कथाकार सरितको "ड्राइभर दिदी" सँगको कथायात्रा
- बिकेश कविन

विधा – कथासङ्ग्रह
कथाकार – इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
प्रकाशक –साझा प्रकाशन
पृष्ठ – १३२
मूल्य – रु. २५० /-


                        नेपाली साहित्यको क्षेत्रमा लामो समयदेखि साधनारत कवि, उपन्यासकार एवम् कथाकार हुन् – इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ । उनका दसवटा जति कृतिहरु प्रकाशित भइसकेका छन् । कविता विधाबाट नेपाली साहित्यको क्षेत्रमा डेब्यु गरेका उनी अहिले विशेषगरी कथा विधामा कलम चलाइरहेका छन् । उनका दसवटा कृतिहरुमध्ये सातवटा कृति कथा विधाका नै रहेका छन् । उनका कृतिहरुमा पूर्व क्षितिज (कवितासङ्ग्रह, २०४६¬), दिदिको देवर (कथासङ्ग्रह, २०५०), जस्केलोबाट चियाउने सूर्य (कथासङ्ग्रह,२०५६), एकजोर फूलघोडा (कथासङ्ग्रह, २०५६), अनुभूति र स्वीकारोक्तिमा (अन्तर्वार्ता, २०५९), अर्धसत्य (उपन्यास, २०६३), खरायोको खोरमा (बालकथासङ्ग्रह, २०६५), सरित्का प्रतिनिधि कथा (कथासङ्ग्रह, २०७४), ऋतु फेरिँदै जान्छ (कथासङ्ग्रह, २०७४) र ड्राइभर दिदी (कथासङ्ग्रह, २०७४) रहेका छन् ।

           
                     कथाकार सरितको नवीनतम् कृति ‘ड्राइभर दिदी’ हो । यसको आवरण देख्दाँ कसैले ‘हिप्नोटाइज’ गरिरहेको अनुभूति हुन्छ । यसमा जम्माजम्मी छब्बीस वटा कथाहरु सङ्ग्रहीत गरिएका छन् । पहिलो कथा ‘ऋतु फेरिँदै जान्छ’ शीर्षकको रहेको छ भने अन्तिम कथा ‘अवन्तिका’ शीर्षकको रहेको छ । ऋतु फेरिँदै जान्छ, कथाकारको एउटा छुट्टै कथासङ्ग्रह पनि हो । उनका कथाहरुमा दुःख, पीडा, व्यङ्ग्य, विगत र वर्तमानका विविध राजनीतिक अवस्था, मोह, शैक्षिक अवस्था, मनोभावना, प्रकृति, सङ्घर्ष, भोक, शोक, रोग, बाध्यता, गरिबी, वर्गीय विभेदविरुद्धको आवाज, असमानताले निम्त्याएको परिवेश, यौन, तृष्णा, कानुन, देशको विभिन्न मुखमन्डल तथा घटना परिघटनाहरु, अन्यायको प्रत्यक्ष असर, सम्बन्ध आदि आदि इत्यादि कुराहरु रहेका छन् । ड्राइभर दिदी कथासङ्ग्रहको पहिलो कथा– ऋतु फरिँदै जान्छ, समाजवादी कथा हो । समाजको आँखामा तल्लो वर्गमा पर्ने दमई, कामी, सार्की आदिहरु पनि उपल्लो वर्गमा पर्ने बाहुन, क्षेत्रीहरुझैँ मानिस हुन् र तिनीहरुको पनि समाजमा समान हक र अधिकार सुनिश्चित गरिएको छ भन्ने भाव नै यस कथाको रहेको छ । सदैव मानिस एकै रुप र प्रवृत्तिमा (ऋतु) हुँदैनन् । मानिसको रुप समयसँगै बद्लिरहन्छ जसरी ऋतु फेरिँदै जान्छ । ऋतु र मानिस दुवै कदापि यथावत् रहँदैनन् ।


                             कथाकारको विविध भाषा र विषयको ज्ञान रहेको कुरा उनका कथाहरु पढ्दा अनुभूति गर्न सकिन्छ । कथाकारको विविध भाषामा दख्खल रहेको कुरा बाबू मोशाय शीर्षक कथाले पुष्टि गर्छ । यस कथाका पात्र बाबू मोशायले आफ्नी प्रिय पात्रलाई गुमाउँनुपर्दाको पीडा, सकस र सङ्घर्ष, कथामा प्रस्तुत गरिएको छ जसको हेतु उनलाई बाँच्नै गाह्रो पर्छ । एउटा प्राध्यापकले आफ्नो कर्तव्य अत्यन्तै निष्ठापूर्णसाथ निभाउनुपर्छ र आफ्ना विद्यार्थीहरुलाई अपार स्नेह र प्रेमको साथ ज्ञान प्रदान गर्नुपर्छ भन्ने यस कथाको मूल भाव हो ।
ड्राइभर दिदी कथासङ्ग्रहका कथाहरुमा मौलिकता, सौन्दर्यता र नुतनताका इन्द्रेणीहरु यत्रतत्र सजिएका छन्। नेपाली साहित्यलाई छर्लङ्ग पारिदिएको छ दृश्य अदृश्य शीर्षक कथाले। दशकौँदेखि साहित्यिक सिर्जना गरिरहेका साहित्यकार एवम् लेखकहरुलाई पनि आजभोलिको साहित्यिक माहौलले वञ्चित गरिरहेका छन्। साहित्यमा पनि राजनीतिक चलखेल र नातावाद, कृपावाद एवम् व्यापारीतन्त्रको हावी भएर नेपाली छसाहित्यको अस्तित्व घोर सङ्कटमा रहेको परम यथार्थ पनि यस कथामा देखाइएको छ। यस कथामा नेपाली साहित्यले आफूलाई बचाउँन गुहार....................गुहार...........................माग छ ।


                          मोहियानीको मोहजाल शीर्षक कथामा सुनसरीका इटहरी, धरान र इनरुवाको बारेमा उल्लेखित गरिएको छ । एउटा गरिब र पीडितको कथा हो यो । एउटा मोहिले आफ्नो मोहियानी हक पाउँनको निम्ति घोर सङ्घर्षरत रहन्छ । अड्डा अदालत पनि चहार्छ परन्तु अन्ततः उसको लास काठमाडौंको व्यस्त सहरमा भेट्टाइनछ । एउटी गरिब किन्तु सन्दर महिलाप्रति समाजका विशिष्ट पुरुषहरुले कसरी आँखा र हात लगाउँछन् र बाध्यतास्वरुप ती महिलालाई कुन हदसम्म गिर्नुपर्छ भन्ने चोटको कथा हो यो । आफ्नो लोग्नेको अनुपस्तिथिमा एउटी स्वास्नी मान्छेले आफ्नो आत्मालाई तृप्त पार्न अरु मर्दको सहायता पनि लिन सक्छिन् भन्ने कुरो सान्चा, अहो ! सान्चा शीर्षक कथाको रहेको छ ।


                       कथाकारको कथा लेखन शैली निकै नै रोचक र पाठकलाई मोहनी लगाउँने खालको छ । अँध्यारोमा उज्यालो खोज्दै शीर्षक कथा सङ्घर्षको कथा हो । यस कथाका पात्र प्रसाद, एउटा चिठी पुर्याउनको निम्ति राति कयौँ घन्टा सङ्घर्ष गर्छ जुन ठाउँ पुलिसले रेड एरिया घोषणा गरेको हुन्छ । उसका साथीहरु ऊसित जाँदैनन् परन्तु ऊ निडर भएर चिठी पुर्याउने ठाउँमा पुर्याउछ । दुःख र पीडाको पराकाष्ठा चित्राङ्कित गरिएको छ कफ्र्यु लागेको साँझमा शीर्षक कथामा । देशको राजनीतिक अवस्थाले गर्दा एउटा मजदुरजस्तो मान्छेको देश बन्दको कारणले कस्तो हविगत हुन्छ, त्यो कुरालाई यस कथामा प्रस्तुत गरिएको छ । भोक, शोक र रोगको कथा हो यो जहाँ एउटा विरामी सन्तानलाई उपचार गर्न लग्दा, कफ्र्यु लागेको हुन्छ र जसको कारणले एउटा सिंगो परिवारले नै गोली खानुपर्छ । एक चिहान बन्नुपर्छ ।


                 कथाकारले आफ्ना कथाहरुको माध्यमले खराब राजनीति र कुसंस्कृतिका विरुद्ध ठूलो व्यङ्ग्य र हमला गरेका छन् । गरिब, निर्जनहरु विरामी भएपछि तिनीहरुको प्रमाण मृत्यु हुन्छ किनकी धनको अभावले अस्पतालका डाक्टरहरुले तिनीहरको कुशलतापूर्वक उपचार गरिदिदैनन् भन्ने अवधारणा जीवनको मूल्य शीर्षक कथाको रहेको छ । गरिबी र पीडाले गरिबलाई कसरी पेल्छ भन्ने कुरा यस कथामा देखाइएको छ । असामाजिक आचरण, वर्गीय विभेद, छुवाछुट आदि कुरीतिहरुलाई प्रारब्धको बिगुल शीर्षक कथामा देखाइएको छ । यस कथाको माध्यमले कथाकारले समाजमा समानता र वर्गीय पारस्परिकताको निर्माण गर्ने प्रयत्न गरेका छन् । छेउको सियो माझैमा शीर्षक कथामा यौन, प्यास र शारीरिक भोकलाई प्रस्तुत गरिएको छ । आफ्नै भाउजूको कारणले एउटा बाह्र वर्षे बालकलाई यौनतृष्णाको सिकार हुनुपर्छ जसको हेतु उसको बालमनोविज्ञान नै खल्बलिन्छ र परिणामस्वरुप उसको मनमा यौनका अनेकन चाहनाहरु पलाउँदै जान्छ ।


                     कथाकारले निकै सचेत भएर आफ्ना कथाहरुमा यौनलाई प्रस्तुत गरेका छन् जुन चाहना प्राकृतिकरुपमै मानवमा विकास हुन्छ । नजोत्ने गोरु शीर्षक कथाले प्रेम अन्धो हुन्छ भन्ने कथनलाई चरितार्थ पारेको छ । मित्रताको अगाध स्वरुप र त्यसको असल र खराब परिणामलाई यो पनि एउटा सत्य शीर्षक कथामा उल्लेखनीय रुपमा प्रस्तुत गरिएको छ । हिउँको धारमा अग्निप्रश्न शीर्षक कथामा पनि यौनलाई प्रस्तुत गरिएको छ । एउटी महिलाले एउटा पुरुषलाई लब, सेक्स र थर्ड सेक्सको प्रस्ताव राख्दा पनि त्यो पुरुषले इन्कार गर्छन् ।


                       सकरात्मकताको कलमले कथाकारले कथाहरु लेखेका छन् जसले समाजमा अवश्य पनि सकरात्मकताका प्रकाशहरु छर्नेछन् । स्वअस्तित्व र आत्मस्वाभिमानको कथा हो– त्यो काले केटो । आखिरमा राजनीतिले कलम (साहित्य) लाई प्रकम्पित पार्न सक्दैन भन्ने कुरोलाई यस कथाले सुमधुर तरिकाले पुष्टि गरेको छ । एउटा सानो गल्तीले मानिसको जीवनलाई कतिसम्म नष्ट पार्नसक्छ भन्ने उदाहरण हो मन बिसाउने याक्सा छैन शीर्षक कथा । यस कथामा के बिहेको सम्पूर्ण अर्थ लोग्नेले स्वास्नीलाई बलात्कार गर्नुमा नै सीमित छ त ? भनेर प्रश्न सोधिएको छ ।
मन चर्किदै जान्छ शीर्षक कथाले आजको समाजको वास्तविक चित्रण गरेको छ । बुहारी आएपछि छोरोको लागि आमा पनि पराइ हुन्छिन् भन्ने कुरो यस कथामा देखाइएको छ । एउटा छोरोले परिवारलाई नसुनेर सिर्फ साथीलाई सुन्दा दुःख पाउँछ भन्ने कुरालाई खोरको पाहुना शीर्षक कथाले पुष्टि गरेको छ ।


                  ड्राइभर दिदी कथासङ्ग्रहमा ड्राइभर दिदी शीर्षकको कथा पनि रहेको छ । एउटी कर्मयोगी स्वास्नीलाई आफ्नै लोग्नेले दमन, लोग्नेको मृत्युपर्यन्त तिनै आइमाईलाई समाजले हेर्ने कुदृष्टिकोण आदि कुरा यस कथामा प्रस्तुत गरिएको छ । यस कथाले नारीहरुको स्तर उकास्न मद्दत पुर्याएको छ ।


                   आजको अत्याधुनिक समाजमा जब आफ्नै बुबाआमा असक्षम र बूढा हुन्छन् तब आफ्नै छोराबुहारीहरुले तिनीहरुलाई सकेसम्म हेप्न थाल्छन् र सम्भवता घरबाटै निकालेर वृद्धाश्रम पुर्याउने परियोेजनाको निर्माण गर्न थाल्छन्, आफ्ना दुष्ट मस्तिष्कमा । यो यथार्थलाई कथाकारले विशेषरुपमा प्रस्तुत गरेका छन् । कथाकारले धेरैभन्दा धेरै विशिष्ट शब्दहरुको प्रयोग गरेका छन् जुन शब्दहरु आजकाल नेपाली साहित्यमा विरलै देख्न पाइन्छ ।


                         ड्राइभर दिदी कथासङ्ग्रहको अन्तिम कथा अवन्तिका, लोग्ने–स्वास्नीको कथा हो । एउटी स्वास्नीलाई कदापि आफ्नो लाग्ने, घरपरिवार र बालबच्चाहरुको चिन्ता लाग्दैन र उनी जङ्गली स्वतन्त्रतासँग डिस्को र बारहरुमा गएर रमाउँन थाल्छिन् । जसबाट वाक्क र दिक्क भएर बरु लोग्नेले उनलार्ई सधैँको लागि मुक्ति दिलाउँछन् ।


                           यस कृतिका सम्पूर्ण कथाहरु कुनै न कुनै प्रतिष्ठित पत्रपत्रिकामा छाँपिएका नै छन् । कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ले आफ्नो कथासङ्ग्रह ड्राइभर दिदीमा आफ्ना केही कुराहरु राखेका छन्– ‘मेरो विचारमा छब्बीसवटै कथाका भावभूमिहरु एकअर्काभन्दा पृथक् छन् । मानिसको जीवनको अभीन्न अङ्गको रुपमा रहने माया, प्रेम, राग, विराग, विसङ्गति, दुःख, पीडा, अभाव, इच्छा, आकाङ्क्षा, षड्यन्त्र, सामाजिक सुधार, गति र प्रगतिका कुराहरु सङ्ग्रहका हरेक कथाहरुमा कहीँ न कहीँ झल्केका छन् भन्ने लाग्छ । त्यसैले प्रत्येक कथाको आकार, प्रकार र प्रस्तुतिशैली पनि फरक रहेका छन् । प्रत्येक कथाले पाठकलाई एउटा भिन्न विषयवस्तुको भिन्न स्वाद पस्किनेछन् र सङ्ग्रहको अर्को कथा पढ्न अझ उत्सुक बनाउनेछन् भन्ने मैले आशा लिएको छु ।’


Comments